भाद्र ३१ गते, २०७६

एसीसी यू–१९ एसिया कपमा यूएईमाथि नेपालको सान्त्वना जित

पटक हेरिएको

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गर्दै सान्त्वना जित निकालेको छ। मंगलबार भएको खेलमा यूएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा सान्त्वना जित निकालेको हो। नेपालले दिएको २८६ रनको विशाल लक्ष्य पछ्याएको यूएईले ३४ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२५ रन बनायो।

यूएईका लागि भ्रिटिया अर्भिन्द २८, अलिसान शर्फु २१, ओसमान हसन १६, सायद हाइदेरले १५, र असान टन्दोन १२ रनको योगदान गरे। बलिङतर्फ नेपालका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए। त्यस्तै आरिफ शेख, राशिद खान र सूर्य तामाङले समान दुई–दुई विकेट लिए। त्यस्तै कमलसिंह ऐरीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो। नेपालले पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको थियो। त्यसपछि खेलको चौथो ओभरको पाँचौं बलमा नेपालले पवन सराफलाई दोस्रो विकेटको रुपमा गुमायो। दुवैजनाले रन भने बनाउन सकेनन्।

नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए। १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए। त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए। उनले ८४ बलमा ९ चौका र १ छक्काको सहयोगमा यो योगफल तयार पारेका हुन्। रोहितपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए। भीम सार्की भने तीन बल खेल्दै एक रन बनाएर आउट हुन पुगे।

नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे। कुशल मल्लले २२ रन बनाए। बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन–तीन विकेट लिए। त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले एक विकेट लिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: