आषाढ़ १ गते, २०७६

ठकुरीहरुको बर्चश्व हुनुमा मुख्यमन्त्री महेन्द्र र अध्यक्ष धनजीत शाहीको मुख्य भूमिका

पटक हेरिएको

-प्रेम पाण्डेय

कालिकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कालीकोटको जिल्ला कमिटिमा ६५ जना ठकुरीहरुले जिल्ला समिति सदस्यमा चयन हुने सौभाग्य पाएका छन्। १ सय ३५ सदस्यीय जिल्ला समितिमा यो सबै भन्दा धेरै ४८ प्रतिशत सहभागीता हो। दोस्रोमा क्षेत्री समुदायको सहभागीता छ। क्षेत्री समुदायबाट २५ प्रतिशत अर्थात् ३४ जना जिल्ला समिति सदस्य चयन भएका छन्। तेस्रोमा बाहुन समुदायको सहभागीता छ।

यो समुदायबाट १६ प्रतिशत अर्थात् २२ जनाले जिल्ला समिति सदस्य हुने अवसर पाएका छन्। दलित समुदायबाट सबै भन्दा कम १४ जना मात्र अर्थात् १० प्रतिशत जिल्ला समिति सदस्यमा चयन भएका छन्। कालीकोटका प्रत्येक गाउँबस्तीमा रहेको दलित समुदायको जनयुद्धमा सबै भन्दा बढी सहभागीता थियो।

अहिले त्यो समुदायबाट जिल्ला समितिमा सबै भन्दा कम प्रतिनिधित्व हुनु दुर्भाग्य भएको दलित अधिकारकर्मी बताउँ छन्। कालीकोटमा भोट बैंकको रुपमा देखिएको दलित समुदाय यति थोरै संख्यामा जिल्ला समितिमा पर्नुमा ठकुरी समुदायबाट नेतृत्वमा पुगेका नेताहरुको मुख्य हात रहेको दलित अधिकारकर्मी बताउँ छन्।

कालीकोटमा एक पटक ठकुरीहरुको दबदबा थियो। जसका कारण अन्य समुदाय उनीहरुबाट पिडित थिए। कालीकोटका बिभिन्न समुदायका मानिसहरु ठकुरीहरु भन्दा धेरै जनयुद्धमा सरिक भएका थिए। तर नेतृत्वमा पुगेका ठकुरी जातका नेताहरुका कारण दलित, बाहुन र क्षेत्रीहरुको सहभागीता न्युन रहेको दलित अधिकारकर्मी बताउँछन्। कुनैबेला ठकुरीहरुले आफूमाथि गरेको अन्याय र अत्याचार सहन नसकि कालीकोटका प्रभावशालि नेता एवं पूर्वमन्त्री खड्कबहादुर विश्वकर्मा सबै भन्दा पहिले जनयुद्धमा सहभागी भएका थिए। अहिले फेरि कालीकोटमा ठकुरीहरुकै दबदबा दोहोरिएको छ।

उसो त २०७४ सालको निर्बाचनमा कालीकोटमा पूर्व माओवादीबाट उम्मेद्वार बनेका दुर्गबहादुर राउतले नेपाली कांग्रेसका उम्मेद्वार भुपेन्द्रजंग शाहीलाई ५ हजार मतले मात्रै पराजीत गरेका थिए। त्यसो हुनुमा पूर्व माओवादी तथा पूर्व एमालेमा आबद्ध ठकुरी समुदायका प्रायः नेताहरुले आफ्नो समुदायका नेता कार्यकर्तालाई ठकुरी उम्मेद्वार अर्थात् भुपेन्द्र जंग शाहीलाई नै मतदान गर्न निर्देशन दिनु मुख्य बिषय भएको गोप्य सुत्रले जानकारी दियो। आगामी दिनमा ठकुरीहरुको यस्तै दबदबा रहेमा अन्य समुदायका नेता तथा कार्यकर्ता र जनताहरु एकजुट हुने विश्लेषण गर्न थालिएको छ।

ठकुरीहरुको शासन शैली फेरि दोहोरिएको र कालीकोटमा फेरि एकपटक आन्दोलनको आबश्यकता रहेको दलित अधिकारकर्मीहरु बताउँ छन्। नेकपा कालीकोटको जिल्ला नेतृत्वमा यति धेरै संख्यामा ठकुरीहरु नै पर्नुमा कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही, नेकपा कालीकोटका अध्यक्ष धनजीत शाहीको मुख्य हात रहेको बताइएको छ। उनीहरुकै कारण पुराना, इमान्दार, त्यागी कार्यकताहरुलाई पाखा लगाउँदै ठकुरी समुदायकालाई बढी भन्दा बढी प्राथमिकता दिईएका कारण कालीकोटमा असन्तुष्टी चुलिएको सर्बत्र चर्चा छ।

पूर्व माओवादीमा बढी असन्तुष्टी

नेपाल कम्युनिष्ट पार्टी कालिकोटमा १ सय ३५ सदस्यीय जिल्ला समिति गठन भए पछि पुर्व माओवादी कार्यकर्तामा पार्टी एकताको उत्साहभन्दा असन्तुष्टी चुलीएको छ। दुई पार्टी एकतामा पूर्व एमालेभन्दा पूर्व माओवादीमा असन्तुष्टी चुलिएको हो। पूर्वमाओवादीमा परिवारवाद हावी भएको,नेताहरुको जिल्ला समिति लैजाने मापदण्ड नमिलेको भन्दै पूर्व माओवादीबाट जिल्ला समितिमा परेका नेताहरु समेत असन्तुष्ट भएका छन्। उनीहरुले सामाजिक संजालमा आफ्ना भनाई सार्बजनिक गर्दै टिकेपर्थाको बिरोध गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहले सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई सार्बजनिक गर्दै जिल्ला कमिटि छनौट र प्रदेश कमिटि छनौटको बिधि फरक फरक बनाएकोमा नेतृत्वलाई व्यंग्य गर्दै बधाई दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘ जिल्ला कमिटी छनौट र प्रदेश कमिटी छनौटको बिधि फरक फरक बनाई सिनियर कमरेडहरुलाई पाखा लगाउने जिल्ला नेतृत्वलाई बधाई छ।’

त्यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)का कालिकोट जिल्ला सचिव तथा तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सचिव मनसिंह शाहीले कमिटि क्षमता र क्रियाशिलतामा आगो लगाईएको भन्दै कमिटी चयन प्रणालीप्रति बिरोध गरेका छन्। ‘नेकपा कालिकोटको जिल्ला कमिटीमा क्षमता र क्रियासिलतामा आगो लगाईयो। उनले लेखका छन्, आसेपासे र गुलामी गर्नेहरु मात्र नेता बने।’

पूर्व माओवादीबाट जिल्ला कमिटिमा समेट्दा घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता परिवार, लामो समयसम्म पार्टीमा काम गरेका इमान्दार नेता–कार्यकर्ता,भुगोललाई ध्यान नदिएर आफ्ना आफन्तलाई समेटेको एक नेकपामा नेताले बताए। ‘नाता गोता र आफन्तलाई मात्र समेटेएिको छ।’ उनले भने,‘यसमा मुख्य हात जिल्ला अध्यक्ष धनजीत शाही र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका कारण पार्टीमा लामो समय योगदान गरेकालाई पाखा लगाइयो।’

श्रीमान- श्रीमति नै जिल्ला कमिटिमा

पूर्व माओवादीबाट जिल्ला समितिमा पर्नेमा एकै घरका दुई जनासम्म छन्। त्यस्तो सौभाग्य पाउने जोडिमा पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवाल र उनकी श्रीमति अल्किना बम, दुर्गाप्रसाद काफ्ले र बिनिता शाही रहेका छन्। उनीहरु नाताले श्रीमान र श्रीमती हुन्। उनीहरु पर्नुमा उनीहरु ठकुरीहरुकै ज्वाई भएका कारण पर्ने सफल भएको चर्चा गरिएको छ। अन्य थुप्रै जोडि यस्ता भएपनि उनीहरु जिल्ला समितिमा परेनन्।

दलित अधिकारकर्मीको बिरोध

नेकपाको कालिकोट जिल्ला समितिमा जनसंख्याको आधारमा पनि दलित प्रतिनीधित्व नभएको भन्दै बिरोध भएको छ। कालिकोटका दलित अधिकारकर्मी बाले बिश्वकर्माले सामाजिक संजाल फेसबुकमा एउटा चार्ट हालेर ‘जनसंख्याको आधारलाई हेर्दा सामाजिक समावेशीकरणमा अभाव भए जस्तो लाग्यो’ भनेर लेखका छन्।

त्यस्तै, अर्का दलित अधिकारकर्मी रमेश नेपालीले ‘हाम्रो कम्युनिष्ट पार्टी कालिकोटमा सामाजिक समावेशीकरण नभएको भन्दै पार्टीमा योगदान र क्षमताको कदर नगरी आफ्ना आसेपासे तथा चाप्लुसे गर्ने ब्यक्तीको बचश्र्व भएको लेखेका छन्। उनले सामाजिक संजालमा जिल्ला कमिटिमा कुन जाती कति समेटिएका छन् भनेर चार्ट समेत पोष्ट गरेका छन्।

जिल्ला अध्यक्ष भन्छन्,‘एकता प्रक्रियामा सबैलाई समेटन् सकिएन

पूर्व माओवादीका नेता तथा नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले पार्टी एकता प्रक्रिया जाँदा सबैलाई समेटन् नसकिएको बताए । पार्टी एकता प्रक्रियामा जाँदा माओवादीमा धेरै कार्यकर्ता रहेको र सबैलाई समेटन् नसकिएको उनले बताए। ‘सबै कार्यकर्तालाई हामीले समेटन् सकेनौं।’ उनले भने,‘पूर्व माओवादीमा धेरै नेता थिए।’

पूर्व एमालेमा कुनै असन्तुष्टी छैन

नेकपा कालिकोटका जिल्ला समितिमा पूर्व एमालेका सबै जिल्ला कमिटि सदस्यहरुलाई समेटिएको छ। जिल्लाका कमिटि रहेका शिक्षक कर्मचारी बाहेकका सबैलाई पूर्व एमालेका जिल्ला समितिका सदस्यहरु अहिले निर्माण भएको जिल्ला समितिमा सदस्य बनेका छन् । पूर्व एमालेमा एकाध मान्छेमा असन्तुष्टी देखिएपनि कार्यकर्ताहरुमा उत्साह आएको पूर्व नेकपा एमालेमा अध्यक्ष तथा नेकपा जिल्ला समिति सचिव नगेन्द्र शाहीले बताए। नगेन्द्र शाहीलाई अन्य नेताहरु भन्दा तुलनात्मक रुपमा स्वच्छ छवी भएको र दुरदर्शी नेताका रुपमा हेरिएको छ।

प्रतिकृया लेख्नुहोस्: