आश्विन २९ गते, २०७६

दिगभ्रममा नेपाली राजनिति : जनार्दन शर्मा काँग्रेसमा प्रवेश, गोपालजी जंङ शाह माओवादीमा

पटक हेरिएको

“हेर्दै जानुहोला, गोपाल जी एक वर्ष भित्र माओवादीमा प्रवेश गरि सक्ने छन् ।” हिरालालको यो तर्कले झुङि रहेको मेरो चेत एकाएक ब्युँझियो र मेरो थकित शरीरलाई एका एक १८० डिग्रि दिशामा फर्काउँदै उनको तत्क्षणको भावभङ्गी जाँच्न पुग्यो। रातभरको नाइट बसको झुङेलाइले मेरो जीउ थकित औ चुरचुर भैरहेको थियो। जता छोयो उतै दुख्ने अवस्थामा थियो। हिँडि रहेको बाटो झोलुङ्गे पुल जस्तो दायाँबायाँ हुत्ति खेलि रहेको थियो।

नौनाडी फत्रक्कै गलेका थिए तथापि एउटा बडेमानको झोला पिठ्युँमा बोकेर सडकमा पाइताला घिसारि रहेको थिएँ। अर्को उत्रै झोला हिरालालले बोकि दिएका थिए। मेरो हालत भन्दा रात भरको यात्रामा तारन्तारको बान्ताले देवकुमारीको हालत झनै गए गुज्रिएको थियो। उनी हामी भन्दा निकै पछि पछि लत्रि रहेकी थिइन्।

भाइ प्रकाशको तुल्सिपुरस्थित क्वाटर देखिउनले हामीलाई रुकुम बसपार्कसम्म छोड्न साथ दिइ रहेका थिए। तुल्सिपुरबजारको दक्षिणी भेगमा रहेको लोकसेवा आयोग कार्यालय नजिकैको क्वाटर देखि करिब एक किलोमिटर दुरीमा रहेको उत्तरपश्चिम तिरको बसपार्कसम्म पुग्नको लागि पैदल यात्रामा सवार भैरहेका थियौँ।

हिरालाल व्यावहारिक र बहुउद्यमी छन्। टोलको कुनाकाप्चा देखि अन्तर्राष्ट्रिय स्तरसम्मका साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक तथा वातावरणीय मसिना मसिना परिघटनाहरुमा औधि चासो राख्छन् भन्ने कुरामा जानकार त छु, तर यिनीसँग उति साथ जमेको छैन मेरो।
“ए खम्बू भाइ पनि आइ पुग्नु भयो ?” फर्केर हेर्दा उनीसँग खम्बु पनि आइ रहेको देखेकोले सोध्छु।

“ऐ हो र खम्बू भाइ आको! दशदश चोटी त तपाईँलाई नमस्कार टक्राइ सक्नुभो। दाजि हजुर बाटोमा पनि झुङेको झुङ्यै। बिचरा शरमले खुम्चिएका छन् खम्बुजी त।” हिरालालले मउपर पनि व्यङ्ग्यको झटारो हुत्त्याए। यही मौकामा खम्बूले मलाई टक्राएको नमस्कार तुरुन्तै आशिर्वादको सावाँब्याज सहित फिर्ता गरिदिएँ।

कुरा खम्बू र हिरालाल बीचको रहेछ । खम्बु तुल्सिपुरका उदीयमान व्यापारी। राजनीतितिर र अर्थनीति तिर उत्तिकै दिल चस्पि राख्छन् । हिरालालले गरेको कटाक्ष उनको मर्ममै बजारिए झैँ थचमरिएका जस्ता देखिन्छन्। मेरो बल पाए झैँ अलिकति अनुहार बिगारेर जवाफ फर्काइ हाल्छन्
“गोपालजी जाबो माओवादीमा के प्रवेश गर्थे? तपाईँ जस्तै एक वर्षको समयसीमा दिएर हावा कुरा गर्दिन म। बरु अबको पाँचसात वर्ष भित्रै जनार्दन भने कांग्रेसमा प्रवेश गर्न सक्छन् ।”

जब उनीहरुको बहस तिर मेरा कान पनि सोझिए, मैले के निश्कर्ष निकालेँ भने यी दुवैको कुरा उत्तिकै हावादारी हो। कुरा हावादारी नै किन नहोस् हावागफले भए पनि टाउको देखि पाइतालासम्म खनिएको दाङको हप्हपि गर्मीलाई अलिकति चिस्याउन भने मद्दत गरेथ्यो मलाई।
सडक भरि मान्छे र गाडीमोटरको भीडभाड छिचोलिन सक्नु छ। अगाडि लागेका ट्रकहरुले पछाडिका मिनिबस, जिप, कार, मोटरसाइकल, रिक्सा र साइकलहरुलाई बाटो छोडेका छैनन्। यसै कारणले बाटोमा ट्राफिक जाम बढिरहेको छ। गाडी मोटरका ट्याँट्याँ-टुँटुँ हर्नले कानको जाली उडाइ रहेको छ। त्यही हर्नमाथि परपरबाट ट्राफिक प्रहरीले फुकेको सिटिको सिर्रसिर्र स्वरले मुटु नै चिर्रचिर्च पारि रहेको छ।

मान्छेहरु पनि झुण्ड झुण्डमा कुनै आमसभाको जुलुस जस्तै सडकमा पोखिएका छन्। रुकुम, रोल्पा, प्युठान र सल्यान तिरका ग्रामीण भेकका मान्छेहरु उनीहरुको भेषभुषा बोलीचालीले अलग्गै खुट्टिन्छन्। ती झुण्डका नेतृत्वकर्ता भने आधुनिक पोशाकमा मोरिएका छन्। अगाडिको मान्छेले जता डोर्यागयो उतै डोरिइ रहेका छन् पछि पछिका मान्छेहरु। जीउ सडकमा भए पनि आँखा भने बजारले खिँचि रहेकोले उनीहरुका खुट्टाहरु लरबरिइ रहेका प्रष्टै देखिन्छन्। बजार विशालकाय भवनहरुको छातिमा मात्र नअटाई सडकको कटिमा पनि छरिएको छ। “जनार्दन कहाँ काँग्रेसमा प्रवेश गर्ला ? ऊ त ढिट पो छ त ! आफ्नो सिद्धान्तमा मरिगए चलमल गर्दैन ऊ ।” हिरालाल प्रतिवाद गर्छन्।


“आफ्नो सिद्धान्तमा त हिँड्याहिँड्यै हो ! शान्ति प्रक्रियामा आएको आठ दश वर्षमै एमालेमा मिसिन थालेको थाहा छैन कि क्या हो ?” खम्बुले ओठ लेब्र्याइ दिए।

मेरा कान अझै ठाडाठाडा भए। मैले यो कुरा पनि हावादारी ठानेछु, मेरो ओठबाट फुत्त बोली छुटिहाल्योः “माओवादी र एमालेको बीचमा कसरी एकीकरण होला र ? यो तपाईँहरुको भ्रम मात्रै हो। माओवादी अहिले काँग्रेससँग चोसो जोडेर गठबन्धनको सरकार चलाइ रहेको छ। स्थानीय चुनावमा ठाउँठाउँका एमालेका उम्मेदवारहरुलाई माओवादीले र माओवादीका उम्मेदवारलाई एमालेले धुलो चटाइ दिएका छन्।

विपरीत ध्रुवका देखिने कम्युनिष्टहरु कसरी मिल्लान् र खोइ ?” खम्बु भन्दा पहिले हिरालालले नै मेरो संशय थामथुम पारिदिएः “हो दाजी। यिनीहरुको एकीकरणको कुरा त साँचो नै हो। एकीकरणको अन्तिम प्रयासमा छन् रे माओवादी र एमाले। माओवादीको तर्फबाट जनार्दनले नै पहल गरि रहेका छन् रे।”

मैले पत्याइन र खम्बुलाई हेरेँ उनी विजय भाव जस्तै मुस्कानमा थिए । हिरालाल भने मउपर नै खनिएः “क्या हो दाइ ? काठमाण्डौबाट ताजाताजा खबर ल्याउनु भएको होला भनेको त करोडौँ नेपालीले चाल पाइ सकेको खबर पनि सुइँपत्तो नभएको जस्तो गर्नुहुन्छ त ?” उनको व्यङ्ग्यले ममाथि अरु चीसो थपिन्छ,”हो त,मेरो एउटा खराब बानी छ। न म रेडियोटिभि सुन्छु, न दैनिक अखबारपत्रहरु नै पल्टाउँछु। अनि कसरी थाहा हुन्छ समाज र राजनीति ?” उनको व्यङ्ग्यले मेरो जीऊमा तातो खन्याउनु पर्नेमा भैरहेको अचाक्ली गर्मीलाई नै शितलता प्रदान गर्न सहायक बन्छ।
खम्बु मेरो नजिककै भाइ हुन्। हामीबीच कहिले पनि राजनीतिक गफ हुँदैनन् र कहिले काँही उक्सिहाले पनि मसँग त्यस प्रकारको बहसमा उत्रन चाहँदैनन् उनी।

हिरालालले नै खम्बुलाई उकास्न खोज्छन् :

“काँग्रेस र राप्रपा पनि एकीकरण हुँदैछ रे नि। त्यसो भयो भने अब नेपालमा जम्मा दुई पार्टी मात्र कायम रहने छन् ।यसले साँच्चिकै शान्ति पुनर्स्थापना हुनेछ र अनि मात्र नेपालको विकासले गति लेला ।”
“खोइ ? उत्तर र दक्षिणले मिल्न दिए त हो। नेपालमा शान्ति स्थापना भएको हेर्ने चाहना अन्तर्राष्ट्रिय स्तरमा कसलाई पो होला र ?” “केको उत्तर र दक्षिण हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नुहुन्छ ? तपाईँ हामीहरु नै राजनीतिक दलहरु मिलेको देख्न चाहँदैनौँ। बामपन्थी मिलेको तपाईँलाई मन पर्दैन, दक्षिणपन्थी मिलेको मलाई मन पर्दैन।” हिरालाल अरु जोस्सिए।


“त्यो त हो। हामी जनतामा राजनीतिक चेतनाको कमी छ। राम्रो नराम्रो छुट्ट्याउन सक्दैनौ। हाम्रो संयमता र विवेकले भविष्यमा नेपाल सुन्दर र विकसित भएको हाम्रा सन्तानहरुले देख्न भोग्न पाउनेछन् भन्ने तिर सोच्दै सोच्दैनौँ। एक पटकको अशान्तिबाट तर्सिएका हामीहरुमा त्यो डर हराइ सक्यो। एक अर्कामा विश्वास नै छैन। कम्तिमा हामीले जे भोग्यौँ त्यो सन्तानले नभोगून् भन्ने किन सोच्न नसकेका हौँला हामीहरुले !” खम्बुले स्वर मसिनो पार्ने प्रयास गरे।


“जनता मात्र के भन्नुहुन्छ ? गएको रुकुमकै चुनावमा देख्नु भएन ? नेता नेताबीच काटमारको माओवादी हो, को होइन, छुट्ट्याउनै मुश्किल ! काँग्रेसले पनि माओवादीको व्यवहार त देखाउँदो रहेछ त ? आफूले एक्लै शक्ति हत्याइरहनको लागि जनतालाई बझाएर भए पनि आफू सुरक्षित हुन खोज्छन् जो पनि ?” हिरालाल पछि पार्न चाहँदैनन् आफूलाई। “माओवादीले माओवादीकै व्यवहार देखाइ रहँदा काँग्रेस काँग्रेस मात्रै भएर बस्नकसरी सक्ला त ?” अलिकति स्वर ठूलो पारे खम्बुले।


“कुरो त्यो होइन खम्बुजी। माओवादीले “अब हामीले विगतको माओवादी व्यवहार देखाउने छैनौ ” भनेर कसम खाइ रहेका छन् । उनीहरु एमालेसँग मिल्न खोजेको यो पनि एउटा आशय हुन सक्छ । माओवादी सेफ ल्याण्डिङ खोज्छ, तर काँग्रेसले माओवादी आकाशमै चक्कर काटिरहोस् भन्ने चाहन्छ ! अनि भुत्रो हुन्छ शान्ति !!”

यति खेरसम्म देवकुमारी पनि नजिक आइ पुगेकी रहि छन्, मलाई अलिकति पर तानेर हिरालाल तिर औँल्याउँदै सोधिन्,”के हाम्रा भाइ पनि माओवादी हुन् र ? माओवादीकै सपोर्ट लिइ रहेका छन् त ?”
मलाई आफ्नो जुवाइँ कुन पार्टिका शुभचिन्तक हुन्, थाहा छैन। केही अघिसम्म उनी खलंगामा व्यवसाय चम्काएर बसेका थिए। शुरुमा कपाल काट्ने देखि फस्टाएको उनको व्यवसाय प्रसिद्ध जिल्लाकै फोटो व्यवसाय र इलेक्ट्रोनिक्स व्यापारसम्म उक्लियो। अन्य व्यावसायिक सम्भावनातिर पनि हात हाले। जेमा हात हाले त्यसैमा सफल पनि भए।

हुलाकको सहायक स्तरको जागिरीबाट उन्नति गरेर अहिले खरिदारमा पुगेका छन्। चासो सबै तिर राख्छन् उनी। मुसिकोट सदरमुकामको मुटु बजारमै बसेर आहारिश लाग्दो व्यवसाय चलाउन माओवादी समर्थकलाई सम्भव छैन भन्ने सम्म अड्कल काट्न सक्छु म। तर देवकुमारीलाई जवाफ नदिए कुरा लुकाएको अर्थ लाउन सक्छिन् उनी । उनलाई भन्छुः

” उहाँ माओवादी त होइन होला। यहाँ पाहुनाको रुपमा आइ पुगेका जेठानको पक्षमा बोलिदिनु पनि एउटा आतिथ्यताको कर्तव्य ठान्न सक्छन्,एक असल जुवाइँले ।” उनले ओठ लेब्र्याइ दिइन्,”खुप्पै आफू त कत्ति न माओवादी भए जस्तो ! उनीहरुबाट भागीभागी हिँडेको बीस वर्ष भन्दा बढी भैसक्यो ।” मेरो जवाफ देवकुमारीलाई त के म आफैलाई चित्त बुझि रहेको छैन।


“अरु जे भए पनि गोपालजी र जनार्दन दुवै मिलेर दाङ देखि रुकुमसम्म ६ लेनको सडक बनाए भने यिनीहरुको राजनीति जोगिएला। उनीहरुसँग प्रतिष्पर्धा गर्ने नयाँ सोचका अरु युवाहरु जुर्मुराइ रहेका छन्। नत्र त केही वर्ष भित्रै पत्तासाफ हुन्छन् यिनीहरु दुवै।” अर्को अड्कल तेर्स्याए हिरालालले।

“दुई लेनको मात्र सडक बनाइ दिए त कति १ ६/६ लेनको सपना ? आज भोलि त के अबको सय वर्ष पछि सम्म पनि त्यो हिम्मतवाला जन्मने छैन रुकुममा।” फेरि ओठ लेब्रयाइ दिए खम्बुले।
“तपाईँ दुई लेन भन्नुहुन्छ ? एक लेनकै पिच भैसकेको सडक नब्बे प्रतिशत भत्कि सकेको छ। दिनहुँ दुर्घटनाले धनजनको अपुरणीय क्षति भइ रहेको छ। यात्रु र चालकमा कुनै अनुशासन छैन र कारबाही पनि हुँदैन। नेपाल बिग्रिएको त्यसै हो र ?”

“भत्केको ठाउँमा एकमिटर जतिमा श्रमदान गराएर बाटो मर्मत गरेमा अर्को पार्टिको मान्छेलाई हिड्न नदिने योजना बुन्छन् तिम्रा पार्टिका मान्छे। यत्रो हुन्छ विकास !” खम्बुले याँक्न खोज्छन् हिरालाललाई, “जलेखर्कबाट खारा तिर लाग्यो र मात्रै ! माछ्मी तिर लागेको भए राप्ती लोकमार्गको सट्टातिम्रो पार्टिको नाममा राजमार्ग दर्ता हुन्थ्यो।” “नाममा के छ र ? आखिर सडक जताबाट गए पनि जनार्दन हिड्ने होइनन् क्यारे,त्यो बाटोबाट !” खम्बुको झटारो, “तिम्रा गोपालजी पनि त खाराको बाटो ओहोरदोहोर गरेको अहिलेसम्म सुनेको छैन मैले!”हिरालाल झटारो उल्ट्याइ दिन्छन्।

हामी गफमा भुल्दै विपि चोकबाट पश्चिमतिर लागि सकेका छौँ । पूर्वपश्चिम तिर जान तयार भएका प्रत्येक गाडीका सहचालकहरुले हामीलाई देख्ने बित्तिकै जाने हो दाइ भन्दै गाडी रोकेर हाम्रो झोला समात्न आइ पुग्छन्। हाम्रा झोलाहरु देखेरै उनीहरु पक्का पनि आफ्नै गाडीका सम्भावित यात्री हुन सक्छन् भन्ने भ्रम पाल्छन् एकछिनलाई। हामीले “होइन” भन्ने जवाफले उनीहरुको भ्रम चिरिदिए पछि मात्र ढ्याक्ढ्याक ढोका बजाउँदै गाडीलाई अगाडि बढाउँछन्। एउटा थोत्रो गाडीको सहचालक जति पनि विवेक नभएको जस्तो लाग्छ मलाई नेताहरु।


मलाई भने हिरालाल र खम्बुको कहिल्यै नटुङ्गिने राजनीति-लेपित बहसले अरु थकाइ रहेको छ। देवकुमारीले त यत्रो गर्मीमा पनि सलले कान बुजिने गरी पगरी गुथि सकेकी रहिछन्।
“भयो राजनीतिक बहस छाडि दिऊँ। दुवै जना मलाई भेट्नभनी आफ्नो काम छोडेर टाढाटाढाबाट आउनु भएको छ। बरु परिवार तिरको हालखबर सुनाउनुहोस्। सामाजिक, साँस्कृतिक परिवर्तनका कुराहरु गरौँ, विज्ञान-प्रविधिका विकासका कुरा गरौँ बरु। राजनीतिक घोचपेचले हामी आफैलाई एकछिन त सम्हाल्न सक्दैनौ, आफ्ना सन्तानको भविष्य कसरी सोच्न सकौँला ?” मैले उनीहरुको तातिँदै गएको बहसलाई सेलाउने हिसाबले थामथुम पार्न खोज्छु।


“हो नि दाइ। हाम्रो सन्तानको लागि भए पनि हामीमा संयमता आवश्यक छ। कम्तिमा हामी नातेदारहरुबीच मात्र भए पनि मेलमिलाप अपरिहार्य छ ।” खम्बु मेरो भनाइमा सहमति जनाउँछन्।

“त्यही भएर त एमाले र माओवादी मिल्दै छन् नि।” हिरालालले घुमाउरो पाराले मलाई नै समर्थन गर्न खोज्छन्। “मिले ठीकै छ नि त। भोलि काँग्रेस र राप्रपा पनि मिल्ला। मिल्नु नै राम्रो ।” खम्बुको उद्गार।


“यो ध्रुवीकरण मेलमिलाप तिरको बाटोतिर जाला जस्तो त लाग्दैन मलाई। एक अर्काप्रति शक्ति प्रदर्शन मात्र हो। अझै ठूलो शक्ति सञ्चय गरेर एक अर्कामा एकैचोटी खनिन चाहन्छन् जस्तो लाग्छ। एउटाले अर्कोलाई सिध्याउने बाटो हो यो त।” हिरालालले सन्देह व्यक्त गर्छन्।
“सधैँ द्वन्द्व भइ रहनु भन्दा त एक न एकलाई सिध्याए पनि भलै हुन्थ्यो जस्तो लाग्छ मलाई त!” देवकुमारीले बल्ल मुख खोलिन्।

“हैनहैन, त्यसो होइन। अहिलेको जमानामा त्यसरी सोच्न पनि त भएन । राजालाई सिध्याउन पट्टि लागे राणाहरु, राजा सिध्धिएनन्। राणालाई सिध्याउनपट्टि लागे राजा, तर राणाकै सहयोगले पुनः आफ्नो शक्ति प्राप्त गरे। पञ्चायतले काँग्रेस सिध्याउन खोज्यो, काँग्रेसले पञ्चायत सिध्याउन खोज्यो। माओवादीले आफूइतर बाँकीलाई सिध्याउन खोज्यो। खोइ को सिध्धियो ? सिध्धिने सिध्याउने खेलले हाम्रो आफ्नै निजी भविष्य मात्रै सिद्धिने हो । आफ्नै सन्तान दरसन्तानको भविष्य सिद्धिने मात्र हो।” मैले देवकुमारीलाई नै सम्झाउन खोजेँ।


“हैन, दाजी, हैन। भाउजुले ठीकै कुरा गरि रहनु भएको त छ नि ! मैले भनेको थिएँ नि “गोपालजी माओवादीमा प्रवेश गर्दैछन्” भनेर। हो त्यही कुरालाई समातेर भाउजुले यो कुरा भन्नु भएको हुनुपर्छ। अब गोपालजी माओवादीमा आइदिने र माओवादी पार्टिको नाम काँग्रेस पार्टि नै राखि दिए पछि कोही सिद्धिने र कोहीले सिध्याउने कुरै बाँकी रहेन । हैन त भाउजु ? म तिर हेरेर आँखा झिम्क्याउँ छन् हिरालाल।


“कति गोपालजीको कुरा मात्रै काट्नुहुन्छ तपाईँ ? जनार्दन पनि त काँग्रेसमा जान सक्छन् नि ?” खम्बुको चित्त बुझ्दैन। “उनी जाँदै जाँदैनन् र त बरु गोपालजी नै आइदिए हुन्थ्यो भनेको हो नि मैले।”
“बोलीले मात्र नगएर हुन्छ ? खै जनार्दन आफ्नो बाटोमा हिँडेको ? गोपालजी जुन बाटो हिँडेका थिए, त्यही बाटोमा त हिँड्दै छन् नि जनार्दन पनि। खै फरक ? के देख्नु भएको छ ? किट्याएर भन्नुहोस् त।”
“मान्छे हिड्ने बाटोमै हो नि। अबाटोमा त पशुपन्छी मात्रै हिँड्छन्। बाटो सबैको उही हो। हिड्ने तरीका पो फरक हुन्छ त !”
“कसरी फरक हुन्छ ? दुई खुट्टा एकैचोटी बुर्लुक् बुर्लुक उचालेर हिँड्छन् तपाईँका पार्टिका मान्छे?”
“खुट्टा मात्र किन उचाल्ने ? जीउ नै उचाले पुगेन ? बाटोको सट्टा आकाशमा उड्न पनि सकिन्छ नि!”
“ए हजुर, आकाशमा पनि बाटो हुन्छ नि ! आकाशमा निश्चित बाटो नहुने भैदिए आकाशमा उडिरहेका प्लेनहरु दिनदिनै दुर्घटना हुन्थे । चराचुरुङ्गीको पनि आफ्नै बाटो हुन्छ आकाशमा । कहिलै चराहरु जुधेर खसेको देख्नुभा छ ?”

“मैले आकाशको बाटोको कुरा कहाँ गरेको छु र रुगोरेटो मात्रै हुँदा पनि एउटै बाटोमा हिँडेका हुन् जनार्दन र गोपालजी। घोरेटो बन्यो एउटै बाटो हिँडे। सडक बन्यो एउटै सडकमा गुडे । हेलिकप्टर र प्लेन आयो एउटै प्लेनमा उडे। जनार्दन बसेको प्लेनको सिट सुँघेर यो सिटमा त बस्दिन भनेर गोपालजीले भनेको समाचार सुन्नु भएको छ कतै ?”

“भर्खरै आफैले भनेको कुरालाई मैले भनेको होइन भन्नुहुन्छ। भो तपाईँसँग पनि के कुरा गर्नु !” खम्बुले विवादबाट हातधुन खोजे। “त्यही त हो मैले भनेको पनि। हामी हामीबीच मात्र यी कुरा नगरौँ । यो कुरा जनार्दन र गोपालजीसँग पनि गरौँ भन्दै छु त म पनि। तपाईँ नै उनीहरु एउटै बाटो हिँड्दै हिँड्दैनन् भनेर कुरा काटि हाल्नुहुन्छ। अनि ?”


“ए बाबा, मैले त्यो भनेकै होइन । तपाईँले नै जुराइ रहनु भएको छ तिनी कुरा।” “कहाँ जुराएँ मैले रुथाहा छ ? जनार्दन रुकुमबाट दाङ तिर र गोपालजी दाङबाट रुकुम तिर जाने दिन एकै दिन परेमा पहिले बाटो कसले छोडिदिन्छ ? मलाई भन्नुहोस् त !” “गोपालजीले किन छोडि दिने ? रुकुमका हरेक विकासको रोडम्याप नै उनैले कोरेका हुन्। त्यही रोडम्यापको एउटा अंश यो बाटो पनि हो। आफ्नो बाटो किन छोडि दिने ?”

“रोडम्याप मात्र कोरेर हुन्छ ? त्यसको निकास दिनु पर्दैन ? त्यो श्रेय त जनार्दनलाई नै जान्छ नि। अनि जनार्दनले पनि किन छोडि दिने आफ्नो बाटो हँ ? जनार्दनले मात्र बाटो छोडून् भन्न खोज्नु पनि कतै समस्याको निकास हो ?” दाइने हातले पसिना पुछे हिरालालले। “कहाँको कुरा कहाँ पुर्यााएर जोड्नुहुन्छ तपाईँ पनि ! तपाईँसँग केही कुरा गर्न सक्दिन म !” खम्बु अलग्गिन खोज्छन्।


“हो ! यदि दुवैले छोडेनन् भने के हुन्छ थाहा छ ? सिङ्गल लेनको बाटोमा एक आपसमा ठोक्किएर दुवैको गाडी भिरमा जाकिन सक्छन्। तसर्थ यिनी दुवैलाई जोगाउनको लागि कम्तिमा दुई लेनको बाटो बनाइ हाल्नुपर्छ भनेको हुँ मैले।” अब हामी तुल्सिपुर बसपार्कमा पुगि सकेका छौँ। कुनै गन्तव्यमा छुट्नै आँटेका कर्कश ध्वनि सहितका गाडीहरुको जुलुस भयानक छ। रुकुम जाने गाडी छुट्नै थालेको रहेछ। मैले हत्तपत्त टिकट काटेँ र हामीहरु रुकुम जाने गाडीमा चढ्यौँ ।


उनीहरु दुवै जनाको विवाद टुङ्गिएको छैन । न त कहाँ आइ पुगेका छौँ भन्ने अत्तोपत्तो छ, न त के उद्देश्यको लागि यहाँसम्म आइपुगेका हौँ भन्ने नै याद छ। उनीहरु विवादको गहिराईमा यति डुबेका थिए कि हामीले ओकलेका विदाइका स्वर सुन्दै सुनेनन्। हामीले हल्लाएका विदाइका हात तिर हेर्दै हेरेनन् ।

हाम्रो गाडी अब उनीहरुलाई तुल्सिपुर बसपार्क छोडेर अगाडि बढ्यो। हाम्रा नजरले भने झ्यालबाटै उनीहरुमा अड्कि रहेका थिए परपरसम्म । दुवैजना बसपार्कको ठीक बीचमा उभिएर हात हल्लाइहल्लाई विवाद गरि रहेका थिए।

अझै उनीहरुको टड्कारो विवाद कानमा ठोक्किइ रहेको थियोः ‘हेर्दै जानुहोला गोपालजी माओवादीमा पक्का प्रवेश गर्ने छन् !’
“तपाईँ पनि हेर्दै जानुहोला जनार्दन नै पहिले काँग्रेसमा प्रवेश गर्ने छन् !”
“होइन, तिमीले नै देख्नेछौ !”
“होइन, तिमीले नै बुझ्नेछौ ।”
“हेरौँला !”
“देखौँला !”
देवकुमारीले मलाई कोट्याउँदै भनिन्,’यिनीहरु यही विवादमा लडाइ भिडाइ नै गर्न थाले भने? कम्तिमा उनीहरुबीचको झगडा छिनालेर मात्र बस चढेको भए पनि हुने !’
“यस्ता गफहरुको निश्कर्ष कहिले पनि निस्कँदैन । तर नडराऊ । लड्ने भिड्ने अवस्थासम्म यी दुवैजना पुग्दैनन्।’
‘मैले त अझै बुझि रहेकी छैन, नन्दे भाइ कहिले देखि माओवादी भए भनेर! अनि तिनीहरु लड्दैनन् भन्ने आधार के छ तपाईँसँग ?’

‘माओवादीको तर्फबाट गफ गर्नको लागि मात्र माओवादीको टिकट लिनै पर्छ र? हामीलाई भेट्न माओवादी तिरका मान्छे जो आउनु पर्थ्यो ती कोही आइ दिएनन् भन्ने दुखेसो पनि थियो होला उनीहरुको। त्यसैले एकजनाले भए पनि माओवादीको भूमिका निभाउनु नै थियो हाम्रो बाटो कटाउनलाई। यदि हिरालालले काँग्रेसको भूमिका निभाइ दिएको भए खम्बुले माओवादीको भूमिका निभाइ दिनु पर्थ्यो। यस कारण उनी भिड्दैनन् यसर्थ कि दुवै जनाको बिचार एउटै हो। दुवै संयमित पनि छन् र दुवैजनाले राजनीतिक कुराहरु धेरै बुझेका छन् पनि।’ मैले उनलाई अर्थ्याउने पाराले भनेँ।
‘किन भूमिका निभाउनु पर्ने र?’ बरु देवकुमारीले मेरो अर्थ बुझ्दै बुझिनन्। ‘किन भने माओवादी नेताहरुलाई आफ्ना समर्थकहरु भेट्ने र राजनीतिक बहसमा उत्रने फुर्सद नै छैन हिजो आज। उनीहरु सरकारी काममै व्यस्त छन्। उनीहरुको ठाउँ कसैले न कसैले त लिइ दिनै पर्योो नि !’
‘यो चाँहि तऽऽऽऽऽऽतपाईँको भ्रम हुन सक्छ !’
‘हैन, मलाई नै दिग्भ्रमित देख्नु त तिम्रो पो भ्रम हो!’
”हैन, हैन, यो त सरासर तपाईँकै भ्रम हो!’
”हामीलाई नै दिग्भ्रमित तुल्याउन खोज्ने उनीहरुको अर्को दिग्भ्रम पनि हुन सक्छ नि !’
”उसो भए भ्रमितहरु बिचको विवाद! कति रमाइलो हगि ? तर यो चाँहि तपाईँकै भ्रम हो। उनीहरुले हामीलाई भ्रमित तुल्याउन खोजेको भए किन हामीहरु हिँडि सके पछि पनि उही विवादमा अल्झि रहेका हुन्थे र ?’

‘भ्रम’ मात्र नबुझ न,’दिग्भ्रम’ फरक कुरा हो।’ म देवकुमारीउपर नै झोक्किएँ।
उनले वाल्ल परेर मलाई मात्र हेरि रहिन्। गाडी दाङ भ्यालिलाई छाडेर कपुरकोटको उकालो चढ्न थाल्यो। बाटो पहिलेको तुलनामा झनै बिग्रँदै गएको थियो। देवकुमारीको उलुलुलुलु बान्ता शुरु भइहाल्यो। उनको अवस्था तथा गाडीको निरन्तरको जोल्ट्याइले गर्दा हिरालाल र खम्बुबिचको विवाद मेरो दिमागमा झनै छताछुल्ल हुन थाल्यो। विवादका दुवै पात्रहरु त्यहाँ नअटेर लडिबुडी गर्दै ‘राम्री’को बिग्रेको बाटोमा लरबरिन थाले।

पुर्ण ओली द्धारा लेखित यो लेख साहित्यमा आधारित छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: