कार्तिक ६ गते, २०७६

विमानस्थलमा राखिएको हेलिकप्टरबाटै तेल चोरी!

पटक हेरिएको

काठमाडौ । विमानस्थलभित्र चोरी?  सुनचाँदी नगद वा अन्य बहुमूल्य धातु होइन। इन्धन चोरी भएको घटना सार्वजनिक भएको छ। यस अघि नेपाल एयरलाइन्सका जहाजबाट टायरसमेत हराउने सुनिए पनि निजी सेवाप्रदायकको हेलिकप्टरबाट तेल चोरी भएको हो।

विमानस्थल कार्यालय सम्बद्ध स्रोतका अनुसार पार्किङमा राखिएका दुई कम्पनीका हेलिकप्टरबाट तेल चोरी भएको हो। विमानस्थलको अनुमति दिएका व्यक्तीमात्र जान पाउने उक्त क्षेत्रमै इन्धनको चोरी हुनु गम्भिर घटना भएको र यो सार्वजनिक नगर्न नेतृत्वले दवाव दिएको विमानस्थलका जुनियर अधिकारीहरुले बताएका छन्। सम्बद्ध स्रोतका अनुसार हालै मात्र दुई कम्पनीका हेलिकप्टरबाट ११ सय लिटर इन्धन चोरी भएको थियो।

‘पार्किङमा राखिएको प्रभु हेलिकप्टरबाट ७ सय लिटर इन्धन चोरी भएको छ। त्यस्तै हेली एभरेष्टको हेलिकप्टरबाट ४ सय लिटर चोरी भएको भन्ने गुनासो आएको छ। तर यसबारेमा सम्बन्धित कम्पनीलाई पनि बाहिर नलिन उर्दी जारी गरिएको छु विमानस्थलका एक कर्मचारीले भने।

कडा सुरक्षा निगरानी हुने विमानस्थलमै त्यत्रो मात्रामा इन्धन चोरी हुनु गम्भिर घटना भएको भन्दै एयरलाइन्स सञ्चालकहरुले गुनासो गरेका छन्। उनीहरुले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा अन्य निकायमा पनि जानकारी गराइ सकेका छन्।

‘विमानस्थलमै आज इन्धन चोरी भयो, भोलि पार्टसपुर्जा चोरी होलान् यसको रोकथाम कसरी गर्ने? यो गम्भिर विषय हो’ एक व्यवसायीले भने।

चोरी भएको भन्दै व्यवसायीहरुले भने पनि त्यसको उजुरी नआएको विमानस्थलमा कार्यरत प्रहरी अधिकारीहरुले बताएका छन्। यसअघि पनि चोरी भएको सूचना आउने गरेको तर आधिकारीकरुपमा प्रहरीसम्म त्यस्तो सूचना नआएको उच्च प्रहरी अधिकारीले जानकारी दिए।

‘यस अघि पनि २/४ वटा कम्पनीका हेलिकप्टरबाट इन्धन चोरी भएको सुनिएको हो। यसपटक पनि चोरी भएको भन्ने हामिले सुनेका छौ। तर हामिकहाँ उजुरी आएको छैन। त्यसैले अनुसन्धान गर्न पाएकै छैनौ’ एक प्रहरी अधिकारीले भने।

Loading...

प्रतिकृया लेख्नुहोस्: