मंसिर २० गते, २०७६

लागूऔषध सहित पक्राउ

पटक हेरिएको

काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन फैकाचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, नुर्फिन १४ एम्पुल र फेनारगन १४ एम्पुल सहित काठमाडौं महानगरपालिका-१० जोरधारा बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय रमेश बिक समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सूर्यबिनायक नगरपालिका -८ जगातीबाट बा.४ ख २२६३ नम्बरको हाईस गाडी जाँच गर्ने क्रममा वेवारिसे अवस्थामा रहेको नियन्त्रित लागूऔषध डाईलेक्स १ सय ९० बोतल र नाईट्राभेट ट्याब्लेट २० थान फेला पारी सोमबार साँझ प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको सो गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

त्यसै गरी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरि रहेको अवस्थामा काठमाडौं बनस्थली बस्ने सिन्धुली घर भएका २३ वर्षीय कुमार भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले भुजेललाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

ताप्लेजुङ जिल्लामा आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते सन्तोष थेबेलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि धरान धोपा अस्पताल रिफर गरिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

बारा जिल्ला पचरौता नगरपालिका-८ लंगडा चोकबाट श्रोत नखुलेको नगद ३५ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ नगरपालिका-७ झवानी बस्ने २२ वर्षीय राजन कुमार दुबे र २३ वर्षीय सुनिल महतो नुनिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले सिम्रौनगढबाट कलैयातर्फ जाँदै गरेको ना.२६ प १६४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: