भाद्र ३१ गते, २०७६

नेकपामा नयाँ ध्रुवीकरण (को कता)

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा नयाँ ध्रुवीकरण बनेको छ । प्रभावशाली नेता वामदेव गौतम प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नजिक पुगेपछि ध्रुवीकरण बनेको हो।

गौतम कुनै बेला प्रचण्डका सबै भन्दा नजिक थिए । उपाध्यक्ष बनाउने प्रतिवद्धतासँगै कास्कीको उपनिर्वाचनमा उम्मेदवार बनाउने वाचा गर्दै ओलीले गौतमलाई आफू नजिक ल्याउन सके। कुनै बेला ओलीलाई अध्यक्ष जिताउन महत्वपूर्ण भूमिका खेलेका गौतम उनीसँग निकै चिढिएका थिए । तर, ओलीले मनाएर आफू नजिक ल्याएका छन् ।

ओलीसँग टाढिएका झलनाथ खनाल पनि नजिकिएका छन् । वरियतामा तेस्रो स्थानमा राखिदिए पछि खनाल खुशी भए । सचिवालय सदस्य इश्वर पोखरेल ओलीको नजिक छन्। महासचिव विष्णु पौडेल ओलीका विश्वासपात्र हुन्।

प्रधानमन्त्री भइ सकेका माधवकुमार नेपाल ओलीसँग निकै चिढिएका छन् । सिंगापुर जानु अघि उनको भनाभन समेत भयो । ओलीले नेपाललाई वरियतामा चौंथो स्थानमा धकेलि दिए। कुनै बेला ओली तत्कालिन नेकपा एमालेको महासचिव भइ सकेका नेपालका विश्वासपात्र थिए । दुवै बीचको मिलनले वामदेव गौतम यसरी धकेलिए कि उनी पार्टी फुटाएर जान वाध्य पारिए । अहिले ओली र नेपालबीच विवाद बढेको छ।

ओलीसँग दूरी बढेलगत्तै नेपाल प्रचण्डसँग नजिकिएका छन् । दुवैबीच पटक पटक भेटघाट भइ सकेको छ । अब कसरी जाने भन्नेबारे दुवैले मिलेर रणनीति बनाएका छन् । प्रचण्ड र माधव नेपाल एकातर्फ हुँदा नेकपामा यो समूहको पल्लाभारी हुनसक्छ । यसले ओलीमाथि दबाब बढेको छ । प्रचण्डको साथमा रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । सचिवालयमा ओलीको बहुमत छ । प्रचण्ड भन्दा ओलीको एकजना बढी सदस्य छन्। सचिवालयमा मात्र नभई संसदमा पनि ओलीको बहुमत छ ।

प्रचण्डसँग भएका केन्द्रीय नेताहरुमध्ये चुनाव हारेका र सांसद नभएकाहरुको संख्या रहेको छ । संसदीय दलमा बहुमत नभएकाले प्रचण्डलाई भविष्यमा प्रधानमन्त्रीको दाबी गर्न निकै चुनौती छ। आलोपालो साँढे दुई वर्ष प्रधानमन्त्रीको सहमति भएको भनिए पनि प्रचण्डले नपाउने अवस्था पनि बन्न सक्छ । संसदीय दलमा कमजोर रहि रहे प्रचण्डलाई राजनीतिक धक्का लाग्न सक्छ । पूर्व माओवादी नेताहरुले भने जस्तै पार्टी एकीकरण गरेर पछुताउनु पर्ने परिस्थिति बन्नसक्छ। प्रचण्डले यस्तै आशयको अभिव्यक्ति दिइ सकेका छन् । यस्तो अवस्था आउन नदिन प्रचण्ड रणनीतिक चार्तुयताका साथ सक्रिय भइ रहेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: