भाद्र ३१ गते, २०७६

श्वेतपत्रबाटै अर्थतन्त्रको बद्‍नामी

पटक हेरिएको

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रलाई बद्नाम गराउन मानिस परिचालित भएको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो नहान्न आग्रह गरेका छन्। उनले अर्थतन्त्र डुब्दा लाइफ ज्याकेट नै लगाएर आएको रहेछ भने पनि सँगै डुब्ने भन्दै सजग हुन गरेको आग्रहप्रति पूर्व अर्थमन्त्री र अर्थशास्त्रीले आलोचनात्मक टिप्पणी गरेका छन्।

दुई तिहाई बहुमतको शक्तिशाली सरकारको अर्थमन्त्री भएपछि खतिवडाले २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए। ‘त्यही श्वेतपत्रमा उल्लिखित विज्ञ अर्थमन्त्रीको अवलोकन/सिंहावलोकनले अर्थतन्त्र अधोगतितर्फ धकेलिएको हो’, पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भने, ‘हामीले भ्रष्टाचार रोक्नु पर्‍यो। सार्वजनिक खर्च प्रणालीमा सुधार गरेर विकास खर्च बढाउनु पर्‍यो। ४४ प्रतिशत विकास खर्च गरेर उहाँले ठूलै प्रगति गर्नु भएछ।’

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको श्वेतपत्रमा ‘मुलुकको ढुकुटी रित्तो रहेको’ र ‘निजीकरणको अभ्यास मूलतः असफल देखिएको’ टिप्पणी गरेका थिए। निजीकरण माथिको अविश्वास र मुलुकको ढुकुटी रित्तो रहेका जस्ता गतल टिप्पणीका कारण स्वदेशी र विदेशी लगानी आकर्षित हुन नसकेको अर्थशास्त्री बताउँछन्। ‘अहिले नै उहाँका कामकारबाहीको मूल्यांकन गर्नु अलिक हतारो हुन्छ’, अर्थशास्त्री विश्व पौडेल भन्छन्, ‘उहाँलाई आफूले चलाएको अर्थतन्त्रको प्रतिरक्षा गर्ने स्वतन्त्रता छ। तर, उहाँले पहिल्यै हलुका ढंगले टिप्पणी नगरेको भए राम्रो हुन्थ्यो।’

अर्थमन्त्रीले अहिले राष्ट्र बैंकको क्यास ब्यालेन्स (नगद मौज्दात) का आधारमा सञ्चित कोषबारे बताउने गरेका छन्। महालेखा नियन्त्रक कार्यालयको सञ्चित कोष गत आवमा दुई खर्ब १० अर्ब रुपैयाँ घाटामा थियो। नगद मौज्दातमा आधारित सञ्चिति श्वेतपत्र जारी गरेको वर्ष २७१ अर्ब नाफा (सरप्लस) थियो। त्यति बेला पूर्वअर्थमन्त्री डा।रामशरण महतले अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट अर्थतन्त्रका बारेमा हलुका टिप्पणी हुनु दुःखद् भएको बताएका थिए।

कतिपयले अर्थमन्त्री खतिवडालाई अर्थतन्त्रका बारेमा हलुका टिप्पणी गर्दा त्यसले गलत सन्देश बाहिर जाने सुझाएका थिए। उनीहरूले राजनीतिक स्थायित्वपछि द्वन्द्व र संक्रमणकालीन समयमा समेत कायम गरेको आर्थिक स्थायित्वका आधारमा तीव्र आर्थिक विस्तारमा अघि बढि रहेका भारत र चीनलगायत मुलुकबाट लगानी आकर्षित गर्न पहल गर्न समेत आग्रह गरेका थिए।

अर्थमन्त्रीले श्वेतपत्र जारी गर्दा आव २०७४/७५ को सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३४ करोड रुपैयाँ थियो भने गत आव २०७५/७६ मा वर्ष भरमा जम्मा १५ अर्ब ४६ करोड रुपैयाँ प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ।

कतिपयले अर्थमन्त्रीले पेस गरेको श्वेतपत्रलाई विगतको विरोधपत्रका रूपमा टिप्पणी गरेका छन्। श्वेतपत्र जारी गर्दाको समयमा शोधनान्तर र विदेशी विनिमय सञ्चितिमा ठूलो चाप थिएन। शोधनान्तर १८ अर्ब २८ करोड घाटा थियो। विदेशी मुद्राको सञ्चितिले ११.३ महिनाको वस्तु र झण्डै १० महिनाको वस्तु र सेवाको आयात धान्न पुग्ने स्थिति थियो। उनको श्वेतपत्रमा ‘चालु खाता घाटा र शोधनान्तर घाटा बढ्न थालेकाले विदेशी मुद्रा सञ्चितिमा चाप पर्न थालेको’ उल्लेख छ।

आर्थिक वर्ष २०७५/७६ सम्मको तथ्यांक हेर्ने हो भने चालु खाता घाटा दुई खर्ब ६५ अर्ब रुपैयाँँ, शोधनान्तर घाटा ६७ अर्ब ४० करोड रुपैयाँँ रहेको छ। उपलब्ध विदेशी मुद्रा सञ्चितिबाट आठ महिनाको पनि वस्तु र सेवाको आयात धान्न कम हुन्छ।

आफूलाई प्रतिरक्षा गर्ने क्रममा अर्थमन्त्रीले विदेशी मुद्रा सञ्चिति घट्नुलाई ‘शरीरको बोसो घटाए जस्तो’ हो भन्ने गरेका छन्। तर, १० महिनाको आयात धान्न पर्याप्त सञ्चिति हुँदा उनको श्वेतपत्रले विदेशी मुद्रा सञ्चितिमा चाप देखेको थियो। तर, चालु आव २०७६/७७ को मौद्रिक नीति मार्फत नै सात महिनाको आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति कायम गर्ने उल्लेख छ। यस अघि अनिवार्य रूपमा आठ महिनाको आयात धान्न पर्याप्त सञ्चिति राख्ने अभ्यास थियो।

विदेशी मुद्रा सञ्चिति घट्नुलाई अर्थशास्त्री डा. गोविन्दबहादुर थापाले ‘रोग लागेर ज्यान सुकेको’ टिप्पणी गरे। ‘स्वस्थ मान्छे बोसो घटाउँदा तौल कम भए पनि स्वस्थ नै हुन्छ, अहिले हाम्रो विदेशी मुद्रा सञ्चिति स्वस्थ र स्वाभाविक किसिमले घटिरहेको छैन। यसले रोग लागेको संकेत गर्छ’, थापा भन्छन्, ‘बेलैमा उपचार नगर्ने हो भने अवस्था भयावह हुन सक्छ।’

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री खतिवडालाई उनले गरि रहेका कामकारबाही के/कति ठीक छन् भन्ने जान्न अग्रजको सुझाव झर्को लागे सार्वजनिक खर्च प्रणाली पुनरवलोकन आयोगको प्रतिवेदन पढ्न सुझाव दिन्छन्। ‘उहाँकै श्वेतपत्रमा सार्वजनिक वित्त व्यवस्थापनमा वित्तीय अराजकता रहेको तथा बजेटको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरिएको थियो,’ डा. लोहनीले भने, ‘कति सुधार गरेछु भनेर आत्मसमीक्षा गर्न आग्रह गर्छु।’

अर्थमन्त्री खतिवडाले आफ्नो सबैभन्दा ठूलो सफलता आर्थिक वृद्धिदरलाई देखाउने गरेका छन्। आर्थिक विस्तार र राजस्व वृद्धिका लागि उनले आयातमा लचिलो नीति लिएका छन्। भूकम्प र नाकाबन्दीको न्यून आधारका कारण साथै अनुकूल मौसमले कृषि उत्पादनमा सुधार र पुनर्निर्माणका गतिविधिले आर्थिक विस्तार भई २०७३/७४ यता मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको छ। यद्यपि, अर्थशास्त्रीले आर्थिक विस्तार अनुसार राजस्व वृद्धि हुन नसकेको र आर्थिक वृद्धिदरको दिगोपनाका लागि हुनु पर्ने संरचनात्मक सुधारमा कुनै काम हुन नसकेको टिप्पणी गरेका छन्। अन्नपूर्ण पोष्ट बाट साभार

Loading...

प्रतिकृया लेख्नुहोस्: