आश्विन १ गते, २०७६

प्रदेश २ को नामाकरण गर्न राजनीतिक दलहरुको धमाधम बैठक

पटक हेरिएको

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि प्रदेशका राजनीतिक दलहरु पनि जुर्मुराएका छन्। प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा प्रस्ताव आह्वान गरेसँगै राजनीतिक दलहरु पनि जुर्मुराएका छन्। प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि प्रदेशसभा सचिवालयले बिहीबारसम्मका लागि प्रस्ताव पेश गर्न भनेको छ। प्रदेश २ का सांसदहरुले आफ्नो प्रस्ताव बिहीबारसम्म दर्ता गराउन सक्छन्।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभाभित्र राजनीतिक दलहरुको बैठक लगातार बसिरहेको छ। सत्तासिन समाजवादी, राष्ट्रिय जनता पार्टी (राजपा) का साथै प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समेत बैठकलाई निरन्तरता दिएका छन्। नेकपा संसदीय दलको बैठक बुधबारदेखि प्रारम्भ भएको छ भने, नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबारदेखि नै शुरु भएको छ। सत्तासिन राजपाको बैठक पनि यसै बिषयलाई लिएर मंगलबार बसेको छ। ‘हाम्रो संसदीय दलको बैठक मंगलबारदेखि प्रारम्भ भएको छ,’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘यद्यपि, हामी निष्कर्षमा पुग्न सकेका छैनौं।

बिहीबार पुनः बैठक बसेर निष्कर्षमा पुग्नेछौं।’ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बुधबारदेखि दलको बैठक शुरु भएको भन्दै बिहीबारसम्म निष्कर्षमा पुगिने जानकारी दिए। भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले बुधबार आफूहरुको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीबारे छलफल भएको बताए। उनले प्रदेश २ को नाम ‘मधेस’ हुनुपर्ने आफूहरुको प्रष्ट एजेन्डा रहेको बताए।

मन्त्री सोनलले बिहीबार समाजवादी पार्टीका नेताहरुसँग संयुक्त बैठक बसी संयुक्तरुपमै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव संयुक्तरुपमै लगिने जानकारी दिए। सत्तासिन समाजवादी र राजपा प्रदेशको नाम मधेश रहनुपर्नेमा एकमत देखिएका छन् भने प्रतिपक्षी नेकपा र कांग्रेसले ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ नामाकरण गर्नुपर्नेमा जोड दिइरहेका छन्। यद्यपि स्थायी राजधानी जनकपुर नै हुनुपर्नेमा सबै दल एकमत जस्त देखिएका छन्।

प्रदेश २ मा बिभिन्न विधेयकहरु सर्वसम्मतले पारित हुँदै आए पनि प्रदेशको नाम र स्थायी राजधानी तोक्न त्यत्ति सजिलो देखिएको छैन। यो कामका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ। तर सत्तासिन र प्रतिपक्षीको छुट्टाछुट्टै नाम भएपनि स्पष्ट दुई तिहाई भने कसैसँग छैन। सत्तासिन समाजवादीको ३०, राजपाको २५ सांसद छन् भने नेकपाको ३२ र नेपाली कांग्रेसको १९ सांसद छन्। संघीय समाजवादी फोरमको भने एक जना सांसद मात्रै छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: