कार्तिक ६ गते, २०७६

जङ्गबहादुर : जस्ले नेपालको नक्शा बदले

पटक हेरिएको

काठमाडौ । १८ औं शताब्दीको अन्त तिर फ्रान्सेली क्रान्तिपछि औद्योगिकिकरणको सम्हाल्नै कठिन वेगमा बढि रहेको थियो। उद्योगको उत्पादन विक्रीका लागि आवश्यक बजार र वस्तु उत्पादनको आवश्यक कच्चापद्धार्थको आपूर्ती सहज बनाउन साम्राज्यवादी हावी हुँदै थिए। यूरोपका शक्तिशाली देशहरू विश्वभर साम्राज्य विस्तार गरिरहेका थिए। फ्रान्सेली अफ्रिकामा, स्पेनिस दक्षिण अमेरिकामा र बेलायतीहरू एशिया र उत्तर अमेरिकामा कब्जा जमाउँदै थिए। ठिक त्यही समयमा नेपालको शासनसत्तामा जङ्गबहादुर राणाको उदय भयो।

बेलायतको भारतवर्षमा एकछत्र कब्जा बनिसक्दा उनले कुटनीतिक र रणनीतिक चार्तुयता देखाएर देशको अस्तित्व जोगाए। बेलायतसँग निकट सम्बन्ध बनाएकैले पश्चिमा जगतमा शासकका रूपमा बलियो परिचय स्थापित गर्ने पहिलो नेपाली हुन पुगे । बेलायत सरकारको औपचारिक भ्रमणको निम्तो पाए। दक्षिण एशियाका शासकहरूमध्येबाट बेलायतको औपचारिक भ्रमण गर्ने पहिलो शासक बने । १९ औं शताब्दीका बलियो शासकका रूपमा उनको परिचय स्थापित छ।

पश्चिमी देशहरूसम्म उनको चर्चा चल्यो । भलै कार्ल माक्र्सले जङ्गबहादुरलाई ‘बेलायतको बफादार कुकुर’ भनेका हुन् । बेलायतकी चर्चित सुन्दरी लौरा वेलसँग पनि जोडिएकाले जङ्गबहादुरको बेलायत यात्राले झनै महत्व पायो । नाम होस् या बदनाम जङ्गबहादुर विगत देखि वर्तमानसम्म गुमनाम छैनन् । एउटा क्रुर र सफल शासकको परिचय स्थापित गरेर गए।

जङ्गबहादुर नभएको भए पक्कै पनि अर्को बहादुर नेपालको प्रधानमन्त्री बन्थ्यो । तर नेपालको नक्शा बदल्न सक्थ्यो सक्थेन रु राजनीतिक दाउपेच र धूत्र्याइबाट शक्तिमा पुगेका उनले कूटनीतिक चार्तुयद्वारा देशको अस्तित्व जोगाए । एशियाभर बेलायती साम्राज्य फैलिइरहँदा बाह्य विश्वको राजनीतिक परिस्थिति बुझेर उपयुक्त कदम चाल्दै गुमेको भू–भाग फर्काए । नयाँ मुलुकको परिचय पाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अंग्रेजबाट फिर्ता ल्याए । पहाडलाई कुहिनोले ठेलेर हल्लाउन नसकिने यथार्थलाई मनन गरेर बेलायतसँग सुमधुर सम्बन्ध बनाएर सत्तामात्र टिकाएनन् । बाह्य विश्वमा नेपालको परिचय दिलाए।

वर्तमानको चश्माले हेर्ने हो भने जङ्गबहादुर क्रुर तानाशाही शासक हुन् । उनले सत्तामा पुग्न धेरैको निर्ममतापूर्वक हत्या गरे। सत्या बचाउन विपक्षीहरूको सफायालाई निरन्तरता दिए । विरोधीहरूलाई बाँकी राखेनन् । विगतको चश्माबाट हेर्दा जङ्गबहादुर परिस्थितिले जन्माएको शासक हुन्। देश भित्र बढ्दो अस्थिरता, दरबारभित्रको गुट उपगुटको विवादका अलावा बाह्य हस्तक्षेपको बढ्दो सम्भावनाबीच कठोर शासक बनेर उदाए।

राष्ट्रिय अखण्डता र सार्वभौमिकता बचाउनुपर्ने चुनौती आइपर्दा उनको उदय भयो र देशको अस्तित्वलाई सफलतापूर्वक बचाए। प्रशासनिक र सामाजिक परिवर्तनमा ध्यान दिएकाले कानुनी प्रणाली बदल्ने शासक मध्येका हुन्। देशमा बेलायतको जस्तो कानुनी शासनको प्रारम्भ गर्न मुलुकी ऐन ल्याए। बाह्य विश्वसँग बलियो गरी सम्बन्ध स्थापित गरे, सामाजिक परिवर्तनमा पहल थाले र बाह्य विश्वले प्रयोग गर्दै आएको प्रविधि देशमा भित्राउनमा योगदान दिए। उनले चालेका कदमहरूलाई केलाउँदा रणनीतिक कौशल मात्र नभई दुरदृष्टि समेत भेटिन्छ। परिवर्तनका लागि काम गरेर देखाए।

नेपालको इतिहासका अविस्मरणीय पात्र जङ्गबहादुरको जन्म १८ जून सन् १८१६ मा काठमाडौंमा भएको थियो। वास्तविक नाम वीरनरसिंह कुँवर भएपनि मामा माथवरसिंह थापाले जङ्गबहादुर नाम राखिदिएका थिए । भाञ्जा बहादुर योद्धा बनुन् भनेर नाम जुराएका थिए। मामाले जस्तो नाम राखिदिएको त्यस्तै भए । जङ्गबहादुर राजनीतिका चतुर खेलाडी बनेर निस्किए । मामाबाट राजनीतिक चार्तुयता सिके। राजनीतिक सफलताका लागि आफ्नो र अर्काको समेत नभनी काम गर्नुपर्ने अवस्था आउनसक्ने मामाले भाञ्जालाई सम्झाएका थिए।

माथवरसिंह प्रधानमन्त्री बनेपछि राजनीतिक प्रतिष्पर्धी पाँडेहरूको सफायामा सक्रिय भए । त्यस क्रममा आफन्त थापाहरू समेत कारबाहीमा परे । जङ्गबहादुरले सोधे– मामा आफन्तलाई किन कारबाही गरेको रु मामा माथवरले गम्भीर उत्तर दिएका थिए– भाञ्जा राजनीतिमा आफ्नो र अर्काको नभन्ने अवस्था पनि आउँछ। भोलि गएर तिमीलाई मैंले र मैंले तिमीलाई मार्ने अवस्था आउन सक्छ । मामाको यही राजनीतिक सूत्रलाई दिमागमा घुसाएर सत्ताको सिंढी चढे। राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष संलग्न भएर मामाको समेत हत्या गरेको दाबी एकाथरी इतिहासकारहरूको छ। राजनीतिक खिचातानीको भरपूर फाइदा उठाए।

जङ्गबहादुरका बाबु बालनरसिंह कुँवर दरबारमा कार्यरत थिए। रणबहादुर शाहलाई उनका सौतेनी भाई शेरबहादुर शाहले हत्या गर्दा बालनरसिंह प्रत्यक्षदर्शी थिए । राजाको हत्यालगत्तै उनले शेरबहादुरलाई त्यहीं मारिदिए। कदरस्वरूप बालनरसिंहले काजीको उपाधी पाए । बाबु काजी हुनु र मामा शक्तिशाली पदमा हुनुले जङ्गबहादुरले नजिकबाट राजनीतिलाई बुझ्न र सिक्न पाए। थापा खलकसँग सम्बन्ध हुनुको फाइदा मात्र भएन बेफाइदा पनि भयो । भीमसेन थापाको पतनका कारण जागिरबाट हात धुनुप¥यो।

पाँडेहरूले थापा पक्षलाई छानी छानी ठेगान लगाउँदा कलिलो उमेरका जङ्गबहादुरको जागिर खोसियो  सम्पत्ति हडपियो । महत्वाकांक्षा बोकेर १६ वर्षको उमेरमै सेनामा भर्ती भएका थिए । जागिर खोसुवाले उद्देश्यमा नराम्रो धक्का लाग्यो । केही वर्ष देश छाडी भारततिर भौतारिए। मामा माथवर पनि उतै थिए । दरबारमा पाँडेहरू कमजोर बन्दै गए । चतुर र बहादुर जङ्गबहादुरलाई युवराज सुरेन्द्रको अङ्गरक्षक बनाइयो। भावी राजाको अङ्गरक्षक हुनुको भरपूर फाइदा उठाए। काजीको उपाधी पाए।

मामा माथवर शक्तिमा आएपछि जङ्गबहादुरको दिन दुगुना रात चौगुना प्रगति हुनथाल्यो । भाञ्जाको महत्वाकांक्षा देखेर मामा समेत सचेत र शतर्क भए । दरबारभित्र चुलिएको शक्तिसंघर्षमा एकले अर्कालाई सिध्याउने क्रम चल्दै थियो । राजा राजेन्द्रकी प्रीय रानी राजेन्द्रलक्ष्मीको महत्वकांक्षा पूरा गर्न रोक्न भाइभारदारहरू पक्ष र विपक्षमा उभिए । एक अर्काविरूद्ध षड्यन्त्रहरू भए । जङ्गबहादुरले मौकाको फाइदा उठाउँदै प्रतिष्पर्धीहरूलाई सखाप पार्ने रणनीति बनाए । धेरैको रगत बगाएर सत्तामा पुगे । सन् १८४६ को कोतपर्वमा विरोधीलाई सखाप पारेर शक्तिमा पुगे । राणाशासनको वीजारोपण गरी राजालाई दरबारको चार किल्लामा सिमित राख्ने योजना बढाए ।

जङ्गबहादुरले खतरनाक षड्यन्त्रलाई चिर्दै राजनीतिक सफलता हात पारे । राजा राजेन्द्र र रानी राजेन्द्रलक्ष्मीलाई निर्वासनमा पठाए । युवराज सुरेन्द्रलाई राजा बनाएर आफ्नी छोरीहरूसँग युवराज त्रैलोक्यवीरविक्रम शाहको विवाह गराए । सुरेन्द्रका दुई छोरीहरूको आफ्ना दुई छोराहरूसँग विवाह गराएर पारिवारिक सम्बन्ध बलियो बनाए । राजेन्द्रलाई पक्राऊ गरी कारागारमा राखे ।

कारागारमै राजेन्द्रको निधन भयो । रानीको आफ्नो छोरालाई राजा बनाउने उद्देश्य असफल बनाएर नियमानुसार जेठा सुरेन्द्रलाई राजा बनाएर थितीलाई निरन्तरता दिन सफल भए । राजालाई निकै खुशी बनाएर प्रधानमन्त्री पद आफ्नै वंशमा रहने व्यवस्थालाई सदर गराउन सके । देशको सेना र प्रशासनमा राणाहरूको एकछत्र राज शुरू गरे ।

भारतभर साम्राज्य बलियो बनाउँदै लगेको ब्रिटिश कम्पनि सरकारविरूद्ध विद्रोहहरू भइरहन्थे । जङ्गबहादुरका लागि अंग्रेलाई खुशी बनाउन उपयुक्त मौका बन्यो । सन् १८५७ को सिपाही विद्रोह डरलाग्दो बन्यो । जङ्गबहादुरले विद्रोहीलाई नभई अंग्रेजलाई साथ दिए । सेना पठाए । पछि स्वयं युद्धमा सहभागी भएर सिपाही विद्रोह दबाए । भागेर लुकेका विद्रोहीलाई समेत खोजी खोजी ठेगान लगाए । लखनऊसम्म पुगेर विद्रोह दबाउन खटिएको सैन्य टोलीको नेतृत्व आफैले गरे । सन् १८१६ मा भएको सुगौली सन्धीताका गुमाइएको भू–भागमध्ये चारवटा जिल्ला फिर्ता लिन सफल भए । अंग्रेजहरूले जङ्गबहादुरलाई भ्रमणको निम्तो गरे ।

सन् १८५० को अप्रिलमा कलकत्ता हुँदै बेलायत पुगे । त्यहाँको विकास र प्रगतिबाट प्रभावित भए । फ्रान्स पनि पुगे । तर एशियाली देशहरूमा बेलायती प्रभावबारे जानकार भएकाले बेलायतसँगै सुमधुर सम्बन्ध बनाउने निधो गरी फर्किए । आफूसँग बेलायत गएकाहरूलाई त्यहाँको विकास, कानुन र प्रशासनबारे सिक्न लगाए । देश फर्किएर कानुनमा आमूल परिवर्तन ल्याए । उनकै योगदानका कारण सन् १८५४ मा मुलुकी ऐन बन्यो । त्यस अघि १७ औं शताब्दीको रामशाहकालिन कानुन चल्थ्यो । मुलुकी ऐनले परिवर्तित समाज अनुकूलका कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्यायो ।

जङ्गबहादुर पश्चिमाहरूको विशेष चासोमा परेको पहिलो नेपाली शासक हुन् । दक्षिण एशियाली शासकहरूमध्येबाट औपचारिक निम्तो पाएर बेलायत पुग्ने उनी पहिलो हुन् । सन् १९५०–५१ को बेलायत यात्राका क्रममा उनले बलियो प्रभाव देखाए । कार्ल माक्र्सले उनको कडा आलोचना गर्दै ‘बेलायतको वफादार कुकुर’ भनेका छन् । बेलायत यात्राका क्रममा जङ्गबहादुरको शान र ऐयासी जीवनयापनबारे धेरै उल्लेख पाइन्छ । तीन महिना बसाईंका क्रममा रानी भिक्टोरियासँग भेटे । त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेट्नुका साथै उनको स्वागतमा भव्य कार्यक्रमहरू राखिए । बेलायतमा खूबै मस्ती गरे ।

सुन्दरी लौरा वेलसँगको प्रेम र यौन सम्बन्ध इतिहासमा सुरक्षित छ । लौराको नाम बेलायतका शक्तिशाली व्यक्तिहरूसँग जोडिएको छ । जसमध्ये तत्कालिन बेलायती प्रधानमन्त्री ग्लाडस्टोन पनि छन् । जङ्गबहादुरले लौराको लागि साढे दुई लाख पाउण्ड खर्च गरे । महङ्गो उपहार दिए । उनीसँग नजिकिएर बसाईं लम्बाउन खोजे। तीन महिना बेलायत बसाईं नलम्बाउन साथमा गएका भाईहरू जगत शमशेर र धीर शमशेरले देशमा हुनसक्ने राजनीतिक षड्यन्त्रतर्फ ध्यानाकर्षण गराउँदै फर्कन सम्झाएका थिए।

जङ्गबहादुर शासनमा हुँदा नेपाल भ्रमण गरेका रूसी नागरिक मिनाएभले जङ्गबहादुरको मुहारमा पाशविकताको कुनै लक्षण नदेखिने वर्णन गरेका छन्। मीठो बोल्ने र भेटेको व्यक्तिलाई प्रभाव पारिहाल्ने क्षमताका थिए। त्यति बेला ५० वर्षका जङ्ग वास्तविक उमेरभन्दा कम र फूर्तिला देखिन्थे।

मङ्गोलियन अनुहारका उनी मिलनसार र बोलक्कड रहेको उल्लेख गरेका छन् । जीवन रहेसम्म प्रधानमन्त्री बनेका जङ्गबहादुरले सन् १८४६ देखि १८७७ सम्म शासन गरे । बीचमा केही समय भाई बमबहादुरलाई प्रधानमन्त्री बनाएपनि शक्तिको साँचो उनैको हातमा थियो ।

भीमसेन थापापछि सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक उनै हुन् । दक्षिण एशियाका बलिया देशहरू ब्रिटिश साम्राज्यको पकडमा पर्दै गर्दा उनले देशको स्वतन्त्रतालाई जिवित राखे। चाहे उनले बलायतीको गुलामी नै किन नगरेका होऊन्। लडेर देशको भू–भाग गुमाउनु भन्दा धरातलीय यथार्थलाई बुझेर रणनीति चाले।

नेपालको प्रशासनको आधुनिकिकरण गरेर पुरानो ऐनमा परिवर्तन ल्याए। सतीप्रथा उन्मूलनमा जङ्गबहादुरले प्रयास गरे। सतीप्रथामा केही प्रतिबन्ध लगाए। सदीऔंदेखि चलिआएको सतीप्रथा उन्मूलनको प्रयास गर्ने उनको प्रयास ऐतिहासिक बन्यो। नेपालको सामाजिक परिवर्तनमा जङ्गबहादुरको योगदान अविस्मरणीय रहेको छ।

नेपालको इतिहासको कोर्स बदल्ने जङ्गबहादुरको २५ फेब्रुअरी सन् १८७७ मा पत्थर घट्टामा आकस्मिक निधन भयो।उनको मृत्युको कारणबारे रहस्य कायम छ। तर तथ्य फेला परेको छैन। सतीप्रथा उन्मूलनको प्रयास बाबजुद उनका तीनजना विधवाहरू सती गए। जुन उनको प्रयासमाथिको धक्का थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: