मंसिर २ गते, २०७६

योजना बनाउँदा स्थानीय सरकारसँग समन्वय गर्ने छौं : मुख्यमन्त्री राई

पटक हेरिएको

विराटनगर । प्रदेश-१ का स्थानीय तहका जनप्रतिनिधिले स्थानीय सरकारको संवैधानिक अधिकार खोस्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। विराटनगरमा शुक्रबार आयोजित प्रदेश समन्वय परिषदको बैठकमा उनीहरुले यस्तो बताएका हुन्। प्रदेशले योजना साझेदारीका नाममा आफ्नो अधिकारमा हस्तक्षेप गर्न खोजेको उनीहरूको आरोप छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई कँज्याउने राणनीति बनाएको भन्दै संविधान र संघीयताको मर्मलाई कुल्चिने प्रवृत्ति हाबी भएको अरोप लगाए।

त्यस्तै, संखुवासभाको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले सिंहदरबार जनताको घरघरमा आएको भनिए पनि अहिले अधिकार खोस्ने होडबाजी भइरहेको बताए। खत्रीले शिक्षा एवम् स्वास्थ्यका काम स्थानीय सरकारले सञ्चालन गरे पनि जिल्ला समन्वय समितिले यस्ता कार्यक्रम सञ्चालन गरिँदा स्थानीय सरकारलाई कमजोर बनाउने खेल भइरहेको गुनासो गरे। उनले अहिले प्रदेशले डाकेको समन्वय परिषद बैठक उचित समएको भन्दै आफ्ना राय उपर्युक्त समयमा प्रस्तुत गर्ने पनि बताए।

परिषद् बैठकको उद्घाटनका अवसरमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले योजना बनाउँदा स्थानीय सरकारसँग समन्वय गरिने बताएका छन्। बैठकमा सहभागी भएका प्रदेशभरीका स्थानीय सरकार प्रमुख र उप्रमुखलाई सम्बोधन गर्दै राईले प्रदेशको नीति कार्यक्रम बन्‍ने चरणमा रहेको जानकारी पनि गराए। उनले ठूला योजना केन्द्र, मझौला प्रदेश र साना योजना स्थानीय सरकारले हेर्ने स्पष्ट व्यवस्था भएको हुँदा मझौला योजनाको नेतृत्व गर्ने प्रदेशले स्थानीयसँग छलफल गरेरै योजना तर्जुमा गर्ने स्पष्ट पारे।

उनले कुनै पनि कार्यक्रम नदोहोरियोस् भनेर चरणबद्ध छलफल गर्ने योजनाअनुसार प्रदेशको बजेट तयारीपूर्व स्थानीय जनप्रतिनिधिसँग छलफल चलाइएको जानकारी दिए। बजेटले सबै योजनामा रकम छर्नेभन्दा पनि ठोस उपलब्धि हासिल हुने कुरामा मात्र केन्द्रित हुने उल्लेख गए।

Loading...

प्रतिकृया लेख्नुहोस्: