मंसिर २ गते, २०७६

प्रदेश ५ : पर्यटक लोभ्याउने गन्तव्य

पटक हेरिएको

भैरहवा । प्रदेश नम्बर पाँच पर्यटनका लागि उपयुक्त गन्तव्य हो । प्रदेशभित्र रहेका पर्यटकिय क्षेत्रसम्म सडक विस्तार, पर्यटकीय क्षेत्रहरुको प्रवद्धनका लागि प्रचारप्रसार गर्न सके यो प्रदेशले पर्यटन क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न सक्ने आधार प्रशस्त छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी देखि ढोरपाटन शिकार आरक्षम सम्म छ । पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहन चौधरी भन्छन्, ‘हामीले लुम्बिनीलाई केन्द्रमा राखेर सबै पर्यटकीय स्थललाई जोड्न सक्यौं र विकास गर्यौ भने नागरिकको जीवनस्तर त उकासिन्छ नै प्रदेश समृद्ध बन्छ ।’

‘हामीले ठाउँ देख्यौं, त्यसलाई चिनेर पूर्वाधार विकास, प्रवद्र्धन र प्रचारप्रसार गर्न सकेनौं । एकीकृत रुपमा विकास गर्न नसक्दा प्रदेशका धेरै पर्यटकीय गन्तव्यमा पर्यटक पुग्न सकेका छैनन्,’ उनले भने ।’ उनकै भनाइलाई आधार मान्ने हो भने प्रदेश भित्रका धेरै गन्तव्य पूर्वाधार विकासबाट टाढा छन् । प्रचारप्रसार छैन । प्रवद्र्धन साँघुरिएको छ । प्रदेश ५ सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । तर बर्दिया राष्ट्रिय निकुञ्जको प्रबद्र्धनमा खासै चासो न्यून दिएको छ । हिन्दू धर्मावलम्बीको प्रमुख गन्तव्य मध्येको प्यूठानको स्वर्गद्वारीमा अझै राम्रो पूर्वाधार विकास हुन सकेको छैन । कच्ची र खाल्डाखुल्डी सडकले हिउँदमा केही पर्यटक पुगे पनि वर्खामा पर्यटक पुग्नै मुस्किल छ । ‘सडक सञ्जालकै कारण यहाँ चाहे जति पर्यटक आउन सकेका छैनन्, सडक मात्रै राम्रो बनाउने हो भने दोब्बर पर्यटक भित्रिन्छन्’, मन्दिरका पुजारी बाबुराम न्यौपानेले भने ।

प्रदेश ५ मा राजा शुद्धोधनको दरबार तिलौराकोट, बुद्ध मावली देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम, गोटीहवा, निग्लिहवा, जितगढी किल्ला, मणिमुकुन्द उद्यान, रिडीधाम, रिहार, गुरिल्ला पदमार्ग, धारापानी र पाल्पा दरबार, गौमुखी, जगदीशपुर ताल लगायत थुप्रै पवित्र धार्मिक तथा ऐतिहासिक सम्पदाहरुका साथै बर्दिया, बाँके राष्ट्रिय निकुञ्ज, जलजला संरक्षित क्षेत्र, ढोरपाटन शिकार आरक्ष जस्ता प्रकृतिका मनोरम दृश्यले सजिएका स्थल छन्। त्यस्तै, भैरहवस्थान, गुल्मीको रिडी, अर्घाखाँचीको सुपा देउराली, चरिंगे दह, भोटेदह, चमेरे गुफा, बराह मन्दिर लगायतका पर्यटकीय गन्तव्यहरु प्रशस्त छन् । यी गन्तव्यहरुलाई लुम्बिनीसंग जोडेर यहाँ आउने पर्यटकलाई ती स्थान र त्यहाँ पुग्ने पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउन सकमात्रै पर्यटन क्षेत्रले फड्को मार्ने व्यवसायी बताउँछन् ।

लुम्बिनी

लुम्बिनी, प्रदेश नम्बर ५ को मात्रै नभई मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । बुद्ध जन्मस्थल भएकाले यो धार्मिक पर्यटनसँगै शान्तिकामीको केन्द्र हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र उत्कृष्ट गन्तव्य मानिन्छ । गौतमबुद्धको बारेमा सबैकुरा थाहा पाउन यहाँ आए पछि सहजै सकिन्छ ।

लुम्बिनी सडक तथा हवाईमार्गबाट सहजै पुगिन्छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरु एक पटक जसरी पनि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका साथ यहाँ घुम्न आउने गर्दछन् । यहाँ वार्षिक १६ लाखको हाराहारी आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । सन् २०१९ को ७ महिनामा मात्रै ९ लाख बढी पर्यटक आएका छन् । प्रदेश अस्थायी राजधानी बुटवलबाट ४० किलोमिटर दूरीमा लुम्बिनी पर्छ ।

यहाँ पवित्र मायादेवी मन्दिर, विभिन्न गुम्बा र बुद्ध मूर्ति देख्न सकिन्छ । पवित्र उद्यान भित्र बनेको केन्द्रिय नहरमा बोटिङको व्यवस्था छ । यहाँ आकर्षक बगैँचा समेत छ । बाह्रैमास बलिरहने शान्ति दीपले यहाँको वातावरणलाई झनै मनमोहक बनाएको छ । सरकारले लुम्बिनीको एकीकृत विकास गर्ने योजना अघि सारेको छ । बृहत्तर लुम्बिनीको एकीकृत विकासबाटै पर्यटक भित्र्याउने योजना बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए ।

भैरहवा आएका उनले भने, ‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लुम्बिनीले ठूलो टेवा पु¥याउनेछ, लुम्बिनी गुरुयोजना पूरा गरी बौद्ध सर्किटको विकासमा सरकार कटिबद्ध छ ।’ लुम्बिनीको सामिप्यतामा गौतमबुद्ध विमानस्थल छ । यसले यात्रालाई अझै सहज बनाइदिएको छ । लुम्बिनी पुग्न चारैतर्फ फराकिला सडक छन् ।

रानीमहल

पाल्पामा रहेको रानीमहल नेपालको ताजमहल भनेर चिनिन्छ । सफा, स्वच्छ वातावरण र जताततै हरियालीले यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउँछ । कालीगण्डकी र बराङ्दी नदीको संगम स्थलमा अवस्थित रानीमहलमा चल्ने सिरसिरे हावाले झनै आनन्द थपिदिन्छ । यहाँ खास गरी आन्तरिक पर्यटकको आकर्षण छ । पूर्वाधारको अभावमा पर्यटक पुग्न सकेका छैनन् । यहाँ पुग्न केही किलोमिटर बाटो कच्ची छ ।

उक्त बाटो प्रदेश ५ सरकारले यसैवर्ष स्तरोन्नती गरी फराकिलो र पक्की बनाउन लागेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । ‘हामीले रानीमहल र लुम्बिनीलाई जोडेर विकास गर्न चाहन्छौं, लुम्बिनी आएका धेरै पर्यटक त्यहाँ पुग्ने वातावरण सिर्जना गरिन्छ’, उनले भने, ‘सिद्धबाबाको सडकमा सुरुङमार्ग वा अन्य वैकल्पिक अवधारण बनाएर रानीमहल सहज पुग्ने अवस्था गराउँछौं ।’

उनका अनुसार रानीमहलको विकासमा प्रदेश सरकार लागि परेको छ । चारैतिर पहाडले घेरिएको र नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहल भन्दा निकै राम्रो भएको दावी गरिन्छ । मानवनिर्मित रानीमहल प्रकृतिले सजिएको सुन्दर बगैँचासरी छ । यो ठाउँमा प्रेमको प्रतीक पनि मान्छि । यसको नजिकै रहेको श्रीनगरले पनि पर्यटकको मन तान्ने गरेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ«े्र, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज

पर्या पर्यटन तथा जंगल सफारीका लागि महत्वपूर्ण मानिने यो प्रदेश नम्बर ५ को सबैभन्दा ठूलो निकुञ्ज हो । बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आकर्षण मानिन्छ । यहाँ अघिल्लो आवमा मात्रै करिब ५० हजार पर्यटक पुगेका थिए । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्जमा पर्छ । यहाँ ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा हाल सम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरु भएको बताइन्छ । यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, जरायो, चित्तल, चितुवा, घोडगधा, लगुना, बाह्रसिङ्गे र जंगली हात्ती लगायत छन् । जलचरहरुमा घडियाल गोही, मगर गोही, सोंस र थरीथरीका माछा छन् ।

पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ । निकुञ्जमा चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरु छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीचबीचमा घाँसे मैदान समेत छ । ‘जंगली जनावर हेर्न, चराचुरुङ्गीको आवाजसँग रमाउने विदेशीहरु यहाँ बढी आउँछन्’, अध्यक्ष चौधरी भन्छन्, ‘सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई एक पटक घुमाउन सक्ने हो भने यो निकुञ्ज नेपालकै मुख्य गन्तव्य बन्न सक्छ ।’ पर्यटकको बसाई लम्ब्याउन यो निकुञ्ज निकै महत्वपूर्ण मान्छि । यहाँ आउने पर्यटक कम्तिमा २ दुई दिन यतै भुल्छन् । ‘हामीले पर्यटकको बसाईँ थोरै भयो भन्छौं तर यो निकुञ्जको प्रबद्र्धनमा खासै ध्यान दिएका छैनौं’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकले नयाँ कुरा हेर्न खोज्छ, त्यसै अनुसारको आतिथ्यता चाहिन्छ, त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका होटल उत्कृष्ट ठाउँ हुन् ।’

बाँके राष्ट्रिय निकुञ्ज

बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा इकोसिष्टम, वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरु, विभिन्न प्रकारका चरा, माछा तथा सरीसृप तगायतका उभयचरहरु छन् । यो निकुञ्ज पर्या पर्यटन तथा एक पर्यटकीय स्थल हो । पूर्वमा शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ तथा हात्तीको बासस्थान पर्याप्त छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत छ । यहाँ प्रचारप्रसारको अभावमा न्यून पर्यटक पुग्ने गरेका छन् । यदी सरकारले यहाँको प्रबद्र्धन गरी लुम्बिनी तथा अन्य निकुञ्ज र धार्मिक स्थलसँग जोडेर विकास गरेमा पर्यटक अधिक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।

स्वर्गद्वारी

धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी प्यूठान जिल्लामा पर्छ । यहाँ नपुग्ने हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुँदैन भन्ने विश्वास गरिन्छ । प्रदेश राजधानी बुटवलबाट करिब १८५ किलोमिटरको दूरी यात्रा पछि पुग्न सकिन्छ । यो महाभारत श्रृंखलाको करिव २१२२ मिटर अर्थात् ६९६० फिट अग्लो लेकमा पर्छ । परापूर्वक कालमा ऋषिमुनीहरुले यसै ठाउँमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्वारी राखिएको किम्बदन्ती छ । यो नेपालकै पवित्र धामहरु मध्येको एक धाम पर्छ । यहाँ रहेका मठमन्दिरमा पूजाआजा गरिन्छ ।

‘यहाँ आउने जो कोहीलाई स्वर्गद्वारी प्रभूका पाइला, गुफा र मठमन्दिरले मनै लोभ्याउँछ । यहाँबाट हिमश्रं्खला समेत देख्न सकिने भएकाले यो निकै महत्वपूर्ण क्षेत्र हो’, पुजारी न्यौपानेले भने । खास गरी यो धाम भारतीय पर्यटकको आकर्षक स्थल मानिन्छ । सडकमार्ग सहज भए यहाँ वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने बताइन्छ । यहाँ अहिले पनि आन्तरिक तथा बाह्य गरी करिब २ लाखको हाराहारीमा पर्यटक पुग्छन् । खास गरी वैशाख र कार्तिक पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ । यस्तै, प्यूठानमा प्रत्येक वर्ष माघ १ गते मेला लाग्ने अर्को धार्मिक स्थल गौमुखी पनि छ । यहाँ रहेको गुफामा नुहाउन धेरै पुग्छन् । यहाँ नुहाएर वर मागे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: