राजनीति छाडेर कृषिमा लागेका पूर्वमन्त्री भन्छन्- ‘किसान भएरै मर्छु’ - Nepal Talk
आषाढ़ १८ गते, २०७७

राजनीति छाडेर कृषिमा लागेका पूर्वमन्त्री भन्छन्- ‘किसान भएरै मर्छु’

पटक हेरिएको

दाङ — विद्यार्थी कालबाट सुरु भएको लोकेन्द्र विष्ट मगरको राजनीति चार दशक चल्यो । पार्टीको उच्च तहसम्म पुगे, सांसद, मन्त्री भए र अन्तमा स्वैच्छिक अवकाश लिए । चार वर्षयता उनी राजनीतिको मूलधारबाट टाढा छन् । कुनै बेला बन्दुक बोक्न रहर गर्ने उनी कुटो कोदालोमा रमाएका छन । संसदमा समेत पेस्तोल बोकेर पसेको भनेर आलोचित उनलाई अहिले हतियार मोह छैन । ५६ वर्षीय विष्ट हिजोआज खेतबारीमा भेटिन्छन् ।

‘मेरो जीवनको दोस्रो अध्याय सुरु भएको छ । अब मैले राजनीतिबाट अवकाश पाइसकें,’ उनले भने, ‘अब म जनताको स्थानमा छु । जनताकै साथमा छु ।’ उनले राजनीतिबाट अवकाश लिनुका केही कारण छन । जसलाई उनले लिपिबद्ध गरेका छन् । ‘पहिलो कुरा राजनीति आवधिक हुन्छ, आजीवन हुँदैन । दोस्रो निःशुल्क हुन्छ, निःस्वार्थ हुन्छ,’ उनले भने, ‘तर राजनीति जटिल भयो, गर्नेले नै नबुझ्ने खालको । महँगो भयो, हुँदा खानेले गर्नै नसक्ने खालको । फोहोरी भयो, घूसखोरी र भ्रष्टाचारले डुबायो ।’ राजनीति आफ्नै नेता कार्यकर्ताको आड मारेर लाभ लिने प्रवृत्ति उन्मुख भएको उनको अनुभव छ ।

शान्ति प्रक्रियामा आउँदा दशक लामो द्वन्द्वका उपलब्धि रक्षा गर्ने, क्रान्तिका बाँकी काम सदन र सरकारबाट पूरा गर्ने र नभए फेरि फर्केर क्रान्ति गर्ने सर्तमा युद्धलाई विश्राम दिएको विष्टले बताए । ‘तर यी काम केही पनि भएनन् । समानुपातिक र समावेशी प्रावधान पछि पारिएका वर्गका लागि थियो तर नेताका आसेपासेहरूका लागि भयो,’ उनले भने, ‘नेताहरू उल्टै पुरानो व्यवस्थामा विलय भए । चिन्तन र व्यवहार पुरानै हुन थाले ।’

यी सबै असन्तुष्टि उनले तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष राखे तर केही पनि सुनुवाइ भएन । ‘क्रान्तिमा गद्दारी भयो, जनतालाई धोका भयो भनेर मैले बहस गरेँ तर नेतृत्व यता फर्कन तयार भएन,’ उनले भने, ‘म पनि उतैको दलदलमा फँसेर बस्न सकिनँ । अनि पार्टी छोड्नुको विकल्प रहेन ।’ उनले अन्त्यमा दाहाललाई भेट्‍न पनि पाउन छाडे । दाहालले फरक मतलाई पेलेरै बेवास्ता गर्न थालेको उनको गुनासो छ । ‘त्यसपछि विरक्त लाग्यो अनि सबै तुस पोखेर राजनीतिको झोला बिसाएँ,’ उनी भन्छन् ।

२०७२ साउन ३२ को पार्टी बैठकमा विष्ट बेसरी कुर्लिए । सबै असन्तुष्टि पोखे, तर पनि केही सुनुवाइ भएन । त्यसपछि उनले त्यहीँ घोषणा गरे, ‘म अब भोलिदेखि यो पार्टीको सदस्य पनि हुँदिनँ र राजनीतिमा पनि रहन्नँ ।’ नभन्दै भोलिपल्ट दाहाललाई राजीनामा बुझाएर उनी पार्टी राजनीतिबाट अलग भए ।

त्यसयता हालसम्म उनको शीर्ष नेताहरूसँग सम्पर्क भएको छैन । नेता आवश्यकताले धुरी र बलेन्द्रीमा पुग्नुपर्ने उनको बुझाइ छ । ‘म अहिले धर्तीमा छु । नेताले बेलाबेला धर्ती टेक्नुपर्छ । यहाँ माथि पुगेपछि तल नझर्ने प्रवृत्ति छ,’ उनले भने, ‘धेरैलाई सरकार र सत्तामा पुगेको मानिस अजिबको प्राणी हो भन्ने लाग्छ । सामान्य वेशभूषामा जनताको माझमा आउन हुँदैन भन्ने ठान्छन ।’

उनलाई पनि धेरैले सकियो भन्ने ठाने तर उनलाई त्यस्तो लाग्दैन । रुकुमको मुरुमा जन्मिएका विष्ट देशमा सशस्त्र युद्ध हुनुअघि नै भूमिगत भइसकेका थिए । सुरुमै जेल परे । अहिलेसम्म चारपटक गरी १० वर्ष जेल बसिसकेका छन । ‘पार्टीका लागि जीवन नै बाजी मारेर काम गरियो । मृत्युसँग डराइएन, बरु उल्टै मृत्यु डरायो,’ उनी भन्छन्, ‘न पार्टीको शीर झुकाउने काम गरियो, न आफ्नो । सानदारसँग लडियो, अहिले जीवनको दोस्रो अध्यायमा छु । अहिले पनि सानदारसँगै बाँचेको छु ।’

उनी दुईपटक सदन र दुईपटक सरकारमा बसे । एकपटक केही दिनका लागि स्वास्थ्य मन्त्री भए, अर्कोपटक पर्यटन मन्त्री । पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा बसे । पार्टीमा पनि नेताहरूले मागी खाने होइन भन्ने विचार राखे । केही न केही इलम गर्नुपर्छ भने तर केही नलागेपछि उनी एक्लै निस्किएर कृषि कर्ममा लागे । २०७२ मा पार्टी छाडेपछि ड्रागन फ्रुटको खेती गर्नलाई जग्गा खोज्न दाङ आए । ६ महिना बस्दा पनि जग्गा पाएनन् । त्यसपछि निराश भएर काठमाडौंतिरै फर्के । फर्कँदै गर्दा कालो धानको खेती गर्ने सोच आयो । अनि काठमाडौ गएर जग्गाको खोजी गरे । काभ्रेको भकुन्डेबेंसीमा ५३ रोपनी जग्गा पाए । सात लाख लगानी गरेर खेती गरे । १३ लाखको धान उत्पादन भयो । ६ लाख नाफा भयो । अर्को वर्ष काठमाडौंको साँखुमा खेती गरे, अन्तमा दुई वर्षअघि दाङ झरे ।

तुलसीपुर–१८ बिजौरीमा ८४ कट्ठाजग्गा भाडामा लिएर धान खेती गरे । त्यसपछि गत वर्षदेखि ६६ कट्ठा जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती थाले । रातो र सेतो सात हजार ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । अब साउनसम्म फल दिने उनको अपेक्षा छ । अहिले जिल्लावासीलाई भियतनामबाट मगाएर फल चखाइरहेका छन् । ‘फलको स्वाद थाहा होस् भनेर केही ल्याएर चखाएको छु । साउनदेखि यहीँबाट बेच्न सुरु हुन्छ,’ उनी भन्छन्, ‘फल र बिरुवा बिक्री गर्ने तयारी भइरहेको छ ।’ फल प्रतिकेजी ७ सय ५० रुपैयाँमा बिक्री हुन्छ ।

ड्रागन फ्रुटको नेपालमा सफल उत्पादन भइसकेको छ । यो सिउँडी प्रजातिको फल हो । अहिले पनि ठूलाठूला होटेलमा डेजर्टका रूपमा प्रयोग भइरहेको छ । यसबाट जाम, वाइन, चकलेट, बिस्कुट, पाउडर र फेसवास लगायत बनाउन सकिने विष्ट बताउँछन् । यो फल जेठ असारदेखि मंसिरसम्म पाँचदेखि सात पटकसम्म फल्ने गर्छ । यसको फूल रातिमा फुल्ने भएकाले यसलाई रातकी रानी पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर रोप्न सकिन्छ । यसको बिरुवा बलियो नहुने भएकाले अड्याउन पोल ठड्याइन्छ । यो तराईदेखि १ हजार ५ सय मिटरको उचाइसम्म खेती गर्न सकिन्छ । अहिले यो फल ९५ प्रतिशत विदेशबाटै आउने गरेको छ ।
तीन जनाको लगानीमा खेती गरिएको बिष्टले बताए । १५ वर्षमा प्रतिव्यक्ति चार करोड फाइदा गरेर बाँड्‌ने लक्ष्य उनले सुनाए ।

कृषिमार्फत पर्यटन र उद्योगको विकास गर्ने सोचका साथ खेतीपातीमा लागेको बिष्टले बताए । ‘वैदेशिक रोजगारीमा जानेलाई देशमै केही सम्भावना छ भन्ने देखाउनु छ । चार हजार जनाभन्दा बढीले अहिले पनि अप्रत्यक्ष रोजगारी पाएका छन,’ उनले भने, ‘राजनीतिमा लागेको मान्छेले इलम नगरी पैंसा कमाउने प्रवृत्ति बढ्यो । म जनताकै साथमा रहेर इलम गरेरजीविका चलाउन चाहन्छु ।’

उनले बिजौरीमै घरबास किनेका थिए । अहिले त्यो पनि बेचिदिए । अहिले पूरै समय खेतीपाती भएकै ठाउँमा बस्छन । एक छोरी थिइन्, उनको विवाह भइसकेको छ । श्रीमती गंगा बुढा पनि पूर्णकालीन खेतीपातीमै सघाइरहेकी छन् । अब उनलाई पनि राजनीतिमा फर्कने मन छैन । उनलाई नेत्रविक्रम चन्द, मोहन वैद्य र गोपाल कराँती लगायतका विभिन्न नेताहरूले आफ्नो समूहमा आउन अनुरोध गरे, तर उनलाई कसैको भर लागेन । ‘अब म कुनै पनि पार्टीमा लाग्दिनँ । किसान भएरै मर्छु,’ उनी भन्छन्, ‘राजनीतिबाट जनताका आकांक्षा पूरा हुन सकेनन् । पार्टीमा योगदान गरेकालाई पाखा लगाएर पैंसा हुनेलाई अवसर दिने प्रवृत्ति आयो ।’

नेताहरूमा सामन्ती सोच बढदै गएको उनको बुझाइ छ । क्रान्ति विघटन भइसकेपछि अब केही दशक क्रान्ति हुनसक्नेमा उनलाई विश्वास छैन । ‘चन्दको ठूलै डंका छ तर तयारी खासै छैन । उहाँबाट क्रान्ति हुने देखिदैन । उहाँमा वामपन्थी बच्कनापन देखिन्छ,’ उनले भने, ‘जुन कुरा गरेर प्रचण्ड र मोहन वैद्यबाट छुट्टिनुभयो, त्यसअनुसार काम हुन सकेन । अरू कोही नेताहरूले पनि केही गर्लान जस्तो लाग्दैन ।’

Loading...

प्रतिकृया लेख्नुहोस्: