मंसिर २ गते, २०७६

प्रदेश १ को नाम र राजधानी टुंगोमा पुर्‍याउन सत्तारुढ नेकपाको बैठक सुरु

पटक हेरिएको

विराटनगर । प्रदेश १ को नाम र राजधानी टुंगोमा पुर्‍याउन सत्तारुढ नेकपाको बैठक पुनः शुरु भएको छ। बिहीबार बिहानदेखि विराटनगरको होटल बिगमा सुरु भएको बैठकमा नेकपा प्रदेश १ का कमिटी इन्चार्ज भीम अचार्य, सहइन्चार्ज सावित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेश राई, संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई उपस्थिति छन्।

पहिलो चरणमा साविकको सगरमाथा अञ्चलको जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका प्रदेश सांसदसँग छलफल केन्द्रित छ। यो बैठकमा मोरङ प्रदेश सांसदहरु पनि सहभागी छन्। पहिलो बैठक सकिए लगत्तै नेकपा सम्बद्ध सांसदसँग साविक मेची र कोशी अञ्चलका थप सांसदसँग छलफल हुने छ।

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने, ‘‘बैठक निकै घनीभूत रुपमा चलिरहेको छ। नेताहरु नाम र राजधानीको विषयमा सांसदको राय लिन व्यस्त रहेको उनले जनाए। नेकपा सम्बद्ध सांसदहरुसँगको छलफलपछि सर्वदलीय बैठक बस्ने छ। विपक्षी दलका संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल हुनेछ।

पहिले नेकपाको धारणा बनाएर अन्य पार्टीको राय लिने तयारी भएको बुधबारको बैठकपछि मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका थिए। प्रमुख विपक्षी कांग्रेसका नेता राजीव कोइरालाले सरकारको कुरा बुझेर मात्र कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने बताए। भने,‘‘हामी पनि सरकारको निर्णय कुरेर बसेका छौं।

प्रदेशसभा सचिवालयले प्रदेश १ को स्थायी नाम र राजधानी तोक्न बिहीबारसम्म प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना प्रकासित गरिसकेको छ। प्रदेशसभा नियमावलीको पहिलो संशोधनले कुनै एक सांसदले नाम र राजधानी दुई जना समर्थक राखेर प्रस्ताव दर्ता गराउन सक्ने प्रावधान थपेको छ।

नियमावलीको अनसूची ८ मा कुनै ठाउँ वा क्षेत्रलाई तोकेर राजधानीको प्रस्ताव गर्न गर्ने व्यवस्था छ। सरकारले हालै सुनसरी र मोरङका १८ वटा पालिकालाई समेटेर वृहत विराट क्षेत्रको अवधारणासहितको ऐन बनाएको छ। यही क्षेत्रको कुनै एक ठाउँमा स्याटलाइट सहरको रुपमा विकास गरेर राजधानीका संरचना खडा गरिने मुख्यमन्त्री राईले बताएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: