मंसिर ४ गते, २०७६

भारतका गृहमन्त्रीले भने– एनआरसीको विषयमा नेपाली चिन्तित हुनु पर्दैन

पटक हेरिएको

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले भारत सरकारले असाममा नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी)को सूची प्रकाशित गरेर कडाइ गर्न लागे पनि नेपाली चिन्तित हुनु नपर्ने बताएका छन्। भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग बिहीबार नयाँ दिल्लीमा कुराकानी गर्दै भारतका गृहमन्त्रीले सो कुरा बताएका हुन्।

सो भेटघाटका बारेमा शुक्रबार  कुराकानीमा राजदूत आचार्यले भने, ‘‘उहाँले एनआरसीको विषयमा नेपाली चिन्तित हुनु नपर्ने बताउनुभएको छ। यो नियम भिसा नलिइकन आउने घुसपेठियाहरुको लागि भएको भन्ने उहाँको भनाइ रहेको छ।’’

उनले सो अवसरमा नेपालसँगको सम्बन्धलाई भारतको अहिलेको सरकारले अत्यन्त महत्व दिएको बताएको समेत राजदूत आचार्यले जानकारी दिए। गृहमन्त्री शाह भारतको सत्तारुढ दल भाजपाका अध्यक्षसमेत हुन्। उनी प्रधानमन्त्री नरेन्द्र मोदीपछिका प्रभावशाली मन्त्री मानिन्छन्।

भारतले एनआरसी अन्तर्गत गएको अगस्ट ३१ मा जारी गरेको सूचीमा ३ करोड ३० लाख २७ हजार ६६१ जनाको नाम मात्रै रहेको छ। सो सूचीमा १९ लाख ६ हजार ६५७ जनाको नाम छुटेको थियो। छुटेका नामका सन्दर्भमा पुनरावेदन दिनका लागि आह्वान भारतले आग्रह गरेकोमा त्यसको अन्तिम प्रक्रिया बाँकी रहेको छ। सो सूचीमा नपर्नेहरु अवैध हुन सक्ने अवस्था रहेको छ।

ईपीजीबारे पनि चर्चा

राजदूत आचार्यले प्रवुद्ध व्यक्ति समूह (इपीजी)का तर्फबाट बनाइएको रिपोर्टका बारेमा पनि भारतका गृहमन्त्रीसँग कुरा भएको र सो रिपोर्टबारेमा विदेश मन्त्रालय मार्फत कुरा भइरहेको जनाए।

इपीजीको नेपाली टोलीमा राजदूत आचार्य समेत सदस्यका रुपमा काम गरेका थिए। दुवै देशका प्रधानमन्त्रीलाई सो रिपोर्ट बुझाउनुपर्नेमा अझै भारतका प्रधानमन्त्रीको समय तय नहुँदा १६ महिनादेखि रिपोर्ट बुझाउन सम्भव भइरहेको छैन।

Loading...

प्रतिकृया लेख्नुहोस्: