स्ट्राइकर प्रचण्ड - Nepal Talk
जेष्ठ २३ गते, २०७७

स्ट्राइकर प्रचण्ड

पटक हेरिएको

-भुमिराज अधिकारी

काठमाडौ । नेपालको राजनीतिमा प्रचण्ड भन्ने जिनिस दुर्लभ पाटेबाघ हुन्, फरक धातुले बनेका एक राजनेता हुन्। जनताको न्याय, नागरिक सर्वोच्चता, जनताको शासन र जनताको मौलिक हकका निम्ति उनले आफ्नो जीवनयात्रमा थुप्रै पटक क्रमभङ्ग गरेका छन्, छलाङ मारेका छन्, नियमिततामा आकस्मिक निर्णय गरेर चमत्कारपूर्ण कदमहरू चालेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा सबै भन्दा धेरै इँटा कसैले राखेको छ भने प्रचण्डले राखेको छ।

एक समय देश जब गणतन्त्रमा जाँदै थियो तब यो राजनीतिक एजेन्डाका मुख्य पात्र थिए प्रचण्ड! सायद गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको सपना पनि देखेका थिएनन् होला, केपी शर्मा ओलीले देशमा गणतन्त्रको माग गर्नेहरुलाई ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भनेकै हुन्।

माधवकुमार नेपाल, झलनाथ खनाल देखि वामदेव गौतमसम्मले राजालाई भाषणमा चेतावनी दिन्थे तर गणतन्त्र चिताएका थिएनन्। यही अवस्थाबीच रणनीतिक चार्तुयताका साथ प्रचण्डले गणतन्त्रको एजेन्डालाई माओवादी ‘जनयुद्ध’ हुँदै राज्यको प्रणालीमै स्थापित गरे। देशको इतिहास बदल्ने खेलाडीका रुपमा प्रचण्ड रहे। उनकै नीति र रणनीतिमा डेढ दशकयता देश बढि रहेको छ। उनी अहिले राजनीतिको केन्द्रबिन्दुमा छन्।

भुमिराज अधिकारी

आश्चर्यजनक कदम चाल्ने नेता प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड जोखिम मोल्ने र आश्चर्यजनक कदम चाल्ने नेताको परिचय बनाउन सफल छन्। माओवादी जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक मूलधार हुँदै नेकपा एमालेसँगको एकीकरणसँग आइपुग्दा उनले लिएको निर्णयले धेरैलाई चकित पार्ने खालको छ। उनको यही स्वभावका कारण राजनीतिक छलाङ र धक्का समेत पाउने गरेका छन्। तैपनि, प्रचण्ड एकपछि अर्को जोखिमपूर्ण निर्णय लिदै अगाडि बढि रहेका छन्। यसको पूर्णविरामको अनुमान लगाउन सायदै कठिन होला।

माओवादी जनयुद्ध शुरु हुँदा धेरैले हल्का रुपमा लिएका थिए। राजनीतिक भविष्यवाणी गर्ने मै हुँ भन्ने पण्डितहरु नै फेल खाए। ५० को दशकको अन्तसम्म आइ पुग्दा देशभर फैलिएको माओवादी जनयुद्ध इतिहास बदल्ने दिशातर्फ उन्मुख भइ सकेको थियो। ६० को दशकमा आइपुग्दा त्यही माओवादी जनयुद्धले नेपालको इतिहासलाई नयाँ मोडमा पुर्याई दियो । १२ बुँदे समझदारी हुँदै देशलाई गणतन्त्रसम्म ल्याइ पुर्याउदा मुख्य खेलाडी प्रचण्ड नै थिए। यसमा देशभित्र र विदेशका शक्तिहरुको पनि संलग्नता भनिएको छ। भित्री पात्र र शक्ति केन्द्र जो भएपनि यसका मुख्य स्ट्राइकर प्रचण्ड नै थिए।

‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहोदर भाई गिरिजाप्रसाद कोइरालालाई समेत गणतन्त्रमा सहमत गराउन प्रचण्ड सफल भएका थिए। गणतन्त्रको बहावलाई रोक्न काँग्रेसभित्र ठूलो तप्का लागेको थियो। काँग्रेसका लागि त्यो आत्मघाती निर्णय थियो भनेर खुमबहादुर खड्का जस्ता काँग्रेसका हस्तीहरुले भनेका थिए। गणतन्त्रलाई वैधानिक रुपमा पारित गराउने पहिलो संविधानसभा चुनाव रोक्नुहोस् भन्ने पुगेकी सुजाता कोइराला समेत पिता गिरिजाप्रसाद कोइरालाको असहमतिको बोली सुनेर फर्किएको इतिहास साक्षी छ। त्यति बेला नेपाली राजनीतिका सर्वाधिक शक्तिशाली र विदेशी नेताहरुले समेत नायक भनेका गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले विश्वस्त तुल्याउन सकेका थिए। प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओवादीले पहिलो संविधानसभामा सानदार जीत निकालेपछि राष्ट्रपतिका आकांक्षी गिरिजाप्रसाद कोइरालालाई समेत अटेर गरेर प्रचण्ड अगाडि बढे। कोइरालालाई राष्ट्रपति बन्न नदिनु राजनीतिक जीवनको एउटा गल्ती भन्दै प्रचण्डले स्वीकार गरेका छन्।

सेनापति प्रकरणपछि धक्का व्यहोरेका प्रचण्डले त्यसपछि आफ्ना निकटस्थ र आत्मीय मित्रहरु गुमाउँदै गए। मोहन वैद्य किरण, रामबहादुर थापा बादल देखि नेत्रविक्रम चन्द विप्लव सम्मले पार्टी छाडे। दोस्रो संविधानसभामा तेस्रो स्थानमा झर्नु पर्यो । तैपनि, प्रचण्डको राजनीतिक शक्तिमा खासै तलमाथि भएन। राजनीतिकै केन्द्रबिन्दुमा रहे। उनको नीति र रणनीतिको चुम्बीय आकर्षण र विकर्षणको चालमा नेपाली राजनीतिक चलिरह्यो। दोस्रो संविधानसभाको चुनावपछि सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सघाउने देखि आन्तरिक र बाह्य दबाबका बाजुद संविधान घोषणा गर्ने सम्मको निर्णायक प्रचण्ड नै भए । पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्दा प्रचण्ड नै मुख्य सहयोगी बने। ओली सरकार ढालेर प्रधानमन्त्री बनेका प्रचण्डले पछिल्लो संसदको चुनाव अगाडि शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरे। नेपाली काँग्रेसको साथ लिएर तत्कालिन नेकपा एमालेलाई गलाउन थाले।

पार्टी एकीकरणपछि बनेको नेकपामा पार्टी बैठक डाक्न नपाउने कतिपय अधिकार विहिन पारिदा समेत प्रचण्ड लामो समय मौन बसि रहे। उनले विस्तारै ओलीसँग भएको भित्री सहमतिको पाटो खुलाएर अप्ठ्यारोमा पारे। कार्यकारी अधिकार पाउने निश्चित भएपछि उनले आधा आधार सरकार संचालनको सहमति इतिहास भइ सकेको भनिदिए । त्यस अघि उनले विभिन्न जिल्ला पुगेर आफू पुष्पलाल समूहबाट आएको भने। तत्कालिन नेकपा एमालेका कतिपय नेता कार्यकर्ताले प्रचण्डको नेतृत्व मान्न सहज नठानि रहेको अवस्थाबीच प्रचण्डले एमालेको बीऊ पुष्पलाल समूहमा नै आवद्ध भएर राजनीतियात्रा आरम्भ गरेको भन्नु अर्थपूर्ण छ। उनले आफूलाई मदन भण्डारीसँग समेत तुलना गरि सकेका छन्। अब नेकपा भित्र आफू नेता हुँ र तत्कालिन एमाले र माओवादी दुवै पक्षको सामूहिक नेता हुँ भन्ने सन्देश दिइ रहेका छन्।

नेकपाको कार्यकारी अधिकार सहितको अध्यक्ष बनिसकेका प्रचण्डले अब चाल्ने कदमबारे उत्तिकै आश्चर्यजनक र जोखिमपूर्ण हुने घटनाक्रमले देखाउँदै लगेको छ। एकल नेतृत्वको हकदारका रुपमा आफूलाई प्रस्तुत गर्दै लगेका उनले नेकपाभित्र महाधिवेशनले टुंगो लगाउने गरी छाडिएको जनताको बहुदलीय जनवाद वा अर्को कुनै वादबारे समेत आश्चर्यजनक लचकता देखाउन सक्नेछन्। यस अवस्थामा पनि प्रचण्ड राजनीतिको केन्द्र भन्दा बाहिर हुनेछैनन्। किन भने प्रचण्डले नेपालको इतिहासलाई नै नयाँ मोड दिइ सकेका छन्। गणतन्त्र देखि संघीय राज्य प्रणाली उनकै एजेन्डा हो जसलाई नेपालको संविधानमा उल्लेख गरी राज्य संचालनको प्रणाली बनाइ सकिएको छ। विगतमा गणतन्त्रमा जान नमानेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि गणतन्त्रको एजेन्डामा आइ पुगेको इतिहास साक्षी छ। संघीयताप्रति पनि ओलीको असहमति छँदै थियो। आफ्नो राजनीतिक एजेन्डालाई लागू गराउन प्रचण्डले रणनीतिक चार्तुयता देखाउँदै गए। ओली भन्दा दोस्रो वरियतामा नेकपाभित्र रहेपनि प्रचण्डको राजनीतिक एजेन्डामा ओली मात्र होइनन् सिंगो देश चलि रहेको छ।

अबको प्रचण्डको रणनीति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापित गर्ने हो। यसको संकेत उनले गरि सकेका छन्। देशमा राजनीतिक स्थिरताका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने पक्षमा नेकपाभित्र प्रचण्ड बाहेक अन्य नेताहरु पनि सहमत छन्। यो प्रणालीका लागि संविधान संशोधन जरुरी पर्छ। आउँदो चुनावलाई दृष्टिगत गरी त्यसतर्फ जान प्रचण्डले कदम चाल्ने सम्भावना उत्तिकै छ । विरोध र अवरोधमा नेपाली काँग्रेस आउन सक्छ। प्रचण्डले राजनीतिक अस्त्रका रुपमा फाल्नसक्ने प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपालको राजनीतिमा केही यताउताको अवस्था समेत गराउन सक्छ। एकपछि अर्को जोखिमपूर्ण कदम चाल्दै देशलाई आफ्नै राजनीतिक एजेन्डामा दौडाइ रहेका प्रचण्डको आगामी कदम राजनीतिशास्त्रका विद्यार्थीका लागि चाखलाग्दो हुनेमा कुनै दुविधा छैन।

राष्ट्रपति, प्रधानमन्त्री या सभामुख जस्ता शक्तिशाली पदमा जोसुकै होस् डेढ दशकयता प्रचण्ड नेपालको राजनीतिको केन्द्रबिन्दुमा छन्। जबसम्म देशमा गणतन्त्र र संघीयता रहन्छ तबसम्म यसको जस अपजसको भारी उनैले बोक्छन्। गणतन्त्र र संघीयताको प्रणालीमा देशलाई दौडिइ रहँदा प्रचण्डले नयाँ नयाँ राजनीतिक अस्त्र फालेर आफूलाई केन्द्रबिन्दुमा स्थापित गरेरै छाडेका छन् । बन्दुकबाट ब्यालेटको राजनीतिमा आउँदा असफल हुन लाग्दा रणनतिक चार्तुयता देखाएर जोगिएनन् मात्र बहुमत प्राप्त दलको अध्यक्ष बन्न सफल भए।

Loading...

प्रतिकृया लेख्नुहोस्: