मंसिर ४ गते, २०७६

नेकपा सचिवालय बैठक बस्दै, नियमित कार्यसूचीमाथि छलफल हुने

पटक हेरिएको

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए। “पार्टी एकताको थाति रहेका विषयमा नै छलफल हुने छ। समसामयिक राजनीतिक परिस्थितिमा पनि छलफल होला। अतिरिक्त कार्यसूची छैन,” उनले बताए।

उनले मन्त्रिपरिषद् पुनःगठनको चर्चा चलेको भए पनि आज भने त्यसविषमया छलफल नहुने उनको भनाइ थियो। “मन्त्रिपरिषद पुनःगठनको हल्ला मैले पनि सुनेको छु। आज आज ती विषयमा छलफल होलान् जस्तो लाग्दैन,” उनले भने। त्यस्तै प्रधानमन्त्रीको सचिवालयले पनि आज भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको र एकीकरणकै बाँकी काम छलफल हुने जानकारी दिए।

मन्त्रिपरिषद् पुनःगठन प्रधानमन्त्रीकै कार्यसूची भएकाले उक्त सचिवालयको अजेण्डा नबन्ने सचिवालयको दाबी छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनःगठनका विषयमा छलफल भएको स्रोतको भनाइ छ। मन्त्रीहरूलाई प्रधानमन्त्रीको सचिवालयजस्तै सामूहिक राजीनामा गराएर पुनःगठनका लागि मार्ग प्रशस्त गर्ने वा केहीलाई थपघट गर्ने विकल्पमा छलफल भए पनि निष्कर्षमा नपुगिसकेको र तत्काल फेरबदलको सम्भावना नरहेको स्रोतले जानकारी दियो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पनि सचिवालयको बैठक बस्ने कुरा आफूले सुनेको तर मन्त्रिपरिषद् तत्कालै पुनर्गठनको सम्भावना बारेमा आफूलाई जानकारी नभएको बताए। ‘‘केही दिनमै मन्त्रिमण्डल पुनर्गठन भइहाल्ला भन्ने मलाई लाग्दैन। तर, प्रधानमन्त्रीको अधिकारको कुरा हो,’’ नेम्वाङ्गले भने।

Loading...

प्रतिकृया लेख्नुहोस्: