आश्विन १ गते, २०७६

आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कश्मिरका विषयमा बैठक हुँदै

पटक हेरिएको

काठमाडौं। आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कश्मिरका विषयमा बैठक हुँदैछ। जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने भारतको संविधानको धारा ३७० खारेज गरिएपछि पाकिस्तानले यसको विरोधमा आवाज उठाएको थियो। यस विषयमा पाकिस्तानलाई चीनले साथ दियो। चीन सुरक्षा परिषदको स्थायी सदस्य हो। आज चीनकै आग्रहमा सुरक्षा परिषदमा कश्मिरका विषयमा छलफल हुँदैछ।

आज हुने बैठक बन्द बैठक हो। यस्तो बैठकमा सबै सदस्य देशले मुद्दामा अनौपचारिक रुपमा आ–आफ्नो राय राख्छन्। यो बैठकको कुनै पनि जानकारी सार्वजनिक गरिँदैन र यसको कुनै रेकर्ड पनि रहँदैन। यो बैठकमा सुरक्षा परिषदका १५ सदस्य देशले मात्र भाग लिन्छन्। यो बैठकमा ती देशलाई पनि भाग लिन दिइँदैन जुन देशको मुद्दामा चर्चा हुँदैछ।

यसअघि पाकिस्तानले १३ अगष्टमा सुरक्षा परिषदमा कश्मिर मुद्दामा आपतकालीन बैठक बोलाउन माग गरेको थियो। पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीले सुरक्षा परिषद अध्यक्ष जोआना रेकोनाकालाई पत्र लेखेर ‘भारत पाकिस्तान’को एजेण्डाअन्तर्गत कश्मिर मुद्दामा छलफल गर्न आग्रह गरेका थिए। त्यपछि चीनले सुरक्षा परिषदमा यस विषयमा छलफल गर्न माग गरेपछि आज बैठक हुन लागेको हो यसअघि जम्मु कश्मिर विषयमा १९७१ मा सुरक्षा परिषदमा छलफल भएको थियो।

आजको बैठकमा पाकिस्तान र भारतका विषयमा चर्चा हुने भए पनि यी दुवै देशले सहभागी हुन पाउँदैनन्। सुरक्षा परिषदमा ५ स्थायी राष्ट्र अमेरिका, बेलायत, चीन, रुस र फ्रान्स छन्। बाँकी १० सदस्य राष्ट्र निर्वाचित भएर जान्छन् र यसरी निर्वाचित राष्ट्रको कार्यकाल २ वर्षको हुन्छ। अहिले यसरी निर्वाचित भएर गएका १० देशहरु बेल्जियम, आइभरीकोष्ट, डोमेनिकन रिपब्लिक, गुएना, जर्मनी, इण्डोनेशिया, कुवेत, पेरु, पोल्याण्ड र दक्षिण अफ्रिका छन्।

बैठकमा हुने अनौपचारिक छलफलमा यदि चीनले ९ सदस्य राष्ट्रलाई यस विषयमा आफ्नो पक्षमा ल्याउन सक्यो भने यो मुद्दा खुला छलफलमा जानेछ। त्यो छलफलमा ९ सदस्यको समर्थनमा कुनै पनि प्रस्ताव लगेर पारित गराउन सकिन्छ। यदि यस्तो भयो भने कश्मिर मामिलामा आफ्नो अहिलेको निर्णयबाट भारत पछि हट्नुपर्छ। यस विषयमा चीन र रुसबाहेकका सुरक्षा परिषदका अन्य सदस्य राष्ट्रय आफ्नो प्रस्ट राय दिइसकेका छैनन्। चीले भने प्रस्ट रुपमै पाकिस्तानको साथ दिएको छ र रुसले भारतको साथ दिएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: