'सरकारी बैंकले निजी भन्दा छिटो सेवा दिनुपर्छ' : मुख्यमन्त्री शाही - Nepal Talk
जेष्ठ १६ गते, २०७७

‘सरकारी बैंकले निजी भन्दा छिटो सेवा दिनुपर्छ’ : मुख्यमन्त्री शाही

पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय बाणिज्य बैंकलाई निजी क्षेत्रको बैंक भन्दा छिटो र छरितो सेवा प्रवाह गर्न आग्रह गरेका छन्। वीरेन्द्रनगरमा राष्ट्रिय बाणिज्य बैंकको प्रादेशिक कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी बैंकले भन्दा छिटो सेवा प्रवाहमा कुनै पनि कञ्जुस्याँई नगर्न आग्रह गरेका हुन्।

‘अहिले यता कता सुनिन्छ निजी बैंक भन्दा ढिलो तथा झन्झटिलो सेवा प्रदान गरिन्छ’ उनले भने, ‘आगामी दिनमा यो कार्यालय मातहतका सबै बैंकले जनअपेक्षा अनुसार तत्काल सेवा प्रवाह गर्न सक्नु पर्दछ।’ कर्णाली सरकारले गरिबीको रेखामुनी रहेका जनतालाई उत्पादनशील कार्यमा लगाउन बैंकले सहुलियत ऋण उपलव्ध गराउने निर्णय गरेकाले बैंकलाई सहयोग गर्न मुख्यमन्त्री शाहीले अपिल गरे।

प्रदेश मातहतका शाखाहरुको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्ने हेतुले बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए। प्रदेश कार्यालयले एक करोड २५ लाखको ऋण स्वीकृत र दुई करोड ५० लाखसम्मको कर्जाको नविकरण गर्नेछ।

बैंकका झण्डै ३० लाख निक्षेपकर्ता, ग्राहक कर्जा दुई लाख, र शाखा २२८ छन्। यस्तै, देशभर एटिएम शाखा दुईसय पाँच, शाखारहित बैकिङ ९५, एटिएम ग्राहक चार लाख ५० हजार र मोबाइल बैकिङका १० लाख ग्राहक छन्। कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारी, ब्रान्च अप्रेशन विभागका प्रमुख सरोज बस्नेतको पनि उपस्थिति थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: