भाद्र ३१ गते, २०७६

तालिवानसँगको शान्ति प्रक्रिया रद्ध गरिएको ट्रम्पद्वारा अचानक घोषणा

पटक हेरिएको

वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान समूहसँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा गरेका छन्। उनले शनिबार (नेपाली समय अनुसार गएराति) चरणवद्ध रुपमा ट्विट गर्दै आज आइतबार क्याम्प डेभिड (मेरिल्याण्डमा रहेको अमेरिकी राष्ट्रपतिको रिट्रिटस्थल)मा तालिवानका वरिष्ठ नेतालाई भेट्ने कार्यक्रम तय भएकोमा काबुलमा तालिवानको आक्रमणबाट एकजना अमेरिकी सैनिकको मृत्यु भएका कारण सो भेटघाट पनि रद्ध गरिएको जनाएका छन्।

यसअघि अमेरिकी संझौताकार जाल्मे खालीजादले सैद्धान्तिक रुपमा शान्ति प्रक्रिया सहमतिको नजिक पुगेको जनाएका थिए। प्रस्तावित शान्ति सम्झौताअनुसार २० हप्ता सम्ममा ५ हजार ४०० अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरिने जनाइएको बताइएको थियो। तर, सहमतिलाई अन्तिम रुप दिनका लागि राष्ट्रपति ट्रम्पबाट अनुमति लिन बाँकी रहेको संझौताकारले जनाएका थिए।

गएको बिहीबार काबुलमा भएको बम बिस्फोटमा एक अमेरिकी सैनिकसहित करिब एक दर्जन मानिसको मृत्यु भएको थियो। बिहीबारको आक्रमणले अमेरिकासँगको सहमतिका बावजुद अफगानिस्तानमा हिंसा नरोकिने डर उत्पन्न भएको थियो।

सो समूहले अहिलेको अफगान सरकारलाई अमेरिकी ‘पपेट’ भनेर उसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ। अमेरिका र तालिवानबीच अफगान सरकारको सहभागिताबिना नै गएको सन् २०१८ देखि शान्ति प्रक्रिया चलिरहेकोे थियो। यस क्रममा दुई पक्षबीच कतारको दोहामा ८ चरणसम्मका वार्ता भएका थिए। एजेन्सी

Loading...

प्रतिकृया लेख्नुहोस्: