चैत्र १५ गते, २०७६

मानव तस्करीको नयाँ रुट : मिजोरम र म्यान्मार हुँदै खाडी

पटक हेरिएको

झापा — नुवाकोटको ककनी गाउँपालिका–६ की पार्वती वाइबा ९३९०, गत वैशाख ११ गते बिहानै बसबाट भारतको पूर्वोत्तर राज्य मिजोरमको आइजोल सहर ओर्लिइन् । करिब २० घण्टा लामो यात्राले थकित उनलाई आराम गर्नका लागि भन्दै बसपार्क नजिकैको लीला होटल पुर्‍याइयो । त्यहाँ रहेका बलबहादुर कडरियाले उनलाई चाँडै म्यान्मारको बाटो हुँदै खाडी मुलुक पुर्‍याउने आश्वासन दिए र एक–दुई दिन होटलमै आराम गर्न भने ।
एक, दुई, तीन हुँदै वाइबा आइजोल आएको १० दिन बित्यो तर म्यान्मारतिर जाने कुनै छाँट देखिएन । वैशाख २० मा अचानक कसैले होटलको ढोका ढकढकायो । म्यान्मार जाने दिन आएछ भन्ने आसमा ढोका खोलेकी उनको अनुमान गलत साबित भयो । प्रहरीले मानव तस्करीको गोप्य सूचना पाएर होटलमा छापा मारेको थियो । उनको विदेश उड्ने सपना चकनाचुर भयो ।

म्यान्मारको बाटो हुँदै खाडी जान लागेका उनीसहित २३ महिलालाई प्रहरीले नियन्त्रणमा लियो । वैशाख २६ गते उनीहरूलाई माइती नेपालको जिम्मा लगाइयो ।टोलीमा २०–३० वर्ष उमेर समूहका आठ जना, ३१–४० काका ११ जना र ४१–५० वर्षका चार जना थिए । उद्धार गरिएका सबैको पीडा उस्तै छ । जोखोथार आइजोलबाट भारत र म्यान्मारको सीमा १८८ किलोमिटर टाढा पर्छ । भारत र म्यान्मारका बासिन्दालाई यो नाका वारपार गर्न कुनै रोकटोक छैन । ०७६ वैशाख १९ का दिन नाकामा ड्युटीमा थिए– असम राइफलका मेजर तरुण कुँवर । उनले नेपालीभाषी महिला लाम लागेर आएको देखेपछि केहीलाई नेपालीमै सोधे । महिलाले खाडी मुलुक जान लागेको बताएपछि उनको मनमा चिसो पस्यो, ‘कतै मानव तस्करी त भइरहेको छैन ?

उनले तत्कालै आइजोलका सुरक्षाकर्मीलाई खबर गरेपछि प्रहरीले त्यहाँका होटलहरूमा छापा मार्‍यो । उनको अनुमान सही निस्क्यो । नेपाली महिलालाई म्यान्मारको बाटो खाडी पठाउन सेटिङ मिलाउने कडरिया पक्राउ परे । मिजोरम प्रहरीका अनुसार म्यान्मारतर्फ मानव तस्करको सञ्जाल छैन । बरु नेपाली तस्करले सीमावर्ती क्षेत्रका नेपालीभाषीको सहयोगमा म्यान्मारसम्म पहुँच बढाउन खोजिरहेका छन् ।

मिजोरमको प्रान्तीय राजधानी आइजोल जिल्ला पुलिसका तत्कालीन सुपरिटेन्डेन्ट अफ पुलिस ९एसपी० कार्तिक कश्यपले नेपाली महिलालाई अवैध रूपमा खाडी मुलुक पुर्‍याउने क्रममा म्यान्मारको अध्यागमनसम्म लैजान दलालले सीमावर्ती भारतीय गाउँका नेपालीभाषीसँग साँठगाँठ गर्ने गरेको अनुसन्धानबाट खुलेको जनाए । उनले भने, ‘मिजोरमको नाका र मणिपुरको मोरे नाकामा उस्तै प्रवृत्तिबाट मानव तस्करी भएको पाइयो ।’ उनका अनुसार म्यान्मारको सीमा क्षेत्र र म्यान्मारमा समेत नेपालीभाषी बस्ने भएकाले तस्करलाई सहज भएको हो ।

पछिल्लो समय मानव तस्करले नयाँ–नयाँ रुट प्रयोग गर्दै नेपाली महिलालाई कतार, साउदी अरब, कुवेत, बहराइनलगायत मुलुक पठाउने गरेका छन् । ‘सीमा वारपार गर्न सजिलो भएकाले तस्करले काठमाडौं–मिजोरम–म्यान्मार रुट प्रयोग गरेको देखिन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल भन्छन्, ‘मणिपुर र मिजोरममा नेपालीभाषीको बाक्लो बसोबासका साथै म्यान्मारमा समेत नेपालीभाषी रहेकाले विभिन्न बहानामा सीमा वारपार गर्न सजिलो भएको देखिन्छ ।’

मानव तस्करीबारे कलम चलाउँदै आएकी भारत, सिलिगुडीकी पत्रकार अनुराधा शर्माले तस्करले नयाँ–नयाँ रुट प्रयोग गरिरहेको बताइन् । ‘उनीहरू नयाँ नयाँ उपाय खोजेर तस्करी गरिरहेका छन्,’ उनले भनिन्, ‘तर सरकारी निकाय भने पुरानै संयन्त्रबाट परिचालित छन् ।’ शर्माका अनुसार मानव तस्करीको मुद्दा नेपाल र भारतको साझा समस्या हो । ‘दुवै देशले मिलेर काम गर्ने हो भने समाधान गर्न गाह्रो छैन,’ उनले भनिन् ।

आइजोलमा समातिएका २३ जनामध्ये १६ जना पहिल्यै विदेश गएर फर्किएका थिए । सात जना नयाँ । ककनीकी वाइबा दोहोर्‍याएर विदेश जान लागेकी थिइन् । लेबनान र कुवेतमा चार वर्ष बिताएर फर्केकी उनी फेरि कुवेत जान हिँडेकी थिइन् ।
उनी दुई वर्ष कुवेतमा बिताएर फर्किएको डेढ वर्ष बित्न लागेको थियो । कुवेतको कमाइ बचाउन नसकेपछि आर्थिक संकटले गाँज्यो । यही मेसोमा धादिङ घर भएकी र कुवेतमै चिनजान भएकी दिदीले फोन गरिन् र फेरि जाने भए सहयोग गर्ने बताइन् । उनलाई दिदीको कुरा ठीकै लाग्यो । एक–दुई वर्ष बसेर कमाउने सोच बनाइन् ।

दिल्लीमा रहेका दीपक नामका नेपाली दलालसँग फोनमा कुराकानी भएपछि चैत अन्तिम साता उनी काठमाडौंको नयाँ बसपार्कबाट नेपालगन्जका लागि गाडी चढिन् । साथमा ती दिदी पनि थिइन् । नाकामा प्रहरीले सोधिहाले ‘आफन्त भेट्न गएको भन्नु’ भनेर सिकाइयो ।नेपालगन्जको जमुनाह नाकामा तैनाथ प्रहरी र माइती नेपालका कर्मचारीले सोधे । सिकाइएअनुसार भनेपछि त्यहाँबाट उम्किइन् । रुपैडिया बसपार्कबाट दिल्लीको बस चढेकी मात्रै के थिइन्, भारतीय सुरक्षाकर्मी सोध्दै आए । उनले आफन्त भेट्न हिँडेको बताइन् । दिदीले पनि उसैगरी ढाँटिन् । ‘दिदीले दिल्लीस्थित पहाडगन्जको एक होटलमा पुर्‍याउनुभयो,’ वाइबाले सुनाइन्, ‘होटलमा अरू धेरै महिला थिए । यो देखेर ढुक्क लाग्यो ।’

नेपालका विभिन्न स्थानबाट ल्याइएका महिलालाई त्यहाँ राखिएको थियो । ती दिदीले दीपकसँग भेट गराइन् र भोलिपल्टै कुवेत उडिन् । उड्नुअघि भनिन्, ‘अब उतै भेटौंला ।’ दीपकले म्यान्मारको भिसा लाग्नेबित्तिकै उडाउने आश्वासन दिए । दस दिन बसेपछि उनले भने, ‘दिल्लीबाट उड्न गाह्रो भो, मिजोरमबाट जानुपर्ने भो वैशाख पहिलो साता वाइबा दिल्लीबाट गुवाहाटीको रेल चढिन् । १ हजार ९ सय ३२ किमि रेलयात्रापछि उनी गुवाहाटी पुगिन् । गुवाहाटीमा एक रात बिताएपछि उनलाई आइजोल पुर्‍याइएको थियो । उद्धार गरेर फर्काइएपछि केही दिन घरमै बसेर काठमाडौं फर्किइन् । अहिले जोरपाटीको एक निजी कारखानामा गलैंचा बुन्दैछिन् । ‘महिनाको १०र१२ हजार हुन्छ,’ उनले दुस्ख साटिन्, ‘दालभात खान पुग्छ, अब विदेश मोह छैन, यहीं ठीक छ ।’

मिजोरमको प्रवेश नाका भैरङ्थेमा इनर लाइन परमिट ९आईएलपी० बनाउनुअघि वाइबाका हातमा एउटा प्रमाणपत्र थमाइयो । प्रेस्विटेरियन चर्च अफ इन्डियाका नाममा जारी लोगोसहितको प्रमाणपत्रमा ‘मिजोरम सिनोद, बप्तिस्मा प्रमाणपत्र’ भनी लेखिएको थियो । बप्तिस्मा इसाइ समुदायमा एक धर्मबाट अर्को धर्म प्रवेश गरिने प्रक्रिया हो । भारतमा प्रेस्विटेरियन चर्चको सुरुवात गर्ने राज्य मिजोरम हो । प्रोटेस्टेन्ट इसाईहरूको धार्मिक संगठन प्रेस्विटेरियन चर्चको मुख्यालय भारतको सिलोङमा छ ।

होटलबाट नियन्त्रणमा लिएका महिलालाई सोधपुछ तथा खानतलासी गर्दा प्रहरीले बप्तिस्मा प्रमाणपत्र फेला पारेको थियो । प्रमाणपत्रमा डेबिट क्षत्रीको हस्ताक्षर छ । आइजोल जिल्ला प्रहरीका एसपी कश्यपका अनुसार सबै महिलालाई इसाइ धार्मिक मेलाको बहानामा मिजोरम ल्याएर म्यान्मार हुँदै खाडी मुलुक लैजान लागिएको थियो । कश्यपका अनुसार अभियुक्त कडरियाको बयानका आधारमा नयाँदिल्लीमा बस्ने दलालहरू राम तामाङ र लक्ष्मण मगरमार्फत वाइबालगायत महिलालाई म्यान्मारको रुटबाट खाडी पठाउन लागिएको थियो । तामाङ सुनसरीको धरानका हुन् भने मगर काठमाडौंको गौशालाका । झापाका कडरिया सुरुमा ठाउँ हेर्न मिजोरम आएको र पछि थप दुईजना दलालसहित एक रात बसेर फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘उनीहरू फर्किएर गएको दुई दिनपछि नेपाली महिला आउने क्रम सुरु भयो,’ प्रहरी अनुसन्धानमा भनिएको छ ।

मणिपुरको मोरेमा नेपालीभाषीको बाक्लो बसोबास छ । यो सानो बजारमा धेरै भाषा बोल्ने भए पनि बर्मेली भाषाको पकड बलियो छ । ‘इन्डो–म्यान्मार फ्रेन्डसिप गेट’ नाघेर गएपछि म्यान्मार पुगिन्छ । सीमा क्षेत्र भएकाले व्यापारीको बाक्लो भीड देखिन्छ । बिहान १० बजेदेखि नै बजार गुल्जार हुन्छ । दुई नबज्दै बजार बिस्तारै मुर्झाउँदै जान्छ । तीन बजे त सुनसान ।

‘चार बजेपछि नाका वारपार गर्न मिल्दैन,’ म्यान्मारका नेपालीभाषी व्यवसायी कुमार रेग्मीले भने । २०७५ माघ १६ मा मणिपुरबाट म्यान्मार छिर्ने पालो कुरेर पर्खिएका १४७ महिलामध्ये केही समूह मोरे नाकामा रोकिएका थिए, बाँकी इम्फालका होटल र लजमा । उक्त समूहमा ३२ जना पुरुष पनि थिए । प्रहरीका अनुसार १४७ महिलामध्ये सबैभन्दा बढी ६७ जना २१–३० वर्ष उमेर समूहका थिए । मानव तस्करको फन्दामा परेर हिंडेकामध्ये ५७ जनाको गन्तव्य प्रतिबन्धित मुलुक इराक थियो । मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालका अनुसार इराक जाने टोलीमा ४१ महिला थिए ।
नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी प्रकाश अधिकारीका अनुसार अवैध रूपमा खाडी पठाउन लागिएका महिला तथा पुरुषलाई मानव तस्करले मणिपुर–म्यान्मारको सीमा बजार, टेंगनैपाल जिल्लाको मोरे बजार क्षेत्र, इम्फाललगायत होटल तथा लजमा राखेका थिए । बेचबिखनको उच्च जोखिममा रहेका उनीहरूलाई गोप्य सूचनाका आधारमा उद्धार गरिएको थियो ।

मणिपुरका सामाजिक कार्यकर्ता अर्जुन जोगीका अनुसार मणिपुरकै कांग्लातोम्बी शान्तिपुरका यातायातकर्मी तुलाराम संग्रौलाले महिलालाई मणिपुरसम्म पुर्‍याएका थिए । नाका छिचोलेर भारत पुगेकालाई मणिपुर पुर्‍याउने काम गरेको उनले प्रहरीसँग स्वीकार गरिसकेका छन् । मानव तस्करीमा संलग्न आरोपमा करिब २० दिन हिरासत बसेर छुटेका संग्रौलाले महिलालाई होटलमा लगेर राख्ने काम पनि आफैंले गरेका थिए । मोरेका २७ वर्षीय आकाश आचार्य १८ दिन हिरासतमा बसेर छुटेका थिए । आचार्यका अनुसार ठाउँ बुझ्न मदन खरेल मोरे आएका थिए । केही दिन मोरेको होटलमा बसे । खरेलले आकाशसँग नाता गाँसे । ‘मेरी आमा भट्टराईकी छोरी भएकीले खरेल र भट्टराईको गोत्र एउटै भएको भन्दै उनले आमालाई बैनी र मलाई भान्जा भन्ने नाता लगाए,’ आचार्यले सुनाए ।

आचार्यका अनुसार केही दिनपछि खरेलले आकाशलाई भने, ‘विदेश जान चाहने केटीहरू आउँछन्,’ तपाईंले पारि बर्मेली भाषा बोलेर सहयोग गर्दिनुपर्‍यो ।’आकाशले आग्रह नकार्न सकेनन् । म्यान्मारतिरका अध्यागमन कार्यालयका कर्मचारीसँग बर्मेली भाषा बोल्ने काम थियो आकाशको । ‘नेपाली दाजुभाइको नाताका आधारमा मात्रै सहयोग गरेको थिएँ, मेरो कुनै लेनदेन थिएन,’ उनले प्रस्टीकरण दिए, ‘मोरेको एजेन्ट भनेर फसाइयो ।’

चार वर्षको अवधिमा करिब ३ सय नेपाली महिला तथा पुरुषलाई म्यान्मार पठाइएको प्रहरीको तथ्यांक छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका एसएसपी अधिकारीले खाडीलगायत अन्य मुलुकमा नेपाली महिलाको माग उच्च रहेको र मानव तस्करले माग पूरा गर्न पूर्वोत्तर भारतका राज्य हुँदै म्यान्मारबाट धन्दा सुरु गरेको बताए ।
उनका अनुसार दिल्ली विमानस्थलमा अध्यागमनलाई कडाइ गरिँदै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिवार्य गरिएको छ । पछिल्लो समय दलालले पैदल मार्गबाट म्यान्मार पुर्‍याउने, श्रीलंका ट्रान्जिट बनाएर खाडी तथा मध्यपूर्वका देश पुर्‍याउने काम हुँदै आएको उनको भनाइ छ ।

म्यान्मारको टमु क्षेत्रमा सन् २०१५ अक्टोबरमा अध्यागमन कार्यालय स्थापना गरिएको थियो । म्यान्मारले अनलाइनमार्फत अनअराइभल भिसासमेत दिन थालेपछि यो रुटको प्रयोग गर्न थालिएको हो । ‘अनलाइन आवेदन दिएर भिसा लागेपछि मान्छे म्यान्मारतिर ओसार्न सहज रहेछ,’ एसएसपी अधिकारीले भने । उनका अनुसार म्यान्मारको टमुबाट बसमा रंगुन पुर्‍याउने र रंगुनबाट कोलम्बो उडाउने । ‘कोलम्बोलाई ट्रान्जिट बनाएर खाडी तथा अन्य देशमा पुर्‍याउने गरेको पाइएको छ,’ अधिकारीले भने ।

मानव तस्करीको आरोपमा मणिपुरको सजिवास्थित सेन्टल जेलमा रहेका केही नेपाली भदौ ३ मा छुटे । जेलका एसपी एस थौथाङका अनुसार अभियुक्त ललितबहादुर कार्की ९कोहबरा, झापा०, राजीव श्रेष्ठ ९नयाँदिल्ली०, थमनसिंह दमाईं ९खैरेनीटार, तनहुँ०, अनिल बिके ९पोखरा०, आशाकाजी लामा तामाङ, ९ठेगाना नखुलेका० मदनकुमार खरेल ९पृथ्वीनगर, झापा० र सुस्मिता विश्वकर्मा ९कानेपोखरी, मोरङ० करिब ६ महिना जेल बसेर हालैधरौटीमा छुटेका हुन् ।

प्रहरीका अनुसार अभियुक्त कार्की काठमाडौंको मंगोलियन ओभरसिजका दलाल हुन् । उनी केही समयदेखि आबद्ध म्यानपावरका मुख्य सञ्चालक मोरङका डम्बर लिम्बू हुन् । कार्कीले गाउँबाट मान्छे लगेर लिम्बूलाई बुझाउने र त्यसबापत प्रतिव्यक्ति ५ हजार रुपैयाँ कमिसन पाउने गर्थे । २०७४ सालमा गौरादहका सुरेन्द्र खड्का ९२३०, थर नखुलेका सोही स्थानका कमल ९२३० र कोहबरा झापाकी तारा विक ९२५० लाई यही म्यानपावरमार्फत उनले विदेश पठाएका थिए ।

एक वर्षअघि ममता मगर ९२३० र यशोदा मारापाचे ९२१० लाई विदेश पठाउन मंगोलियन ओभरसिजमार्फत प्रक्रिया अगाडि बढाए । वर्ष दिनअघि विदेश जाने प्रक्रियामा रहेका उनीहरूलाई मणिपुर केस्यमपातको होटल जङ्सनबाट जम्बो टोलीसँगै उद्धार गरिएको थियो ।

मंगोलियन म्यानपावरका सञ्चालक लिम्बूले मणिपुरबाट म्यान्मार हुँदै कुवेत लाने सल्लाह आफूलाई दिएको कार्कीले प्रहरीसँग स्विकारेका छन् । २०७६ साल माघ १७ का दिन लिम्बू दिल्लीबाट इम्फाल ओर्लिएका थिए । जङ्सन होटलमा ६२ जना महिला थिए । लिम्बू एक दिन होटलमै बसे । कागज मिलाउँछु भनेर निस्किएका उनी फर्किएर आएनन् । ‘होटल छाड्नेबित्तिकै पुलिसले उनलाई समातेको हो,’ कार्कीले भनेका छन् । अभियुक्तद्वय राजीव र सुस्मिताले आफूहरू पतिपत्नी भएको बताएका छन् । उनीहरूचाहिं विदेश जान चाहनेलाई काठमाडौंकै दलाल ४१ वर्षीय युवराज राईसँग सेटिङ मिलाइदिन्थे ।

रुट सुरु हुनुअघि नै उनीहरूले मोरेमा आउजाउ गरेका थिए । एकपटक मोरेको सांघाई होटलमा तीन दिन बिताएर रुट बुझेर इम्फाल फर्किएको थियो यो जोडी । अर्को पटक दलाल राईले मोरे आउने बचन दिए तर पाँच दिन बस्दा पनि उनी नआएपछि निराश भएर फर्किएका थिए ।अघिल्लो घटनाको ९ महिनापछि पुनस् यही रुट प्रयोग गरी तस्करी सुरु भएको छ । म्यान्मार हुँदै खाडी मुलुक लैजान लागिएका ७ नेपाली महिलालाई मंसिर १ मा मोरे प्रहरीले उद्धार गरेको थियो । अघिल्लो घटनाका अभियुक्त ललितबहादुर कार्की करिब ६ महिना जेल बसेर निस्किएलगत्तै पुनस् यही काममा संलग्न भएको पाइएको छ । कार्की यसपटक भने प्रहरी फन्दाबाट उम्किन सफल भएका छन् ।

शैली फेर्दै सीमा कटाउँदै
२०७६ जेठ ३ मा नेपालगन्जको जमुनाह–रुपैडिया नाकाबाट दिल्ली जान भनी पारि तरिसकेका चितवनका ६ महिलालाई प्रहरीले रोक्यो । सबैलाई मोटरसाइकलमा राखेर नाका पार गराइएको थियो । जमुनाहा प्रहरी कार्यालयका तत्कालीन नायब निरीक्षक वसन्त बस्नेतले भने, ‘दलालले शैली बदल्ने गरेका छन् ।’

गिरोहले मोटरसाइकल, रिक्सा, साइकल र पैदलै हिंडाएर पनि सीमा कटाउने गरेका छन् । प्रहरी नायब निरीक्षक बस्नेतका अनुसार दाङको तुलसीपुरबाट दिल्लीमा सीधा बस सेवा भएकाले अक्सर बसमार्फतै महिलालाई दिल्ली पुर्‍याउने गरिएको पाइएको छ यता पूर्वी नाका काँकडभिट्टाको कथाचाहिँ झनै रोचक छ । गत वर्ष भीआईपी गाडीमा राखेर भारत कटाउन लागिएका दुई चेलीलाई ‘साना हात’ नामक संस्थाका कार्यकर्ताले नियन्त्रणमा लिए ।

साना हातका प्रमुख रमेश गुरुङका अनुसार गाडी भीआईपी थियो । चालक पनि धनाढ्यजस्तै देखिन्थे । गाडीको पछिल्लो सिटमा दुई युवती थिए तर उनीहरू एकअर्कालाई चिन्दैनथे । शंका लागेर सोधपुछ गर्दा थाहा भयो, उनीहरूलाई खाडी पठाउन सीमा कटाउन लागिएको रहेछ । प्रहरीको सहयोगमा पक्राउ परेका दलाल झापा कारगारमा कैद भुक्तान गर्दै छन् । युवतीलाई भने अभिभावकको जिम्मा लगाइयो ।

गुरुङ भन्छन्, ‘अचेल महिलालाई हिँडाएर नाका कटाइँदैन, यस्तै भीआईपी गाडीमा राखेर कटाइन्छ ।’ मुख्यतस् काँकडभिट्टा–पानीट्यांकी, विराटनगर–जोगबनी, धनुषा–जयनगर, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली, नेपालगन्ज–रुपैडिया, कैलाली–गौरीफन्टा र कञ्चनपुर–गड्डाचौकी नाकाबाट दैनिक हजारौं सर्वसाधारण आउजाउ गर्छन् । नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लै छ । गैरसरकारी संस्थाको पनि उल्लेख्य उपस्थिति छ तर गिरोहले सबैका आँखा छलेकै छन् ।

यसरी बेचिन्छन् महिला

गाउँले दलालले सपना बाँड्छ । पैसा मनग्ये हुने, मेसिनले काम गर्ने भएकाले केही गाह्रो काम गर्नु नपर्ने आदि । यस्तै लोभले फस्छन् महिला । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका डीएसपी राजकुमार सिलवालले भने, ‘अर्कोतर्फ, सबै थाहा पाएरै पनि फस्नेहरू छन् । कोही बाध्यताले फस्छन्, कोही रहरले ।’ उनका अनुसार महिला बेचिने क्रम गाउँबाटै सुरु हुन्छ । गाउँले दलालले सहरका म्यानपावरलाई बेच्छ अनि कमिसन पाउँछ । सहरको दलालले दिल्ली पुर्‍याउँदा कमिसन पाउँछ ।

त्यसपछि दिल्लीबाट खाडी तथा तेस्रो मुलुकमा पुर्‍याइन्छ । दलालले यसबाट झनै बढी कमिसन पाउँछ । खाडीको दलालले महिलालाई त्यहाँका घरमालिकलाई बेच्छ तर महिलालाई भने बेचिएको थाहै हुँदैन ।
दिल्ली या अन्य नाकाबाट खाडी पुर्‍याइएका महिलालाई बन्धकजस्तै बनाएर राख्ने गरेको भेटिएको छ । त्यहाँका घरधनीले महिलालाई यौनजन्य गतिविधिका लागि पैसा तिरेर किन्ने गर्छन् । ‘यसरी त्यहाँ पुर्‍याइएका महिलालाई दुई वर्षका लागि ४र५ लाखसम्म तिरेर खरिद गर्ने गरेको पाइएको छ,’ सिलवाल भन्छन् ।

सरकारले २०७२ साल फागुनदेखि महिला या पुरुषलाई घरेलु कामदारका रूपमा मलेसिया या खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ तर अवैधानिक बाटोबाट कामदार ती मुलुक जाने क्रम भने रोकिएको छैन । वैदेशिक रोजगार विभागले ४९ म्यानपावर कम्पनीलाई घरेलु कामदार पठाउन सूचीकृत गरेको थियो । तीमध्ये ३२ कम्पनीले विभागबाट कामदार पठाउने इजाजतपत्र लिइसकेका थिए । ‘जोखिम हुन नदिन सरकारले घरेलु कामदारलाई खाडी जान रोक लगाएको हो,’ वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले भने, ‘तर अवैध रूपमा खाडी जाने सिलसिला रोकिएको छैन ।’

सुरक्षित आप्रवासन क्षेत्रका जानकार वसन्त कार्कीका अनुसार वैधानिक बाटो बन्द गर्दा झन् जोखिम बढेको छ । ‘घरेलु कामदारलाई जोखिम भयो भनेर सरकारले खाडीमा कामदार बन्द गरायो, अहिले महिला जोखिम मोलेरै खाडी गइरहेका छन्,’ कार्कीले भने ।वैधानिक बाटो बन्द भएपछि अवैध रुटबाट तस्करी धन्दा फस्टाउँदै गएको उनको दाबी छ । वैदेशिक रोजगार र श्रमविज्ञ पूर्णचन्द्र भट्टराईका अनुसार मानव तस्करी नियन्त्रणका लागि अन्तरदेशीय पहल जरुरी छ । सार्क राष्ट्रस्तरीय विभिन्न सन्धि–सम्झौता भए पनि कार्यान्वयन तहमा भने पुग्न नसकेको भट्टराई बताउँछन् । ‘मानव तस्करीविरुद्ध नेपाल र भारतबीच साझा अवधारणा र नीति हुनुपर्छ,’ उनले भने । आवरणमा वैदेशिक रोजगारी देखिए पनि भित्री रूपमा मानव तस्करीको व्यापार नेपालमा व्याप्त रहेको उनले दाबी गरे ।

Loading...

प्रतिकृया लेख्नुहोस्: