आश्विन २९ गते, २०७६

सहकारीको सेफ चोरेको आरोपमा दुई जना पक्राउ

पटक हेरिएको

काठमाडौं । प्रहरीले सहकारीबाट सेफ नै चोरेर लगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुई जना दाजुभाइ हुन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उपत्यकका विभिन्न ठाउँका सहकारी र वित्तिय संस्थाको ढोका फोडेर सेफसहित नगद चोरी गरेको घटना प्रहरीकहाँ आएपछि निगरानी बढाइएको थियो ।त्यसक्रममा २५ भदौमा पेप्सिकोला, टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर भएको चोरीमा दाजुभाइको संलग्नता देखिएको थापाले बताए ।

उनका अनुसार उक्त सहकारीबाट फलामको ८५ केजी बराबरको सेफ तथा त्यसमा रहेको ७ लाख ७९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो । उनीहरूले अन्य व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सरसामान पनि चोरी गरेको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट चोरी गरी लगेको फलामको सेफ र फोड्न प्रयोग हुने रड, नगद ५३ हजार लगायत पनि बरामद गरेको छ । चोर्दा उनीहरुले लगाएको कपडा पनि बरामद भएको जनाइएको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: