आषाढ़ १ गते, २०७६

अध्यक्ष प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता

पटक हेरिएको

ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सगले भेटवार्ता गरेकी छन्। खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरू आर्थिक समृद्धिका लागि अगाडि बढेको जानकारी दिएका थिए। ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ’ प्रचण्डले भनेका थिए।

शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको लक्ष्य आर्थिक समृद्धि रहेको प्रचण्डको भनाइ थियो। मुलुकमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै प्रचण्डले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याएका थिए। बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरूको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताएकी थिइन।

उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरूको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन्। मन्त्री सगले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको भन्दै प्रतिबद्धता व्यक्त गरेकी थिइन।

प्रतिकृया लेख्नुहोस्: