भाद्र ३१ गते, २०७६

नेपालमा शक्तिराष्ट्रबीच प्रतिष्पर्धा

पटक हेरिएको

काठमाडौ । अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको साझेदार बनाउन पहल थालेलगत्तै क्षेत्रीय राजनीतिमा तरंग आयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले ऐतिहासिक भेटका लागि निम्तो दिएपछि भएको भेटपछिको प्रेस विज्ञप्तिमा नेपाल इन्डो प्यासिफिकको केन्द्र बन्न सक्ने उल्लेख भयो । त्यसले नेपालमा चासो राख्ने अन्य शक्तिशाली देशहरुलाई झस्कायो।

चीनको पूर्वाधार विकासको परियोजना बीआरआईमा नेपाल सहभागी भइ सकेको अवस्थामा इन्डो प्यासिफिकको विषयले सत्तारुढ दल भित्रै मतभेद देखियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले यसको खुलेरै विरोध गरे। नेकपा प्रमुख सचेतक देव गुरुङले संसदमा यसविरुद्ध आवाज उठाए । उनले अमेरिकी गुप्तचर निकायको पहलमा केही देशको गुप्तचर प्रमुखहरु भेला गरेर नेपालमा बैठक गरेको खुलासा गरे।

इन्डो प्यासिफिकको विषय तताउने काम नेकपा भित्रबाट भयो। यति सम्मकी चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउनु अघि र पछि यसलाई तताउने काम प्रचण्ड र उनका निकटस्थले गरेका थिए। वाङ यीको यसै हप्ता भएको भ्रमणलाई चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणको तयारीका रुपमा लिइएको छ। भारत चीन समिटमा भाग लिन भारत जानु अघि जिङपिङ केही घन्टाका लागि काठमाडौंमा रहने बताइएको छ।

चिनियाँ विदेशमन्त्री आउनु अगावै भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आए। उनी दुई दिन नेपाल बसेर महत्वपूर्ण भेटघाट गरे। विदेशमन्त्री भएपछि उनको नेपाल भ्रमण पहिलो हो। यस अघि विदेश सचिव रहेका जयशंकरको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएपनि टुंगो लागेको छैन।

यसै गरी, भारतीय पूर्व राजदूत रञ्जित रे नेपाल आएका छन् । उनी एउटा सेमिनारमा भाग लिन आएको भनिएपनि राजनीतिक भेटघाट गरेका छन् । भारतीय थिङ्क ट्याङ्कहरुको नेपालमा आवतजावत बढ्न थालेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: