कार्तिक ६ गते, २०७६

गण्डकी प्रदेश : सांसदलाई आफ्नै सुरले खर्च गर्न २ करोड दिइने

पटक हेरिएको

पोखरा । गण्डकी प्रदेश सरकारले सांसदहरूले आफ्नो हिसाबले खर्च गर्न पाउने गरी २ करोड रुपैयाँ प्रदान गर्ने भएको छ। आइतबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षको बजेटबाट गण्डकी सरकारले सांसदहरुलाई २/२ करोड रुपैयाँ प्रदान गर्न लागेको जानकारी गराएका हुन्। सरकारले पहिलो पटक बजेट ल्याउने बेलैमा गण्डकी प्रदेशका सांसदहरूले संघ सरकारले प्रदान गर्ने जस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास शीर्षकमा बजेट माग गरेका थिए।

सरकारका अर्थमन्त्री किरण गुरुङले त्यतिबेलै यसलाई नीति बनाएर आगामी वर्षको बजेटमा समाबेश गरिने बाचा गरेका थिए। ‘सांसदहरूको माग पनि हो। सबै प्रदेशले दिन लागेकाले हामीले पनि दिन लागेका हौँ’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने,‘सांसदसँग जनताको माग धेरै हुने रहेछ।

अन्य प्रदेश पनि हेरे अथाह पैसा सुविधा दिएको छ। हामीले सुविधा पनि कटौती गरेका छौँ। धेरै दिएका छैनौँ। सुविधा समयानुकूल पनि हुनुपर्‍यो। बढी भड्किलो,ओजिलो चाहिँ हुनु भएन।’ यस बजेटलाई मुख्यमन्त्री गुरुङले राम्रो काममा प्रयोग गरेर आलोचना हुने काम नगर्न पनि सचेत गराए। उनले गण्डकी प्रदेशमा आलोचना नहुनेमा विश्वास पनि व्यक्त गरे।

त्यसको कार्यविधि बनाउने तयारी सरकारले थालेको छ। केन्द्र सरकारको जसरी नै प्रत्यक्ष निर्वाचित र समानुपातिकका सांसदले आफू खुसी विकासमा खर्चन पाउने रकम भने घटबढ हुनेछ। सांसदहरूले उक्त दुई करोड रुपैयाँ कस्ता योजनामा खर्चन पाउने भन्ने बारे कार्यविधि बन्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले संघ र अन्य प्रदेशमा निर्वाचन क्षेत्र पूर्वाधार विकासको नाममा बजेट विनियोजन भएपछि गण्डकीले पनि उक्त कार्यक्रम लागू गर्नुपर्ने आवाज उठाउँदै आएका थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: