आश्विन २९ गते, २०७६

आजको पत्रपत्रिका

पटक हेरिएको

काठमाडौं । नागरिकता विधेयकमा देखिएको उल्झन, बढ्दो बाल हिंसादेखि न्यायालय भित्रको बेथिति सम्मका विषय आजका दैनिक तथा साप्ताहिक पत्रिकाको प्राथमिकतामा परेको छ।

कान्तिपुर दैनिकले कारागार नहुँदा हुम्ला र मुगुले भोगेको समस्याबारे समाचार बनाएको छ। समाचार अनुसार, कारागार नहुँदा थुनामा पठाएको व्यक्तिलाई हिरासतमै राख्ने गरिएको छ।

‘अदालतले थुनामा पठाएको व्यक्तिलाई हिरासतमा राख्नु गैरकानूनी हो तर मुगु र हुम्लामा कारागारै छैनन्’, कान्तिपुरले आफ्नो समाचारमा लेखेको छ।

नेपाल जलस्रोतमा धनी भए पनि खानेपानीको समस्या चौतर्फी छ। घण्टौं हिँडेर १ गाग्री पानीको जोहो गर्नुपर्ने बाध्यतामा अझै पनि नेपाली छन्।

तर, कान्तिपुरले मोबाइलमा थिच्ने बित्तिकै पानी आउने गोरखाको खानेपानी आयोजनाबारे समाचार बनाएको छ। समाचार अनुसार, मोबाइल अपरेटिङ सिस्टमबाट गोरखामा पहिलोपटक खानेपानी आयोजना निर्माण गरिएको छ ।

‘मोबाइल थिचे पानी’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ– खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगि रहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्ल्छन् ।’

समाचार अनुसार आरुघाट गाउँपालिका ९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ।

अंगीकृत नागरिकताबारे देखिएको विवादलाई पनि कान्तिपुरले समेटेको छ । नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई अंगीकृत नागरिकता दिने प्रावधानमा विवाद बढेपछि यसको समाधान राजनीतिक नेतृत्वबाटै खोजिने भएको कान्तिपुरले लेखेको छ।

बालदिवसको अवसर पारेर आज अन्नपूर्णले प्रदेश २ को बालहिंसाबारे एक रिपोर्ट छापेको छ। रिपोर्ट अनुसार अन्धविश्वास र रिसइबीको निसानामा यहाँका बालबालिका पर्ने गरेका छन् । गत आव।मा प्रदेश २ मा मात्रै चार सय ४७ बालहिंसाका घटना भएको समाचारमा लेखिएको छ।

नेकपा अध्यक्ष प्रचण्डले नेपाल कुनै पनि शक्तिकेन्द्रको गठबन्धनमा सामेल नहुने भनेर व्यक्त गरेको भनाइलाई पनि अन्नपूर्णले प्राथमिकता पूर्वक छापेको छ।

चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटमा इन्डो प्यासिपिक रणनीतिका विषयमा दिएको धारणा विवादमा परेपछि प्रचण्डले यस्तो प्रस्टोक्ति दिएका हुन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: