मंसिर ४ गते, २०७६

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

पटक हेरिएको

काठमाडौं । सर्लाही, महोत्तरी, चितवन, बाँके, भोजपुर, धनुषा, कास्की, धादिङ र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।

सर्लाही, बागमती नगरपालिका-५ टेकानी टोलस्थित सडकमा ना.६४ प ८५०३ नम्बरको मोटरसाइकल बयल गाडामा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका-१० बस्ने १७ वर्षीय प्रमानन्द कुमार महतोको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनकौल गाउँपालिका-२ बस्ने ३२ वर्षीय अरबिन्द महतोको नमूना असपताल हरिवनमा उपचार भइरहेको छ।

महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा गौशालाबाट औरहीतर्फ जाँदै गरेको ज.१० प ४१९० नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका औरही नगरपालिका-७ बस्ने ७० वर्षीया दुलारी देवी साहको उपचार लागि लैजाने क्रममा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, भरतपुर महानगरपालिका-५ पन्चरत्न चोकमा ना.३६ प ९३२४ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक नवलपरासी गैडाकोट नगरपालिका-१० भेंडाबारी बस्ने २३ वर्षीय जनक कडेंलको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

बाँके, राप्ती सोनारी गाउँपलिका-२ जिरोस्थित सडकमा बा.१९ च १२१४ नम्बरको कार र बा.५२ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जुम्ला कुनका गाउँपालिका-३ सिंजा बस्ने २८ वर्षीय पदम बहादुर शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मृतककी श्रीमती २३ वर्षीया नविना शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भोजपुर, ट्याम्केमैयुम गाउँपालिका-४ चखेवामा बा.४ ख ८५५९ नम्बरको बस पार्किङ गर्ने क्रममा किँच्दा बसका सह-चालक ट्याम्केमैयुम गाउँपालिका-२ छिनामखु बस्ने २४ वर्षीय बिकाश राईको बिहीबार साँझ घट्नास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, जनकपुर उपमहानगरपालिका-२ स्थित सडकमा बा.७५ प ६१८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानरपालिका-१६ पुलचोक बस्ने २८ वर्षीय मोहम्मद बिरोध आलमको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

कास्की, पोखरा महानगरपालिका-१० अम्मरसिंह चोकमा ग.३ च ४१४ नम्बरको जिप र ग.१३ प ११०३ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङ्जा बेलकाचौर-६ बस्ने ३७ वर्षीय केश बहादुर गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङ, गल्छी गाउँपालिका-६ महेश दोभानस्थित सडकमा ना.५ ख १८२१ नम्बरको बसले बा.९९ प ८८७९ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका-४ बेल्खु बस्ने १७ वर्षीय सन्दिप श्रेष्ठको स्थानीय मेडिकल गल्छी हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल धापासी काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

काभ्रे, नमोबुद्ध नगरपालिका-३ भेंडाबारीमा बा.५ ख २८२९ नम्बरको मिनि ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकका सह-चालक नमोबुद्ध नगरपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र लामाको सुभेक्षा अस्पताल सितापाईलामा उपचारको क्रममा मृत्यु भएको छ। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: