कार्तिक ६ गते, २०७६

‘कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्छ’ : नेता नेपाल

पटक हेरिएको

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताउनु भएको छ।

क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारकर्मीको जिज्ञाशामा नेता नेपालले भन्नुभयो, “यसबीचको कामको मूल्याङ्कन गर्ने समय आएको छ। एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनःगठन हुनु उपयुक्त छ। प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन।

केन्द्र सरकार र प्रदेश नं.२ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ। नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनु पर्नेमा पनि जोड दिनुभयो।

अर्को प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूलधारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताउनुभयो। उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गर्नुभयो।

उहाँले जनतामा उत्पन्न त्रासको वातावरण र लगानीकर्तालाई निरुत्साहित गर्ने काम हुन नहुने पनि जनाउनुभयो। शुभारम्भ कार्यक्रममा नेता नेपालले दूरदर्शीताको अभाव, व्यक्तिगत सङ्कीर्णता, स्वार्थ र भ्रष्टाचारका कारण विकासमा बाधा हुने गरेको तर देशले परिवर्तन र विकास खोजेकाले सञ्चार क्षेत्रले विकासमा बाधक तत्वलाई चिनाई सकारात्मक पक्षलाई पनि उत्तिकै स्थान दिनुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालको जोड थियो। रासस

Loading...

प्रतिकृया लेख्नुहोस्: