चैत्र २५ गते, २०७६

सुरुङ्ग खनेर सुर्खेत जेलब्रेक :जीवनको एक महत्वपूर्ण परिघटना

पटक हेरिएको

देविराम देवकोटा 

माघ २ गते । मेरो जीवनमा घटेको एक महत्वपूर्ण घटना हो, सुर्खेत जेलब्रेक । १८ बर्षअघि आजकै दिन अर्थात् २०५८ साल माघ २ गते म सहित १५ जना तत्कालीन माओवादी राजनैतिक आश्थाका बन्दीहरु र १५ जना गैर राजनैतिक आश्थाका बन्दीहरुले सुर्खेतको बिरेन्द्रनगरमा रहेको जेल ब्रेक गरेका थियौं । यो समय निकै तुफानी थियो । तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्ध पेचिलो बनेको थियो । माओवादीले निर्माण गरेको जनमुक्ति सेनाले तत्कालीन शाही नेपाली सेनामाथि आक्रमण गर्न सुरु गरेको थियो । त्यही समयमा हामीले सुरुङ्ग खनेर सुर्खेत जेलब्रेक गरेका थियौं ।

हाम्रो गिरफतारी

म लगायत सुर्खेतका गणेश भण्डारी,अछामका अक्कल रावल, कैलालीका कृष्ण बडुवाल, कालीकोटका लोकजंग शाही २०५६ साल फागुन १८ गते सुर्खेतको खजुराबाट गिरफ्तार भयौं । अक्कल र कृष्ण सुर्खेत शिक्षा क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँहरु खजुरामा कोठा लिएर बस्नुहुन्थ्यो । म र लोकजंग शाही सुर्खेत जिल्लाको बिद्यार्थी सम्मेलनमा भाग लिन आएका बेला साँझपख उहाँहरुकै कोठामा बास बस्न पुग्यौं । हामीहरु दैलेखमा संगठनको क्षेत्रिय भेला सकेर आएका थियौं । गणेश भण्डारी सर सल्लाहा गर्न अक्कल र कृष्ण बस्ने कोठामा आउनु भएको थियो । म र लोकजंग भर्खर कोठामा पुगरे उहाँहरुसंग चिनापर्ची गर्दै थियौं । त्यो बेला रातीको पौने ९ बजेको थियो । कृष्ण बडुवाल खाना पकाउँदै हुनुहुन्थ्यो । त्यहीबेला २र३ जना प्रहरीहरु हामी बसेको कोठामा पेस्तोल ताक्दै पसे । हामीलाई खाना खान नदिएरै प्रहरीले गिरफ्तार गर्यो । बाहिर प्रहरीको ठूलो संख्या थियो । हामीलाई प्रहरीले हातमा हत्कडी लगाउँदै भ्यानमा कोच्यो र जिल्ला प्रहरी कार्यालयमा लग्यो । बेस्मारी कुट्यो । २४ दिनपछि हामीलाई कारागार पठाईयो । त्यसअघि कारागारभित्र सुर्खेतका प्रताप पौडेल र गोपाल शर्मा मात्र राजनैतिक आश्थाका बन्दी रहेछन् ।

२०५७ सालको बिभिन्न मितिमा बिद्यार्थी नेताहरु झकबहादुर मल्ल,बिन्दमान बिष्ट,रामबहादुर रसाईली,बिष्णुप्रसाद चौधरी,दलबहादुर घर्तीमगर९विकास गुरुड, कलाकार पुष्प चौधरी, सुर्खेत पश्चिमका नवराज खड्का, रबिन्द्र बयक, उपेन्द्र बिक लगायत गिरफ्तार हुनुभयो । प्रहरी प्रशासनले डोल्पाका लोकबहादुर चलाउने बबरस्टारलाई जाजरकोटबाट गिरफ्तार गरि सुर्खेत कारागार पठायो । हाम्रो संख्या ठुलो हुन पुग्यो । प्रहरी प्रशासनले जेलभित्र आन्दोलनको नेतृत्व गरेको भन्दै प्रताप पौडेल र गणेश भण्डारीलाई सुर्खेत कारागारबाट भैरहवा सरुवा गर्यो । गणेशलाई बिभिन्न कारागार हुँदै प्रशासनले फेरि सुर्खेत कारागारमै ल्यायो भने प्रतापलाई पाल्पा, काठमाडौं हुँदै ललितपुरको नख्खु कारागार पठायो ।

म लगायत ५ जनालाई एकदिन प्रहरी प्रशासनले कारागारबाट सुर्खेत जिल्ला अदालतमा ल्यायो । हाम्रो मुद्दा पेशीमा थियो । हामीलाई राज्य बिरुद्धको मुद्दा लगाईएको थियो । त्यही समयमा अक्कल रावल हातमा लगाईएको हत्कडी फुत्काएर अदालतको प्राङ्गढबाटै भाग्नुभयो । हामी अन्य जेल रहन बाध्य भयौं ।

जेलब्रेकको योजना

पटक पटक गरि बिभिन्न ठाउँबाट गिरफ्तार भएर पुर्पक्षका लागि बन्दी बनाईएका १५ जना हामी माओवादी राजनैतिक आश्थाका बन्दीहरु जेलभित्र संगठित भयौ । प्रायः हामी तत्कालीन माओवादीको विद्यार्थी क्षेत्रमा काम गर्ने युवा थियौं । हाम्रो उमेर समूह १५ देखि २२ बर्षभन्दा माथि थिएन । विष्णु चौधरीको २८ र डोल्पाका लोकबहादुर चलाउने ९बबर० भने ५६ बर्षको हुनुहुन्थ्यो । हाम्रो खाने बस्नेदेखि हरेक कामहरु समूहमै हुन्थ्यो । जेल भित्र पार्टीगत संरचना निमार्ण भयोे । मिटिङ बस्थ्यो । छलफल हुन्थ्यो । बिभिन्न राजनैतिक किताबहरु पढ्थ्यौं । हाम्रो जेलभित्र कम्युन थियो । यो सबै योजनाको नेतृत्व झकबहादुर मल्ल सुदिपले गर्नु भएको थियो । उहाँ नै जेलभित्रको हाम्रो कमाण्डर बन्नुभयो ।

जेल जीवन अत्यास लाग्दो हुँदो रहेछ । जेलभित्रको कम्पाउन्डबाट खुला आकाश बाहेक बाह्य बाताबरण केही पनि देखिदैनथ्यो ।अग्ला पर्खालले हाम्रो स्वतन्त्रता,इच्छा चाहाना र बिचार कैद गरेको थियो । बाह्य बाताबरण हेर्न हामीले बिरामी भएको बाहाना बनाउनु पर्ने हुन्थ्यो या त हामीले जेलबाट भाग्नु बाहेक अर्को विकल्प थिएन । हामी खुला बाताबरणमा रमाउन चाहान्थ्यौ । स्वतन्त्र हुन चाहान्थ्यौं । हामीले सुर्खेत गढीको डाँडालाई आश्थाको धरोहर बनाएका थियौं । पर्खालभित्रको एक कुनाबाट त्यही गढीको डाँडा बाहेक अरु केही देखिन्नथ्यो । हामी त्यही डाँडालाई हेर्दै बाह्य वातावरणको अनुभव गर्ने गथ्र्यौ ।

हामी जेलभित्र अनशन बस्यौं । आन्दोलन गर्यौं । कतिपय कैदीबन्दीहरुलाई कुट्यौं । कुटाइ खायौं । पुलिस प्रशासनसंग मुडभेड गर्यौं । हाम्रा कतिपय मागहरु पुरा भए । हाम्रो आन्दोलनले पुस्तकालय स्थापना भयो । सबै खाले पत्रपत्रिका पढ्न पाइने भयो । टेलिभिजन हेर्न, रेडियो सुन्न, क्यारमबोर्ड, टेबलटेनिस, भलिबल खेल्न पाइने बाताबरण बन्यो । त्यहाँभित्र सिपमुलक कामहरु सिकाउने वातावरण बन्यो । कतिपयले टोपी,स्वीटर बनाउने काम सिके । बिरामी भए उपचार गर्ने बाताबरण बन्यो । यी गतिबिधिले हामीलाई जेलभित्र स्थापित गर्यो । हामीले जेलमा गरेको संघर्षबाट अन्य कैदीबन्दीको जीवन पनि सहज बन्यो । उनीहरुका लागि हामी आदर्श बन्यौं ।

यी गतिबिधी जे जती गरिएपनि हाम्रो एउटै उदेश्य कारागारबाट भाग्ने थियो । कहिलेकाही दिउँसै भाग्ने योजना बन्थ्यो । कहिलेकाही अन्य विकल्पहरुको खोजी हुन्थ्यो । तर हरेक योजनाहरु असफल भइरहन्थे । कमाण्डरहरुका पनि कमाण्डर झकबहादुर मल्ल बिभिन्न योजनाहरु बनाउनु हुन्थ्यो । हामीहरु उहाँको योजना कार्यान्वयन गर्न तयार हुन्थ्यौं तर असफल हुन्थ्यो योजना । उहाँले एकदिन हामी सबैलाई मिटिङ बसौं भन्दै बोलाउनुभयो र सुरुङ्ग खनेर जेल तोड्ने योजना सुनाउनुभयो । कतिपयलाई यो योजना असंभव र अपत्यारीलो जस्तो लाग्यो । उहाँले विश्वासका साथ भन्नुभयो, ‘यो योजना सफल पारेरै छोड्ने हो ।’ तर यो त्यति सजिलो काम थिएन । सुरुङ्ग कसरी खन्ने, केले सुरुङ्ग खन्ने रु माटो कहाँ राख्ने रु सुरुङ्ग कहाँबाट खन्ने रु के कारागारमा रहेका अन्य बन्दीले साथ देलान रु यी प्रश्नहरु एक एक गरि उब्जीए सबैको मनमा । उहाँले खाका सहित योजना तयार पार्नुभयो ।

२०५८ साल कार्तिक २३ गते हामीले सुरुङ्ग खन्ने योजनाको प्रारम्भ गर्यौं । योजना अनुसार रामबहादुर रसाईली र गोपाल शर्मा सुरुङ्ग खन्ने कमाण्डर बने । हामी केहीले जेलको मूलगेट र प्रहरीको सेन्ट्री पोष्टको दिनभर सेन्ट्री गर्नुपर्ने भयो । जेलभित्र हामी लगायत जम्माजम्मी ५० जना थियौं । हामी प्रत्येकले एक जना अर्को गैर आश्थाको कैदी बन्दीलाई कन्भेन्स गर्ने र उसलाई साथी बनाउनु पर्ने भयो । त्यही गर्यौं । ५० मध्ये २० जना बाहेक हामी सबै सुरुङ्ग खनेर भाग्ने योजनामा प्रतिबद्ध भयौं ।

हाम्रो नेता मल्लको योजना अनुसार एकजना छारे रोगी सुत्ने कोठाबाट सुरुङ्ग खन्ने, टेबलटेनिस खेल्ले बोर्ड बनाउँदा लुकाईएको फलामे रड आगोमा पोलेर तिखो बनाउने र त्यसैले सुरुङ्ग खन्ने, माटो सिलिङमा राख्ने, केही माटो सिमेन्टमाथि खटिया बनाउन प्रयोग गर्ने, कतिपय माटो फोहर फाल्ने निहुँमा प्रहरीको आँखा छल्दै करेसाबारीमा लगेर फाल्ने, करेशाबारी बनाउने र माटोको व्यवस्थापन गर्ने थियो । त्यही योजना अनुसार ती छारे रोगीलाई पनि खुला आकाशमा जान पाइने आशा जगाउँदै कन्भीन्स गरियो । उनी सुत्ने बेडबाटै सुरुङ्ग खन्ने योजना बनाउँदा उनी पनि खुशी भए । उनी विरामी भएका बेलामा बाहेक अन्य समयमा मिलनसार थिए । उनी दिनभर त्यही सुतीरहन्थे । राती सुरुङ्ग खन्ने बेला उनको बेड कोठाको एक छेऊतिर सारिन्थ्यो । जब दिन हुन्थ्यो तब सुरुङ्गको प्वाल सेप्टीट्याड्कीले ढाक्दै त्यसमाथि उनको बेड सारिन्थ्यो र उनलाई सुत्न लगाईन्थ्यो । सुरुङ्ग खन्ने कमाण्डरको निर्देशन अनुसार अन्यले पनि सुरुङ्ग खन्न सहयोग गर्नुपथ्र्यो । माटोको व्यवस्थापन गर्न पनि अन्यले साथ दिनुपथ्र्यो । सुरुङ्ग खन्ने काममा गैर आश्थाका बन्दीहरु बिशेष रुपमा खटिन्थे । राजनैतिक आश्थाका बन्दीहरुको काम सेन्ट्रि गर्ने, बाह्य बाताबरण र प्रशासनको अबश्था जानकारी गर्ने हुन्थ्यो ।

हामीले सुरुङ्ग खन्दा निस्किने माटो प्लाष्टीकको झोलामा प्याक गर्दै सिलिङमा राख्थ्यौ । सिलिङको एक कुनाबाट जम्मा गदै माटो सिलिङको अर्को कुनासम्म पुग्नै लाग्दा सुरुङ्ग पनि करिब करिब आधा भइसकेको थियो । एकरातको कुरा हो केही साथीहरु सुरुङ्ग खन्दै माटो सिलिङमा राख्दै थिए । त्यही समयमा सिलिङको फलामको तारले बाँधिएको एउटा बिम पटपट गर्दै लत्रक्कै लत्क्यो । माथिबाट माटो खस्न थाल्यो । केहीले माओवादीले आक्रमण गरे भन्दै कोलाहल मच्चाउन थाले । हामी भने कन्भेन्स गर्न थाल्यौं । हामी ५० जना मध्ये ३० जनालाई मात्र थाहा भएको योजना अब सबैले थाहा पाए । केहीले प्रहरी प्रशासनलाई जानकारी दिईदिने भन्दै कराए । केहीले धम्की दिन थाले । तर हामी ३० जनाको अगाडी उनीहरुको केही चलेन । हामीले प्रहरीलाई जानकारी दिनेलाई मारेर मात्र मर्ने चुनौती दियौं । हाम्रो योजना बाहिर हाम्रा साथीहरुलाई थाहा भएको र यो योजना असफल भए उनीहरुको घरमा पनि असर पर्ने धम्कि दियौं र सबैलाई कन्भेन्स गर्न सफल भयौं । त्यसपछि हामी सबै मिलेर त्यो भूइँमा खसेको माटोको व्यवस्थापन गर्दै बिमलाई जस्ताको तस्तै बनायौं । हाम्रो असफल हुनै लागेको योजना बचाउन सफल भयौं । तर दिनप्रतिदिन प्रशासनले थाहा पाउने पो हो कि भन्ने डर भने लागिरह्यो । कतिपय माटोको खटिया बनायौं । कतिपय माटो प्रहरीको आँखा छल्दै करेशाबारीमा फ्याक्यौं ।

सुरुङ्गको लम्बाइ झण्डै ११ मिटर ९३२ फिट० पुग्यो । सुरुङ्ग खन्ने काम पुरा हुँनै लाग्दा माओवादी जनसेनाले २०५८ साल मंसीर ८ गते दाङमा पहिलो पटक तत्कालीन शाही सेनामाथि भिषण फौजी हमला गर्यो । त्यसको ११ गतेबाट देशमा संकटकाल लाग्यो । त्यसको असर हामीलाई पनि पर्यो । हामीले जुन आर्कबाट सुरुङ्गको अन्तिम प्वाल पार्न खोजीरहेका थियौं त्यही आर्कमा सेनाको अस्थाई पोष्ट बस्यो । त्यो पोष्टमा सेनाले दिनरात पहरा दिन्थ्यो । पानी परेमा सेनाको अस्थाइ पोष्टमा कोही बस्न नसक्ने स्थितिको साथीहरुले आँकलन गर्नुभयो । हामी पानी पर्ने दिनको प्रतिक्षामा बस्यौं । तर त्यो सुरुङ्गलाई भने कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु खडा भयो । संकटकालपछि प्रशासनका हाकिमहरु जेलको दिनप्रतिदिन निगरानी गर्न आउँथे । हामीले खनेको सुरुङ्ग माथिबाट मोटामोटा ज्यान भएका ३र४ जना मान्छेहरु ग्वामग्वाम हिड्दा हाम्रो सातो जान्थ्यो । जीउ थरथर काप्थ्यो । हामीलाइ सुरुङ्ग भासिन्छ कि भन्ने डर र चिन्ता हुन्थ्यो । तर हामी बाह्य रुपमा उनीहरुसंग तर्क र बिचारले बलियो बन्थ्यौं ।

जेलब्रेक

एकपछि अर्को गर्दै समय बित्दै गयो । मंसीरको दोस्रो साता सफल पार्ने हाम्रो योजना पौष महिना सकिदा पनि पुरा भएन । हामी निराश हुन थाल्यौं । झरी पर्ने मौसमको आशा भने गरिरह्यौ । २०५८ साल माघ २ गतेका दिन बिहानैदेखि आकाशमा धुम्म कालोनिलो बादल मडारियो । योे हाम्रा लागि खुशीको कुरा थियो । हामी दिनभर भाग्ने समयको प्रतिक्षामा रह्यौं । हामीले मध्यरातमा भाग्ने योजना बनायौं । खाना खायौं । झरी पर्न सुरु भयो । हामीलाई प्रहरी प्रशासनले गन्ती गर्दै कारागारभित्रको भवनमा कैद गर्यो । सुरुङ्ग खन्ने कमाण्डर र अन्य केही साथीहरुले राती १० बजेपछि सुरुङ्गको मुख खोल्न थाल्नुभयो । त्यो काम रातको १२ बजे सकियो । लगातार पानी परिरह्यो । त्यसपछि हामी भाग्न तयार भयौं । सुरुङ्गमा छिर्नै लाग्दा जेलको दाइ नाईके पूर्णबहादुरले लफडा पारे । उनले प्रहरी प्रशासनलाई भनिदिने भन्दै कराउन थाले । हामीले फकायौं । हामीसंग भएको पैसा, चामल, सिरक र डस्ना उपहार दियौं उनलाई । अन्यलाई पनि बिभिन्न सामानहरु दिदै हामी जेलब्रेक गर्ने अन्तिम चरणमा पुग्यौं । हामीले भागेको २ घण्टापछि मात्र माओवादीहरु भागे भनेर हल्ला गर्नु भनेर जेलमै रहने कैदीबन्दीहरुलाई भन्यौं । हामी रातको ठिक १ बजेर २५ मिनेटमा सुरुङ्गभित्र छिर्यौं । हामी ३० जनालाई सुरुङ्गभित्र छिरेर बाहिर निस्कन १० मिनेट मात्र लाग्यो । सुरुङ्गबाट निस्कँदै पर्खालमा लाम लागेर बस्यौ । सुरुङ्गबाट बाहिर निस्कने कमाण्डर रामबहादुरले कासन गर्ने बित्तिकै हामी सबै पानीमा रुच्दैभिज्दै दक्षिण हुँदै पश्चिमतिर दौडियौं । हामी दौडिएको १० मिनेटपछि त्यहाँभित्र रहेका कैदीबन्दीले हल्ला गरेछन् र प्रहरीले अन्धाधुन्ध फायर गर्न थाल्यो । हामी भने गोलीको प्रबाह नगरी सुरक्षित स्थानतर्फ लाग्यौं । बिहानको तीन बज्दा हामीले जेलको एक कुनाबाट देखिने गढीको डाँडा पार गरिसकेका थियौं । बिहानको ११ बज्दासम्म हामी निकै सुरक्षित ठाउँमा पुगिसकेका थियौं । आकाशमा हेलिकोप्टर हामीलाई खोजीरहेको थियो । रेडियोले आतंककारीहरुले जेलभित्र रहेका आफ्ना साथीहरुलाई बाहिरबाट आक्रमण गरि भगाएको समाचार प्रसारण गरिरहेको थियो । हामी जेलब्रेक गर्नेका नामहरु भट्याईरहेको थियो । हामी भोकतिर्खा, निद्रा नभनि समाचार सुन्दै खुला आकाशमा रमायौं ।

जेलब्रेक गरेको तीनदिनपछि मैले सुर्खेतको रझेनास्थित एक घरमा ‘समरका यात्रीहरु झुकेनन् जेलनेलमा, सुरुङ्ग खनी दिवाल फोडी निस्किए झरिमा’ भन्ने बोलको गीत रचना गरेँ । जेलब्रेकर तथा कलाकार पुष्प चौधरी ९विशाल०ले यो गीतमा स्वर र संगीत दिनुभयो । हामीलाई अभिनन्दन गर्दाका दिन उहाँले त्यही गीत गाउँनुभयो । पुष्प चौधरी विशाल र दलबहादुर घर्ती मगर हाम्रा असल योद्धा तथा कमाण्डरहरु अहिले हामी माझ हुनुहुन्न । श्रद्धासुमन उनै जेलब्रेकर शहीदहरुप्रति । यार्सा न्युज बाट

Loading...

प्रतिकृया लेख्नुहोस्: