आश्विन २९ गते, २०७६

आजको पत्रपत्रिका

पटक हेरिएको

काठमाडौं । विविध सामग्रीका साथ बजारमा आएका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा आज अनियमितता र बेथितिसँग सम्बन्धित विषय परेका छन् ।

नागरिकले काम नगर्ने देश भरका निर्माण कम्पनीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार देशभर काम नगर्ने ठेकदारको संख्या १ हजार ८ सय ४८ छ। बेइमान निर्माण कम्पनीको सूचीमा यति धेरै सूचीकृत भए पनि कालोसूचीमा भने ५८ वटा मात्रै परेका छन् ।

राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको नागरिकको ठहर छ।

नागरिक लेख्छ– मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा देखाएको थियो । तर, अहिलेसम्म जम्मा ५८ ठेकदारलाई मात्र कालो सूचीमा राखिएको छ ।’

स्वास्थ्य मन्त्रीको भ्रमण मोहबारे पनि नागरिकले समाचार बनाएको छ। नागरिकका अनुसार उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आफ्नो पछिल्लो कार्यकालमा २५ पटक विदेश भ्रमण गरेका छन् ।

पछिल्लो समय भारत भ्रमण गएर फर्किएका यादव बुधबार अमेरिका उड्दैछन् । डेंगुलगायतका रोगको महामारी फैलिइ रहेका बेला यसप्रति उदासीन बनेको भन्दै उनको आलोचना भइ रहेको छ।

अन्नपूर्णले पनि उपप्रधानमन्त्रीको भ्रमणमोहबारे एक समाचार छापेको छ । समाचार अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्न लागेको राष्ट्रसंघीय महासभामा उनी सहभागीको रुपमा जाँदैछन् ।

पदीय मर्यादामा परराष्ट्र मन्त्रीभन्दा उपप्रधानमन्त्री माथि भए पनि मन्त्री यादव राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

काठमाडौंको टीठलाग्दो सडकको तस्वीर छापेको कान्तिपुरले हदबन्दी छुटको जग्गा मासिने जोखिम बढेको लेखेको छ। भूमिसम्बन्धी ऐन, २०२२१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दी भन्दा बढी राख्न दिइएको हजारौं बिघा जग्गा मासिन जोखिम बढेको कान्तिपुरको ठहर छ।

प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी कांग्रेसलगायतको विरोधबीच बहुमतबाट पारित गरेको थियो । विधेयक भूमाफियाको स्वार्थमा ल्याइएको र त्यसमा उल्लिखित प्रावधानले हदबन्दी भन्दा बढीको अब हिनामिना हुने जानकारहरूको भनाइ छ।

सेनामाथि अपारदर्शी खरीद प्रक्रिया अपनाउने गरेको आरोप लाग्दै आएको छ। तर, सैनिक नेतृत्वले पछिल्ला २ वर्षमा बन्दोबस्ती सामान खरीदमा भएका अनियमिततामाथि छानबिन सुरु गर्ने भएको छ। कान्तिपवुरका अनुसार खरीद प्रक्रियामा रहेका तथा आपूर्ति भइ सकेका घातक र गैरघातक सैनिक बन्दोबस्तीका सामानमा घोटाला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका छन्।

राजधानीले यातायात मन्त्री रघुवीर महासेठले आठ सरकारी गाडी आफू र आफ्ना आफन्तका लागि प्रयोग गर्ने गरेको लेखेको छ।

खर्च कटौती र मितव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री महासेठले करोडौं मूल्यका आठवटा गाडी दुरुपयोग गरेको राजधानी समाचारमा उल्लेख छ। समाचार अनुसार यतिले पनि नपुगेर उनले पत्नीलाई अलग्गै गाडी मगाएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: