मंसिर ३ गते, २०७६

हङकङलाई फाइनलमा हराउँदै, एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

पटक हेरिएको

काठमाडौं । हङकङमाथि ६ विकेटको जित निकाल्दै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ। सागर ढकाल र पवन सर्राफको उत्कृष्ट प्रदर्शनमा हङकङविरुद्ध सहज जित निकाल्दै नेपालले उपाधि जितेको हो। इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै नेपाल एसिया कपमा छनोट भएको छ। ९६ रनको सामान्य लक्ष्य १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाउन नेपालका पवन सर्राफले सर्वाधिक ३९ रन बनाए।

३६ बलको सामना गरेका पवनले मोहम्मद हसनको बलमा एलबिडब्लु शिकार हुनुअघि ५ चौका र १ छक्का प्रहार गरेका थिए। रित गौतम १३ रनमा पवेलियन फर्किंदा खडकबहादुर बोहराले ८ रन बनाए। १४ बल खेलेका रितले २ चौका प्रहार गरेका थिए। रित मोहम्मह हसन खानको बलमा बोल्ड हुँदा खडक रौनक कपुरको बलमा नसरुल्ला रानामार्फत क्याच भए।

कप्तान रोहित कुमार पौडेलले १२ रन बनाए। १० बल खेलेका उनी रौनक कपुरको बलमा नसरुल्ला रानामार्फत् नै क्याच भए। भीम सार्की ७ रनमा अविजित रहे। हङकङका रौनक कपुरले २ विकेट लिँदा मोहम्मद हसन खान र मोहम्मद हसनले १–१ विकेट लिएका थिए। यसअघि पहिला ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो। नेपालका सागर ढकाल र कमलसिंह ऐरीको उत्कृष्ट बलिङमा ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

अदित गोरवाराले २४ रन बनाउँदा कलहन मार्क चल्लुले १९ रन जोडेका थिए। रौनक कपुरले १२ रन बनाउँदा ओपनर नसरुल्ला राना खाता नै नखोली पवेलियन फर्किए। राहुल शर्मा र आरुष भगवत पनि शून्य रनमा नै आउट भए। मोहम्मद हसन खानले ३ रन बनाउँदा मेहरनले ४ रन बनाएका थिए। यस्तै मोहम्मद हसनले ९ रन जोड्दा अब्दुलले ७ रन बनाए। विकास शर्मा विना रन नै पवेलियन फर्किएका थिए।

नेपालका सागर ढकालले सर्वाधिक ५ विकेट लिँदा कमलसिंह ऐरीको नाममा ३ विकेट तथा तिलकराज भण्डारीले १ विकेट लिएका थिए। नेपाल आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले सिंगापुरलाई पराजित गरेको थियो। उपाधिसँगै यू–१९ एसिया कपमा छनोट नेपालले अब टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप २८ अगस्टबाट श्रीलंकामा सुरु हुँदैछ।

Loading...

प्रतिकृया लेख्नुहोस्: