भाद्र ३१ गते, २०७६

नेकपामा अध्यक्षको अधिकार बहस

पटक हेरिएको

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र दुइ अध्यक्षको शक्ति बाडफांडको विषय थप जटिल बन्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओली २ साता लामो सिंगापुरमा उपचार गरेर फर्किए लगत्तै यो विषय टुंगो लगाउने अध्यक्ष पुष्पकमल दाहालको तयारी थियो।

तर अर्का अध्यक्ष ओली र उनको गुटले यो विषयमा बहस नै गर्न चाहेको छैन। दाहाल तथा उनको गुटले भने भित्र भित्रै रणनीति बनाइ रहेका छन्। पार्टी एकता भएयता अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीविचको सम्बन्धमा उतारचढाव हुँदै आएको छ । उहाँहरुबीच कहिले बेमेल त कहिले मित्रवत सम्बन्ध जस्तो छनक हुने गरेको छ।

पछिल्लो पटक पार्टी एकताको बाँकी काममा पार्टीका विभागहरु गठन र तिनका नेतृत्व चयन लगायतका विषयमा अध्यक्ष दाहालले बाहिरी रुपमा तीव्र असन्तुष्टि नदेखिए पनि भित्री रुपमा सन्तुष्ट नरहेको उनी निकट नेताहरुले बताउदै आएका छन् । सोमबार मात्रै राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सरकारको आलोचना गर्नु भएको थियो।

दाहालले सरकारको आलोचना गर्नु भनेको अर्का अध्यक्ष ओलीसँग असन्तुष्ट हुनु हो भनेर बुझ्दा फरक नपर्ला । आलोपालो साँढे दुई वर्ष प्रधानमन्त्रीको सहमति भएको भनिएपनि दाहाललाई ओलीले त्यो मौका नदिने हो कि भन्ने चिन्ता पनि छ। दुई अध्यक्षबीच मन मिल्न नसक्नुको प्रमुख कारण यही नै हो।

उपचारका लागि सिंगापुरमा हुँदा महासचिव विष्णु पौडेल र नेता बामदेव गौतमलाई ओलीले उतै बोलाएपछि दाहाल पक्षधर झस्किएका थिए । त्यसो त विगतदेखि नै नेता गौतम अध्यक्ष दाहाल निकट मानिन्छन्। तर ओलीले पनि गौतमलाई फकाउन विभिन्न जुक्ति लगाइ रहेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा नै प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति नहुने प्रस्ताव गरेपछि दाहाललाई केही राहत त मिलेको छ।

तर नेपालको समर्थन पाउने हो कि हैन भन्ने निश्चित छैन। प्रधानमन्त्री ओलीलाई पनि धेरै जिम्मेवारी भएका कारण सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै अन्य नेताहरुलेसमेत असन्तुष्टी व्यक्त गरि रहेका छन्। सबैलाई खुशी बनाउनका लागि शक्ति बाँडफाँटमै लचिलो हुन ओलीलाई सुझाब दिनेहरु पनि धेरै छन्।

पुर्वएमाले पक्षधरका नेताहरु भने आगामी महाधिवेशनसम्म दुइअध्यक्ष नै रहने र महाधिवेशन पछि मात्रै एक अध्यक्ष रहने बताउदै आएका छन्। तर एकताका बेला गरिएको ५ बुँदे सहमति कार्यान्वयन हुनु पर्नेमा पूर्व माओवादी पक्षधरले जोड दिदै आएका छन्। स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको बेला प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैलाई मिलाएर पार्टी संचालन गर्न कुन बाटो रोज्छन् त्यो भने हेर्न बाँकी नै छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: