आश्विन २९ गते, २०७६

किन मनाइन्छ विश्वकर्मा पूजा ? यस्तो छ वास्तविकता

पटक हेरिएको

काठमाडौं । आज विश्वकर्मा पूजा विज्ञान तथा वास्तु दिवस । प्रत्येक वर्ष आश्विन संक्रान्तिमा संयन्त्रको सिर्जना निर्माण गरिने कलकारखानामा भगवान विश्वकर्माको पूजा गरी विश्वकर्मापूजा एवं विज्ञान तथा वास्तुदिवस मनाइन्छ।

यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो। यस अवसरमा फलामका औजार प्रयोग गरी सरसामग्री उत्पादन गर्ने र मर्मतसम्भार गरिने कार्यशाला तथा यान यन्त्रसाधनमा विश्वकर्मा बाबाको मूर्ति वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन छ।

समुद्र मन्थनबाट उत्पन्न १४ रत्नमध्येका विश्वकर्मालाई स्थापत्य उपवेद वा वास्तुशास्त्रका प्रणेता मानिन्छ। वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन्। तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक वर्ष कन्या राशिमा गएको पहिलो दिन वा असोज १ मा विश्वकर्मा पूजा मनाउने गरिएको छ ।

विश्वकर्मा संसारकै पहिला इन्जिनियर मानिन्छन् । तसर्थ यस दिन कलाकार, शिल्पकार, उद्योगी, व्यापारी र श्रमिक सबै मिली उद्योग, कलकारखाना तथा हरेक किसिमका उपकरण (मेसिन) को पूजा गरिन्छ। शास्त्रमा सत्ययुगको ‘स्वर्गलोक’, त्रेता युगको ‘लंका’, द्वापरयुगको ‘द्वारिका’ र कलियुगको ‘हस्तिनापुर’ लगायत विश्वकर्माद्वारा निर्माण गरिएको उल्लेख पाइन्छ।

कृष्ण–सुदामाको भेट हुनेबित्तिकै ‘सुदामापुरी’ रचना भएको थियो । यस पुरीको निर्माण पनि विश्वकर्माले नै गरेको मान्यता रहेको छ। समाज विकासको क्रममा प्रयोगमा आएका घरेलु उपकरण कुटो, कोदालो, हलो, ढिकी, जाँतो, गरगहना, यान, कैंचीलगायत र अहिलेका सम्पूर्ण वैज्ञानिक आविष्कारबाट उपलब्ध सामग्रीका प्रवर्तक विश्वकर्मा मानिन्छन् ।

विशेषगरी विश्वकर्माको मूर्ति वा फोटोमा चन्दन, अक्षता, फूल, तिल, जौआदिले पूजा गरी विभिन्न प्रकारका फलफुल चढाई नरिवल फुटाएर कलकारखानाका मुख्य उपकरणमा नरिवलको जल अर्पण गर्ने चलन रहेको छ।

यसो गरे वर्षभर कुनै बिघ्न–बाधा नआउने र शिल्पकारमा कलाकौशल बढ्दै जाने विश्वास रहेको छ। शास्त्रहरुमा उनले त्रिपुर,प्राचीन द्वारकालगायत महत्वपूर्ण दिव्य नगरको निर्माण गर्नुका साथै आसुरीवृत्तिमाथि विजयका निम्ति देवतालाई आवश्यक हातहतियार बनाएर लोकको कल्याण गरेको उल्लेख छ ।

कलकारखानामा भगवान विश्वकर्माको हर्षपूर्वक पूजाआजा गर्नुका साथै बढाइँसमेत गरेर प्रसाद वितरण गरिन्छ । यसरी पुजिएको विश्वकर्मा बाबाको मूर्ति जयजयकार गर्दै नदी तथा जलाशयमा लगेर सेलाई विश्वकर्माजयन्ती सम्पन्न गर्ने चलन छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: