आषाढ़ १ गते, २०७६

उहिले गुठीका लागि सम्पत्ति दान, त्यही सम्पत्तिका लागि अहिले तानातान

पटक हेरिएको

काठमाडौ । उहिले गुठीका लागि जग्गा, गहना, सिक्का लगायत सम्पत्ति दान गर्ने प्रतिष्पर्धा नै चल्थ्यो। युद्ध जितेका राजाले खुशियालीमा मठ, मन्दिर, पाटी पौवा बनाउँथे र तिनको संचालनका लागि गुठी राख्थे। कसैले जात्रा पर्व शुरु गरी संचालनका लागि गुठी राख्थे। राजाले मात्र नभई प्रजाले पनि गुठी राखेर कीर्ति छाड्थे।

इतिहासमा गर्व गर्न लायक ती दिनहरु अब सपना जस्तै लागे। किराँतकालदेखि राखिएका गुठीहरु शाहकालसम्म जेनतेन रहे। राणाकालसम्म आइ पुग्दा गुठीका सम्पत्ति माँस्ने गतिविधि हुन थाल्यो। जति जति नयाँ युग भन्दै राजनीतिक परिवर्तनहरु गरिए उति उति परम्परागत प्रथा र संस्कृति माँस्ने गतिविधि भए।

गुठीको विगत

नेपालमा गुठी राख्ने प्रथा किरात्काल देखि नै प्रचलनमा रहेको छ। लिच्छवीकालका शक्तिशाली राजा मानदेवले र अंशुवर्मा जस्ता राजाले मठ मन्दिर निर्माण गरी गुठी राखेका थिए। मानदेवले युद्धमा विजय हासिल गरे पछि निर्माण गर्न लगाएको चाँगुनारायण मन्दिर संचालनका लागि गुठी राखेका थिए। अंशुवर्माले पनि धेरै गुठी स्थापना गर्न लगाए। लिच्छिकालमा राखिएको गुठीमध्ये श्री सिंहसार्थ भगवान गुठी पनि हो। विवादास्पद छायाँ सेन्टरका कारण जुन अहिले चर्चामा छ।

मल्ल राजाहरुका पालामा धेरै गुठी स्थापना गरिए। गुठी विस्तारमा मल्लकाल स्वर्णी मानिन्छ। नेपालको इतिहासमा सबैभन्दा बढी सांस्कृतिक धरोहर निर्माण गर्नेमा मल्ल राजाहरु थिए। सबै भन्दा धेरै जात्रा पर्व पनि मल्लकालमा शुरु गरिए। सांस्कृतिक धरोहर, जात्रा पर्व संचालनका लागि मल्ल राजाहरुले गुठी राखेका थिए। उनीहरुको सिको गरी जनताले पनि गुठी राखेको देखिन्छ।

गुठीको सम्पत्ति लु्ट

गुठी प्रथा समाजवादको उत्कृष्ट नमूना हो। सर्वसाधारणको हितका लागि सम्पत्ति रहने प्रथालाई लुट्ने चलखेल राणा शासनबाट नै शुरु भयो। राणाहरुले गुठीका जग्गाहरुमाथि अधिकार जमाएर महल ठड्याए। राणा शासनको अन्त पछि गुठी माथि योजनावद्ध तरिकाले आक्रमण शुरु भयो। गुठी भन्ने वित्तिकै भूमिको बाकस हो भन्ने भ्रम सृजना गरियो। पटक पटक ऐन बनाएर गुठीको जग्गा व्यक्तिको नाममा पुर्याउने चलखेल भयो।

गुठीका जग्गाहरु महत्वपूर्ण ठाउँमा रहेको पाए पछि भूमाफियाले रैकर गर्ने कानुन बनाउन लगाए। यो सबै रणनीतिक तरिकाले चलाइएको थियो। सर्वसाधारणको आँखामा धुलो छ्यापेर चालिएको चालका कारण गुठीका जग्गाहरु व्यक्तिको नाममा पुर्याएर व्यापारिक कम्प्लेक्स र संभ्रान्तका महल बने। व्यक्ति विशेष धनी भए सर्वसाधारणको साझा सम्पत्ति लुटियो।

धर्म संस्कृतिमाथि आक्रमण

गुठी भन्ने वित्तिकै व्यक्ति हावी हुनै सक्दैन। तर, परिवर्तनका नाममा व्यक्तिलाई सर्वेसर्वा बनाउने चलखेल भइ रहे। राजा महेन्द्रका पालामा गुठी संस्थान ऐन, २०२१ ल्याइयो। २०२९ सालको गुठी संस्थान ऐनले मोहियानी हक स्थापना गर्यो। गुठीको जग्गा भोगचलन गर्नेहरुलाई मालिक बनाउने मार्ग खुल्न थाल्यो।

२०४१ मा गुठी सम्बन्धी ऐन संशोधन भई मोही लागेको जग्गा रैकर सरह गराउन मूल्य तोकियो। गुठी संस्थान विनियम, २०४९ बनाएर गुठीका जग्गा रैकर बनाउने क्रम शुरु भयो। गुठीबाट संचालिन मठ, मन्दिर, जात्रा, पर्वलगायत परम्परागत धर्म संस्कृति माथि आक्रमणको शुरुवात थियो त्यो।

झट्ट हेर्दा जोत्ने नै मालिक भए जस्तो लाग्यो। तर, संस्कृतिहरु ध्वस्त हुनथाले। गुठीका सम्पत्ति व्यक्तिको भए। देश भर चलेका विभिन्न पर्व र प्रथा गुठीको आय आस्ताबाट संचालित हुन्थे। आय आस्ताको स्रोत नै बन्द भएपछि पर्व र जात्राहरु धरमराए। मन्दिरहरु बनाउन नसक्ने, संचालन गर्न नसक्ने गरी गुठीलाई ध्वस्त पारिने क्रम अझै रोकिएको छैन।

जग्गा जोगाउने र सुधार गर्ने नाममा हरेकपल्ट बदलिने कानुनले गुठीको जग्गा जोगाएको छैन। व्यक्ति विशेषको हातमा पुर्याएको छ। १४ लाख रोपनी जग्गा भएको गुठी संस्थानसँग अहिले तीन लाख रोपनी जग्गा पनि छैन। त्यसको पनि यकिन गर्न सक्दैन संस्थान। तीन अर्ब पैसा जम्मा गरेको छ संस्थानले। त्यो पनि रैकर गरी प्राप्त रकम। तीन अर्ब रुपैयाँले काठमाडौंको कुनै कुनामा पनि तीन सय रोपनी जग्गा खरिद गर्न सकिने अवस्था छैन । तर, तीन अर्ब रकम लाखौं रोपनी जग्गा रैकर गरेर जम्मा भएको हो।

प्रतिकृया लेख्नुहोस्: