हराएकी युवतीको हत्या, भेटिएन शव - Nepal Talk
जेष्ठ १६ गते, २०७७

हराएकी युवतीको हत्या, भेटिएन शव

पटक हेरिएको

ताप्लेजुङ — गत मंसिर १७ देखि बेपत्ता आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ । मारेर तमोर नदीमा फालेको अभियुक्तको बयानपछि शव खोजी भइरहेको छ ।

नदीमा खोजीका लागि गोताखोरको माग गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । गृह मन्त्रालयमा अनुरोध गरिएको जानकारी उनले दिए । पुस १० देखि प्रहरी र स्थानीयले तमोर नदीमा खोजी गरिरहेको भए पनि शव फेला परेको छैन । अधिकारीलाई आठराई त्रिवेणी–३ हाङपाङका रमेश अधिकारीले हत्या गरेको बयान प्रहरीलाई दिइसकेका छन् ।

शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्दा चलाउन जिल्ला अदालतबाट अनुसन्धान म्याद लिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै डीएसपी ज्ञानेन्द्र फुयाँलले प्रेम सम्बन्ध भएका रमेश र मन्दिराको विवाहको विषयमा विवाद भएपछि घटना भएको पाइएको बताए । एकै थरका उनीहरूबीच दाजु–बहिनीको नाता थियो । गणितका शिक्षक रमेश गुप्तेश्वर माविमा पढाउने क्रममा तीन वर्षसम्म मन्दिराकै घरमा बसेका थिए । गत चैतमा आफ्नै घरपायक हाङपाङको सरस्वती मावि सरुवा भएका थिए ।

डीएसपी फुयाँलका अनुसार प्रेममा परेका रमेशले मन्दिरासँग विवाह गर्न नसक्ने भन्दै अन्तै विवाहको टुंगो गरेका थिए । मंसिर २५ का लागि विवाहको टुंगो भएपछि उनी सामान खरिदका लागि सदरमुकाम फुङलिङ आएका थिए । फर्कने बेला मन्दिरासँग योजनाअनुसार पुलमा भेटेका थिए । विवाद भएपछि हत्या गरी झोलुंगे पुलबाट नदीमा फ्याँकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरूबीच फूलबारी र नाङखोल्याङ जोड्ने तमोरको पुलमा भेट भएको थियो । घटनापछि रमेशले आफू अपहरणमा परेको र असुरक्षा भएको भनी परिवार र प्रहरीमा नाटकीय रूपमा झूटो व्यहोरा जानकारी गराएका थिए । मन्दिरा हराएकै मितिमा ‘मैले विवाह गरें, हामी इवा पुग्यौं’ जस्ता म्यासेज मन्दिराको मोबाइलबाट उनकी दिदीलाई उनैले गरेका थिए । घटना एक्लैले गरेको बयान रमेशले प्रहरीलाई दिएका छन् । तर मन्दिराका अभिभावकले घटना नियोजित रूपमा भएकाले अरूको पनि संलग्नता हुन सक्ने शंका गरेका छन् ।

शव खोजीका लागि तमोर नदी मिसिने सप्तकोसीसम्मै अरू जिल्लाका प्रहरी इकाईसँग समन्वय भइरहेको फुयाँलले बताए । ‘फालेको भनेको ठाउँ गहिरो छ । पानीमा खोज्न गोताखोरको टोली बोलाइएको छ,’ उनले भने,‘अनुसन्धान गरिरहेका छौं ।’

Loading...

प्रतिकृया लेख्नुहोस्: