मंसिर २ गते, २०७६

प्रदेश नं २ : मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले सेवा सुविधाको व्यापक दुरुपयोग

पटक हेरिएको

जनकपुर। प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरुसम्मले सेवा सुविधाको व्यापक दुरुपयोग गरेको पाइएको छ।

आर्थिक वर्ष २०७५ ०७६ मा मुख्यमन्त्री देखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता वापत मात्रै लाखौँ रकम बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तथ्याङ्कले देखाएको छ।

प्रदेश नम्बर २ का पर्सा देखि सप्तरीसम्मको दुरी करिब ४ सय किलोमिटर मात्र पर्छ। ४ सय किलोमिटर दुरी भएका यी आठ जिल्ला र काठमाडौँ भ्रमण गर्दा करिब २३ लाख खर्च गरेको पाइएको हो।

प्रदेश नम्बर २ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता अन्तरगत आर्थिक वर्ष २०७५ ०७६ मा मात्रै २२ लाख ९७ हजार २० रुपैयाँ खर्चेका छन्। यसमा सबैभन्दा बढी आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेकी छन्।

त्यस्तै, मुख्यमन्त्री लालबाबु राउतले १ वर्षमा दैनिक भ्रमण भत्ता बापत् मात्रै ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझेका छन्।

सबभन्दा कम भ्रमण गर्ने र दैनिक भ्रमण भत्ता लिनेमा उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले ५५ हजार रुपैयाँ लिएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले २ लाख ७४ हजार ९ सय ९० रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले १ लाख ८५ हजार ५ सय ४० रुपैयाँ, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले १ लाख ३९ हजार ८ सय ३४ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले १ लाख ४ हजार ३ सय ७० रुपैयाँ, समाजिक विकास मन्त्री नवल किशोर साहले १ लाख १८ हजार रुपैयाँ, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंहले २ लाख ८ हजार ४ सय ३ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रप्रसाद रायले १ लाख ७४ हजार ६ सय रुपैयाँ, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले ६९ हजार ३ सय ७५ रुपैयाँ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले १ लाख ५७ हजार ६० रुपैयाँ, उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले १ लाख ८२ हजार ७ सय २५ रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट दैनिक भ्रमण भत्ताको नाममा रकम उठाएका छन्।

पार्टीको काम तथा गृहनगर जानका लागि मुख्यमन्त्री लालबाबु राउतदेखि मन्त्री र राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता लिने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीले बताएका छन्।

महिनामा ७ दिनसम्म गृह नगर तथा पार्टीको कामको शिलशिलामा काठमाडौँदेखि प्रदेश नम्बर २ को अधिकांश जिल्लामा भ्रमण गर्ने गरेको तर प्रदेश सरकारको काम देखाएर भत्ता लिने गरेको आरोप उनीहरुमाथि छ।

त्यसैगरी पार्टीको कामका लागि भ्रमण भत्ता मात्र नभएर पेट्रोलियम पद्धार्थ लगायत अन्य सेवा सुविधाको समेत दुरुपयोग भएको छ।

मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको सेवा सुविधा सम्बन्धी विधेयकमा दैनिक भ्रमण भत्ता बाहेक मुख्यमन्त्रीले मासिक तलब ६० हजार ९ सय ७०, मन्त्रीले ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० मासिक तलब दिने भनिएको छ।

यससँगै मुख्यमन्त्रीलाई आवास सुविधा, मन्त्रीलाई अवास सुविधा वा सो बापत मन्त्रीलाई प्रतिमहिना १५ हजार रुपैयाँ, सवारी सुविधा, मुख्यमन्त्रीलाई प्रतिमहिना ३ सय लिटर र मन्त्री र राज्यमन्त्रीलाई २ सय २५ लिटर उपलब्ध गराइँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुले मासिक तोकिएको हिसाबले इन्धन पाउँदै आएका छन्। त्यस्तै, मोबिल प्रत्येक ३ महिनामा मुख्यमन्त्रीले १० लिटर र अन्य मन्त्रीले ५ लिटर पाउँदै आइरहेका छन् ।

उनीहरूले विशेष भत्ता १ हजार, सञ्चार तथा पत्रपत्रिकाको लागि प्रतिमहिना ३ हजार, फर्निचर सुविधा बापत एकमुष्ठ ५० हजार रुपैयाँ पाउदैँ आएका छन्। त्यस्तै बिजुलीमा प्रतिमहिना २ हजार रुपैयाँ, दैनिक भ्रमणभत्ता वपात प्रति दिन मुख्यमन्त्रीलाई ३ हजार, मन्त्री तथब राज्यमन्त्रीले २ हजार भ्रमण भत्ता पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी कानुमा नै व्यवस्था गरिएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: