भाद्र ३१ गते, २०७६

रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

पटक हेरिएको

रौतहट । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ। स्थानीयको झडप नियन्त्रण बाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दा बढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो। झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ।

झडपका कारण कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको छ । त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कुडियाबजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रोतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ।

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो। यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो।

विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरु सँग छलफल गरेको थियो । मुस्लिम अगुवासँगको छलफल पछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास हानेको प्रहरीको भनाइ छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: