मंसिर ३ गते, २०७६

हवाई सुरक्षामा हेलचेक्य्राइँ!

पटक हेरिएको

सम्पादकीय

नयाँ वर्ष सुरु हुँदा नहुँदै सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुःखद दुर्घटना भयो। समिट एअरको जहाज र मनाङ एअरको हेलिकप्टर ठोकिँदा आइतवार बिहानै ३ जनाको ज्यान गयो। जहाजका कोपाइलटका साथै विमानस्थलमा खटिएका दुई सुरक्षाकर्मीको दुर्घटनामा मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार समिट एअरको जहाज यात्रु छाडेर लुक्लाबाट फर्कन लाग्दा मनाङ एअरको हेलिकप्टरमा ठोकिएर दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त समिट एअरको जहा विमानस्थलमै रहेको श्री एअरको हेलिकप्टरसँग पनि ठोकिएको छ। दुर्घटनाको प्रत्यक्षदर्शीका अनुसार समिट एअरको कलसाइन नाइन एन – एएमएच’ रहेको जहाज उड्न लाग्दा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। विमानस्थलको अवस्था, विमानको प्राविधिक अवस्था र चालकको स्थितिमध्ये दुर्घटनाको जुन कारण भए पनि मूलत : हवाई सुरक्षाका मापदण्डमा गरिएको खेलाँची नै दुर्घटनाको मूल कारण देखिन्छ।

हवाई दुर्घटनामा देशको पर्यटनमन्त्री गुमाउँदा पनि नेपालमा हवाई यात्रा सुरक्षित बनाउन खासै ध्यान दिइएको देखिँदैन। नेपालका अधिकांश विमानस्थलहरूको र्भातिक अवस्था सन्तोषजनक छैन। कतिपय विमानस्थल भौगोलिक दृष्टिले पनि जोखिपूर्ण छन्। त्यस्तै कतिपय कम्पनीका विमान पनि नियामक निकायले ‘उडान योग्य’ भए नभएको अनुगमन राम्ररी नगरेको भन्ने समाचार बेलाबखत आउने गरेका छन्।

नेपालमा केही कम्पनीले अन्यत्र उडान अयोग्य भइ सकेका थोत्रा जहाज ल्याउने र तिनको पनि तालिकाअनुसार गर्नु पर्ने मर्मत सम्भार नगरी जोखिमपूर्ण उडानमा लगाउने गरेको आरोप समेत लाग्ने गरेको छ। युरोपको आकाशमा नेपाली विमानलाई प्रवेश गर्न नदिने मूल कारण यही विमानको अवस्था हवाई उडान मापदण्ड अनुरूप नराख्नु हो भन्ने मानिन्छ। यसैले लुक्लाको जस्तो दुर्घटना नेपालीका लागि नियमित आकस्मिकता बन्न पुगेको हो।

दुर्घटनाको वास्तविक कारण त सरकारले बनाउने छानबिन समितिले मात्र बताउन सक्ला । तर, अहिले सम्मकै विवरणका आधारमा पनि विमान सञ्चालकहरूको हेलचेक्य्राइँ, थोत्रा जहाज, विमानस्थलहरूको भौतिक अवस्था, प्राविधिक त्रुटि, मानवीय कमजोरी तथा भौगोलिक विकटता नै मूलतः दुर्घटनाका मुख्य कारण भएको निष्कर्षमा भने सहजै पुग्न सकिन्छ। त्यसो त सडक यात्रा पनि सुरक्षित छैन र मूलतः यातायात सेवा सञ्चालक तथा नियामक निकायको हेलचेक्य्राइँ र बदनियतका कारण अधिकांश सडक यात्रुले सधैँ हत्केलामा ज्यान लिएरै यात्रा गर्नु परेको छ।

विशेष गरी कच्ची सडकहरूमा र अझ इन्जिनियरिङ समेत गलत भएका ग्रामीण सडकमा यात्रा गर्न बाध्य यात्रुहरू सधैँ नै जोखिममा हुन्छन्। हवाई जोखिमपूर्ण र महँगो भए पनि गन्तव्यमा छिटो पुगिन्छ। यसैले मूलतः दुर्गम भेगका बासिन्दालाई हवाई जहाज चड्नु पर्ने बाध्यता छ।

सरकारले जनताको यस्तो बाध्यतालाई सुरक्षित र सकेसम्म सहज पनि बनाउन ध्यान दिनु पर्छ। हवाई उडानको सुरक्षामा खेलाँची हुँदा अकल्पनीय क्षति जो हुन्छ। यस्ता दुर्घटना दोहोरिन नपाऊन् भनेर सरकारले सम्भव सबै उपाय गर्नुपर्छ। अप्ठेरो जति ‘भगवान भरोसा’मा छाड्ने हो भने सरकार पो किन चाहियो र ?

Loading...

प्रतिकृया लेख्नुहोस्: