मंसिर ३ गते, २०७६

प्रचण्ड र माधव नेपालबीच गोप्य भेटवार्ता

पटक हेरिएको

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालबीच आज गोप्य भेटवार्ता भएको छ। वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा शनिबार बिहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टी भित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतको भनाइ छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको बताए ।

बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यस अघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्य विभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ । सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ।

यसै गरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन लगायतका काम बाँकी छन्। अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: