कार्तिक २५ गते, २०७६

नेकपाको चियापान कार्यक्रममा १८ हजारजना सहभागी

पटक हेरिएको

काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टीले दसैं, तिहार, छठ पर्व र नेपाल संवतको अवसरमा नेकपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा करिब १८ हजारजना सहभागी भएका छन्। चियापानका लागि एक लाखलाई निम्तो बाँडिएको नेकपाले बताए पनि करिब २० प्रतिशतमात्र सहभागी भएका हुन्।

चियापान कार्यक्रमको क्याटरिङ व्यवस्थापक अर्पण क्याटरिङका अनुसार साँझ ५ बजेसम्ममा झन्डै १८ हजारले नेकपाको चिया–खाजा खाएका छन्। कार्यक्रममा सर्वसाधारण र भीआईपीका लागि छुट्टाछुट्टै चिया–खाजाको व्यवस्था थियो। सर्वसाधारणका लागि लड्डु, नमकिन, केरा र चियाको व्यवस्था थियो भने भीआईपीका लागि विशेष प्याकेटको व्यवस्था गरिएको थियो।

चियापानका लागि नेकपाले करिब २ हजार भीआईपीलाई बोलाएको थियो। चियापान कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालले भने बहिष्कार गरेको छ। संविधान संशोधनको विषयमा सरकारसँग रुष्ट रहँदै आएको राजपाले आफ्नो पार्टीका सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको विरोधमा चियापान बहिष्कार गरेको हो।

राजपाका प्रवक्ता केशव झाले भने निम्ता आएको नै थाहा नपाएको टिप्पणी गरे। कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई पनि गएनन्। पार्टीका अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित भए पनि केही नबोली केहीबेरमै निस्किएका थिए। राजपा र समाजवादी पार्टीका नेताहरु नेपाली कांग्रेसको चियापानमा भने सहभागी भएका थिए।

नेपाली कांग्रेसका नेताहरू भने चियापानमा पुगेका थिए। यसअघि कांग्रेसको चियापानमा पनि नेकपाका दुवै अध्यक्ष तथा अन्य नेताहरू सहभागी भएका थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: