पर्यटकको रोजाईमा इलामको छिन्टापु - Nepal Talk
आश्विन १२ गते, २०७७

पर्यटकको रोजाईमा इलामको छिन्टापु

पटक हेरिएको

ईलाम । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो। वसन्त ऋतुमा डाँडा पाखा भरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ । छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरी लगायतका दर्जनौँ पोखरीले अझ मन प्रफुल्लित बनाउँछ।

सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापु विश्वभरका पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले पर्यटकलाई फेरि अर्कोपटक आउँआउँ बनाउँछ। छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ।

छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरी देखि टप्पु, खप्परे छिन्टापु पर्यटकीय पदमार्ग निर्माण गरिएको छ। प्रदेश नम्बर १ सरकारको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनुभयो । हिमाली दृश्यमा मज्जाले रमाउन सकिने छिन्टापुमा पर्यटक पु¥याउनका लागि चालु आर्थिक वर्षमा पनि रु २० लाख बजेट विनियोजन भएको छ।

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ (टावर) झैँ उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ। अग्लो डाँडोमा पुग्दा मन फुरुङ्ङ बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकका लागि पूर्वाधार निर्माणले प्राथमिकता पाएको प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुले बताउनु भयो। “पर्यटकहरु जाँदा खाने र बस्ने आफैँ बोकेर जानुपर्ने बाध्यता छिन्टापुमा छ”, लिम्बुले भन्नु भयो, “प्रदेश सरकारको पहलमा पदमार्ग, सडक र अन्य पूर्वाधार निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) गर्ने सम्मको तयारी भइ रहेको छ।”

पर्यटकीय पूर्वाधार निर्माणमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाले पनि पहल गरि रहेको छ। छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको डिपिआर गर्ने काम सकिएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताउनु भयो।

इलामका सबै भन्दा धेरै सीमसार र पोखरीहरु रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोटहरु रहेका छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गुराँसका फूलहरुमा घण्टौँसम्म रम्ने भएकाले यहाँ पुग्नेले गुराँसको राजधानीको परिचय दिँदै आएका छन् । लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छिन्टापु पर्यटकीय केन्द्र बनाउन पूर्वाधार निर्माणमा जोड दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनु भयो । “पूर्वाधार निर्माणका लागि अहिले स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म पर्यटकीय पूर्वाधारको प्रस्ताव गरिएको छ”, राईले भन्नुभयो, “छिन्टापुको विकासका लागि पहिला डिपिआर बनाउने योजनामा गाउँपालिका रहेको छ ।”

छिन्टापुमा बस्नका लागि व्यवस्थित होटलहरु निर्माण नभए पनि ग्रामीण बस्तीहरुमा होमस्टे (घरबास) निर्माण गरिएको वडाध्यक्ष गिरिराज खनालले बताउनु भयो । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा स्थानीय जातका कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कार गरिँदै आएको छ । छिन्टापुको यात्रामा जाँदा माईमझुवाको बुधबारे, कमेरे, मितेरे चोक र फेमेगुरु क्षेत्रमा होमस्टे सञ्चालनमा रहेको वडाध्यक्ष खनालको भनाइ छ।

छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ। पुर्व–पश्चिम राजमार्गको झापाको चारआलीबाट मेचीराजमार्ग समातेर ७५ किलोमिटर यात्रा गरेपछि इलाम सदरमुकाम पुगिन्छ। इलाम सदरमुकाममा बास बस्नका लागि व्यवस्थित होटल र लज छन्। इलाम बजारबाट चार किलोमिटरको यात्रामा बिब्ल्याँटे बजार पुगिन्छ । बिब्ल्याँटे बजारबाट अलिक अगाडि बढेपछि मेचीराजमार्ग छोडेर उत्तरतर्फ लाग्नुपर्छ । बिब्ल्याँटे बजारबाट १२ किलोमिटर यात्रा गरेपछि रामसार क्षेत्र माईपोखरी पुगिन्छ। माईपोखरी स्न २००८ मा रामसार सूचीमा सूचीकृत भएको पर्यटकीय तथा धार्मिकस्थल हो।

माईपोखरीको भ्रमणपछि नजिकै सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली हुँदै आठ किलोमिटर यात्रापछि माईमझुवाको बुधबारे बजार पुगिन्छ । त्यहाँबाट झण्डै सात किलोमिटर कच्ची सडक यात्रापछि गोरुवाले बजार पुगिन्छ । गाडीको यात्रा यहीँसम्म मात्र हो । गाडीको यात्रापछि प्राकृतिक टावरमा रहेको छिन्टापु पुग्न झण्डै डेढ घण्टाको पैदल यात्रा गर्नु पर्ने हुन्छ।

छिन्टापुको पदयात्राका लागि माईपाखेरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापुसम्म यात्रा गरिन्छ। रु दुई करोड ३८ लाखमा निर्माण हुँदै आएको छिन्टापुबाट गोरुवाले, फुस्रेपोखरी सन्दकपुर हुँदै हाँगेफाम, चोयाटार, ढाप पोखरीसम्मको पदमार्ग प्रयोग गर्न सकिन्छ। यो गदमार्ग चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछ।

Loading...

प्रतिकृया लेख्नुहोस्: