जेष्ठ ९ गते, २०७६

हामी ‘साग’को छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं : मन्त्री विश्वकर्मा

पटक हेरिएको

काठमाडौं। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको तयारीमा सरकार जुटिरहेको बताएका छन्। आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरी सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले बताए।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्विविधा नभएको जनाए। उनले सरकारको आर्थिक वर्ष २०७६÷७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए।

हिजोमात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए। उनले भने, ‘हिजो बसेको समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ। अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं। त्यतिमात्रै नभए उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले जनाए।

मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताए। उनले भने, ‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौं। यो प्रतियोगिताको विगतलाई हेर्दापनि हाम्रो गर्विलो इतिहास छ। १९९९ मा नेपालले दोस्रो स्थान हाँसिल गरेको थियो। १८ औं एशियन गेममा पनि नेपालले ३३ औं स्थान हासिल गरेको थियो। नेपालले २० वर्षपछि रजतपदक हाँसिल गरेका थियो। मन्त्री विश्वकर्माले सीमित स्रोत र साधनको बावजुदपनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको जनाए।

तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनौट गर्नेपनि उनले जनाए। उनले भने, ‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं। जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं। प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने उनले बताए।

प्रतिकृया लेख्नुहोस्: