आषाढ़ १ गते, २०७६

सरकार अधिनायकवादी भयो : देउवा

पटक हेरिएको

हेटौँडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले ल्याएको गुठी विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने बताएका छन्। हेटौँडामा शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरूको भेला तथा प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले ओली सरकारले संस्कृतिमाथि हमला गरेको भन्दै गुठी विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने दाबी गरेका हुन्।

उनले सरकार अधिनायकवादी शैलीमा अगाडि बढेको तर विकास भने केही पनि नदेखिएको बताएका छन्। उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्ने, गीतकार तथा कलाकारहरूको स्वतन्त्रता हनन् गर्ने काम गरि रहेको आरोप लगाए। उनले निर्मला पन्तको हत्यारा अझैसम्म पत्ता लगाउन नसकेको भन्दै ओली सरकारले काम भन्दा गफ बढी गरेको आरोप लगाए। यस्तै, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई धेरै सिध्याउन खोजेता पनि नसकेको र नसक्ने बताएका हुन्।

संगीत क्षेत्रमा आफ्नो पनि लगाव रहेको भन्दै सरकारले कलासंस्कृति माथि हमला गरेको समेत बताए। उद्घाटन सत्रमा नेपाली कांग्रेसका नेताहरू सह-महामन्त्री प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो।

संघका केन्द्रीय सभापति तीर्थबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा मन्तव्य राख्ने अधिकांश नेताहरूले गुठी विधेयकको विरोध गरेका थिए। शनिबारसम्म चल्ने भेलामा ७७ वटै जिल्लाका सभापति र विधागत संघका १० जना सभापतिहरूसहितको बन्दसत्र जारी छ। कार्यक्रममा कांग्रेसप्रति आस्था राख्ने राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुति समेत दिएका थिए।

प्रतिकृया लेख्नुहोस्: