मंसिर २ गते, २०७६

आजको पत्रपत्रिका

पटक हेरिएको

काठमाडौं । आजका पत्रिकाहरु चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा केन्द्रित छन्। तीन दिने भ्रमणको क्रममा गत आइतबार नेपाल आएका वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेट गर्नुको साथै परराष्ट्रमन्त्रीस्तीय द्विपक्षीय वार्ता पनि भएको थियो।

यी भेटघाट र वार्तामा चीनले सुरु गरेको बीआरआई परियोजना तथा केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता मात्र दोहोरिएको तर समझदारी नभएको बताइएको छ। यद्यपि मनाङमा अस्पताल निर्माण, स्वयंसेवक भाषा शिक्षक आपूर्ति र पाँच हजार टेन्ट सहयोग लगायतका तीन बुँदे समझदारी नेपाल र चीनबीच भएका छन् ।

वाङको भ्रमणले चिनियाँ राष्ट्रपति सी जिनफिङको आसन्न नेपाल भ्रमणको वातावरण बन्ने अपेक्षा गरिए पनि त्यस विषयमा पनि स्पष्ट जवाफ चिनियाँ पक्षबाट आएको छैन। यद्यपि राष्ट्रपतिको सी जिनफिङको सम्भावित नेपाल भ्रमणबारे चीनले सकारात्मक संकेत दिएको कान्तिपुर दैनिकले लेखेको छ ।

नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका छन्।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर कहिले हुने निर्क्यौल भइ सकेको छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबारको द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भनेका छन्, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनु भएको छ ।’

द्विपक्षीय संयन्त्रको बैठकपछि प्रधानमन्त्रीलाई भेटेका वाङले त्यहाँ पनि सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौं,’ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भनेका छन् ।

सरकारको मुखपत्र गोरखापत्र दैनिकले पनि ‘चीनबाट उच्चस्तरीय भ्रमण हुने’ शीर्षकमा एक कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ।

अन्नपूर्ण पोष्ट दैनिकले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक भएको समाचार लेखेको छ।

नागरिक दैनिकले भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उद्योगको जग्गा बिक्री गर्ने बाटो खुलेको समाचार लेखेको छ । भूमिसम्बन्धी ऐन २०२१ संशोधन भएसँगै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले आफ्नो स्वामित्वमा रहेको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउने छन् । विधेयकको दफा १२ ख मा नेपाल सरकारले तोकेको सर्तको अधिनमा रही अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्ने भनी उल्लिखित प्रावधानले बिक्रीको बाटो खोलिदिएको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको र यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ देशका नागरिक रहेको उल्लेख गरेको छ। अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीबाट उठाउनु पर्ने अर्बौं रुपैयाँ जोखिममा परेको पनि समाचारमा उल्लेख छ।

कारोबार दैनिकले नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बिक्री गर्न रोक लगाएपछि बीमाकम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेको समाचार लेखेको छ। यसै गरी नेपाल उद्योग परिसंघले बुधबारदेखि आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना प्रस्तुत गर्ने समाचार पनि कारोबारमा छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: