मंसिर ३ गते, २०७६

प्रचण्ड छोडेर ओली क्याम्पमा अन्तत : गौतम

पटक हेरिएको

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विवादै विवादको अर्को नाम हो भन्दा फरक नपर्ला। पार्टीको नाम एउटै भए पनि त्यहाँ दुईवटा दलका नेताहरुको मिश्रण छ। त्यसो त अध्यक्ष नै दुइजना छन्। एकता प्रक्रिया पूरा नहुँदा पूर्व एमाले र पूर्व माओवादीको ह्याङ अझै सकिएको छैन । त्यसमा पनि पछिल्लो समय शीर्ष नेताहरुको गुट फेरबदल भइरहँदा थप अन्योल बढेको छ। तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्नमा केपी ओलीलाई सहयोग गरेका बामदेव गौतम अरु कुनै ठूलो पद पाउँछु भन्ने आशामा थिए । प्रतिनिधिसभा निर्वाचनमा समेत पराजित भएपछि गौतम विक्षिप्त भए। न ओलीले कुनै जिम्मेवारी नै दिए।

गौतम लगभग राजनीतिका गतिविधिबाट छायाँमा परे। पार्टी एकतापछि उनै गौतम पुष्पकमल दाहालसँग निकट भए। तर ओलीले कुनै मलतब गरेनन्। समयक्रम यसरी अघि बढ्यो कि गौतमलाई दाहाल गुटबाट निकाल्नुपर्छ भन्ने निष्कर्षमा ओली पुगे। र अहिले पार्टीको संगठन विभागको संयोजक बनाउने आश्वासन दिएर आफू निकट बनाउन सफल भएका छन्।

असार २८ गते गौतमको जन्मदिन ओलीले वालुवाटारमै केक काटेर मनाइदिए। ओली र गौतम संयोगबाहेक एकसाथ नदेखिएको धेरै भएको थियो । तर उपचारका लागि सिंगापुर गएका ओली सोमबार स्वदेश फर्किदा गौतम विमानस्थलमै पुगे। यसरी ओली र गौतम निकट बनिदिँदा नेकपाभित्र विभिन्न खाले शंका उपशंका उब्जिएको छ। बहस त यतिसम्म सुरु भएको छ कि अब गौतम प्रधानमन्त्रीसमेत बन्न सक्ने ओली निकट नेता महेश बस्नेत बताउँछन्।

ओली र गौतमको निकटतालो के प्रभाव पार्छ, त्यो भविष्यले देखाउला। तर स्कुल विभागको संयोजक कसलाई बनाउने भन्ने विवादकै कारण सचिवालय बैठक असफल हुँदै आएको छ । साउनको दोस्रो साता बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि २८ गतेका लागि बोलाइयो।

यसबीचमा अध्यक्ष दाहाल घुम्नका लागि दुवै र ओली उपचारका लागि सिंगापुर पुगे। सोमबार ओली फर्किए। सचिवालय बैठक मंगलबार बस्ने तय भएको थियो। तर बैठक बस्नै सकेन। यसले पार्टी भित्र विवाद चुलिएको छ भन्ने स्पष्ट हुन्छ।

यसको कारण स्कुल विभागलाई नै मानिएको छ। यही विभागको दाबेदारीमा नाम आएका राम कार्की नेताहरु पदीय लालचमा फस्दा समस्या नसुल्झिएको तर्क गर्छन्। कार्कीले त नेतृत्व तहमा रहेका नेताहरुले समस्या समाधान गर्नै नसक्ने ठोकुवा गरे। २०७४ साल जेठ तीन गते शीर्ष तहमा नेकपा एमाले र माओवादीबीच एकता भएको थियो। त्यस पछिको १४ महिना नेकपाले एकताको सवालमा खासै उपलब्धि हासिल गर्न सकेको छैन।

Loading...

प्रतिकृया लेख्नुहोस्: