आश्विन २९ गते, २०७६

‘जनयुद्धका कमाण्डर’ जो बाच्नका लागि जुत्ता सिलाउन बाध्य छन्

पटक हेरिएको

सुर्खेत । कर्णालीको राजधानी सुर्खेत, प्रदेशका अन्य सबै जिल्ला भन्दा ठूलो शहर! शहरको केन्द्र वा मुटुको रुपमा रहेको छ, विरेन्द्र चोक। राजा वीरेन्द्रको सालिक थियो पहिले। त्यही भएर पनि चोकको नाम वीरेन्द्रचोक रहेको थियो। आन्दोलनले ढलाएको वीरेन्द्रको सालिक त छैन अहिले तर चोक भने वीरेन्द्र चोकको नामबाट अहिले पनि परिचित नै छ, ठडिएकै छ। उही सालिक राखिएका राजाको सत्ता फाल्नका लागि जनयुद्धमा होमीएका एक पूर्व जनमुक्ती सेनाका एक कमाण्डरको दैनिकी अहीले सोही राजा वीरेन्द्रको नाममा राखिएको वीरेन्द्रचोकको पेटीमा बिति रहेको छ। अझ भनौं वीरेन्द्र चोकको पेटीले ती कमाण्डरको गुजरा चलि रहेको छ।

राजतन्त्रसँगै चोकको सालिक फालिए पनि अहिले राजाकै नाममा राखिएको चोकको फुटपाथमा फाटेको भविष्य सिलाई रहेका छन् फाटेका हरेक जुत्तासँगै ति पूर्व जनमुक्ति सेना। जुत्ता सिलाउनेहरुको एउटा जमात नै त्यो फुटपाथमा बसी रहेका छन्। सोही समूहका एक जना युवा छन् जो जुत्ता सिलाएर जीन्दगीका दरार सिउने कोशिस गरी रहेका छन्। दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नं. ९ स्थायी घर भएका कमल रोकाय विगत ३ वर्ष देखी त्यही वीरेन्द्र चोकमा दिनचर्या बिति रहेको छ। कमल २०५८ साल तिर जातिय तथा वर्गीय मुक्तिका लागि भनेर जनयुद्धमा होमिएका थिए। जनयुद्ध नै अब अन्तिम युद्ध हो, आफू मरेर भए पनि युद्ध जित्नु पर्छ भन्ने आदर्श कमलले जानेका थिए तर अहिले समाजका अनगन्ति युद्धहरु उनले लडि रहेका छन्। जनयुद्धको एउटा सपना थियो। वर्गविहीन समाज बनाउने। धनि गरिब, कथित तल्लो माथिल्लो जाती नरहने, आर्थिक रुपमा विभेद नहुने, हरेक श्रमको महत्व उत्तिकै भएको समाजको परिकल्पना थियो।

सुन्दर सपना बुनेर कमल जनयुद्धमा लामबद्ध भएका थिए। तर अहिले कमलले सोचे जस्तो र परिकल्पना गरे जस्तो व्यवस्था आएन वा आए पनि त्यो लागू हुन सकेन्। ‘पहिले भनेको जस्तो सत्ता आयो कि आएन मलाई थाहा त छैन, कमलले भने ‘तर हिजोका सपना र सहयात्री नेताहरुले भुलेका छन्, सत्ता र पैसाको पछि लागेका छन्।’ वर्गविहिन समाजको निर्माणका लागि भनेर एउटै मोर्चामा लडेकाहरुको बिच नै अहिले ठूलो वर्गिय अन्तर देखीएको छ। पूर्व जनमुक्ति सेनाका पलाटुन कमाण्डर रहेका दैलेखका कमल रोकाय क. रन्जीत सुर्खेतको वीरेन्द्र चोकमा विगत तिन वर्ष देखी जुत्ता सिलाएर आफ्नो गुजरा चलाई रहेका छन् उही कमलका काण्डर महेन्द्रबहादुर शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा सत्तासिन रहेका छन्।

एका तिर कमल फुटपाथमा च्यात्तिएका गत्था ओछ्याएर, फोटेको कमिजमा जुत्ता सिलाई रहेका छन् भने अर्को तिर वीरेन्द्र चोकको फुटपाथदेखि त्यसको नजिकै करिब एक किलोमिटरको दुरीमा कमलसँगै एउटै मोर्चामा लडेका उनका कमाण्डर महेन्द्रबहादुर शाही घुम्ने कुर्चिमा बसेर अहिले कर्णाली प्रदेश सरकार चलाइ रहेका छन्। सत्ताका लागि नै लडेकाले सत्ता चलाउनु त कुनै नयाँ कुरा पक्कै होईन तर वर्गविहीन समाजको युद्धमासँगै होमएिकाहरु पनि आज फरक फरक वर्गको प्रतिनिधित्व गरि रहेका छन्।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज मुख्यमन्त्रीको कुर्सीमा बसरे आर्थिक सम्बृद्धिका कुरा गरि रहेका छन भने उनीसँगै मोर्चामा लडेका कमलहरु जुत्ता सिलाउने कामका लागि फुटपाथमा ५/१० रुपैयाको बार्गिनिङ्ग गरि रहेका छन्। मुख्यमन्त्री शाही अरबौंको बजेट चलाई रहेका छन्, परिचालन गरि रहेका छन्। मुख्यमन्त्री आज हेलिकप्टरमा सयर गरेर दुनियालाई सपना र आश्वासन बाँडी रहेका छन भने उही मोर्चामासँगै लडेका कमल ब्रोईलरको एक किलो मासु किनेर खान पनि दश पटक गोजी टक्टक्याउनु पर्ने अवस्थामा छन्।

के वर्ग विहिन आन्दोलनले सार्थकता पायो? ती एजेण्डा अहिलेका मुख्यमन्त्री शाही वा आन्दोलनका नायक पुष्पकमल दाहाल प्रचण्डसँग जिउदै छन् या मरि सकेका छन्? यस्तो प्रश्नको उत्तरको पर्खाईमा कमलहरु दिन काटि रहेका छन्। जनमिलीसियाको कमाण्डर हुदै जनमुक्ति सेनामा प्रबेश गरेका कमल रोकाय (रन्जीत) हिजोका जनयुद्धका मिठा सपना र झझल्काहरु भूल्ने प्रयासमा छन् तर उनको पेशाले ति बिर्सन खोजेका यादहरु ताजा बनाई रहेका छन्।

अहिले कमलको पेशा नै जुत्ता सिलाउने छ। सबै पिडा भुलेर जुत्ता सिलाउदा पनि जनयुद्धका दिन याद आउने उनले बताए। ‘म्याग्दीको भिडन्तमा, त्यो बेलामा लागेको गोलीले अहिले पनि राम्रोसँग जुत्ता सिलाउन सक्दैन्,’ गोली लागेको हात देखाउदै भने ‘यही निर हो लागेको गोली, बिर्सु भन्यो फेरी याद यो घाउले ताजा बनाई दिन्छ।’ परिबर्तन ल्याउने लडाई लड्दा पछुतो नभए पनि कमाउने उमेर खेर गएको उनको गुनासो छ। ‘मुक्ति हुन्छ भनेर लडाईमा गइयो, व्यवस्था पनि परिवर्तन भयो तर पनि हाम्रा दिन परिवर्तन भएनन्,’ उनले दुःख व्यक्त गरे ‘अहिले फेरी आएर यस्तो हुने रहेछ हाम्रो कमाउने उमेर खेर गयो, कालापहाड नै गएर भए पनि अहिले सम्म त केही न केही कमाई त हुँदो हो त।’ ‘अहिले जति गरे पनि पैसा कमाउन नसकिने भयो, हिजो जस्तै फेरी पनि पैसा नभएकै कारण समाजमा हेपिनु परेको छ यसमा दु:ख लाछ ।’ कमलले थपे । हिजोको सदभाव र माया ममता पनि उनै सहयोद्धाबाट कमलले पाउन सकेका छैनन्।

हिजोका दिनमा युद्धमा एक अर्काका लागि जे पनि गर्न सक्नेहरु आज स्वार्थी बनेको कमलको अनुभव छ। ‘एकै थालीमा भात खाएर सँगै एउटै मोर्चामा एउटै लक्ष्यको निम्ती लडेका साथिहरुले समेत चिन्दैनन्’ उनले भने ‘दुई चार पैसा बढी कमाएका होलान केही ठूलो पदमा बसेका होलान तर हामीलाई चिन्न छोडि सके।’ ‘सत्तामा सबै बराबर हुन्छ भन्नेले आज आफै विभेद गर्न थाले, यो सम्झेर निराशा लाउछ के गर्ने।’ कमलले निराशा व्यक्त गरे। ‘गाँउघरका मानिसहरुले त मलाई हेला गरेका नै थिए अहिले ज्यानको बाजी थापेको पार्टीले पनि वास्ता गरेन,’उनको गुनासो छ। अहिले कम्युनिष्ट एक भएको भने पनि जनतालाई कुनै फाईदा नहुने कमललाई लागेको छ।

अहिलेसँगै मोर्चामा लडेका महेन्द्रबहादुर शाही अहिले मुख्यमन्त्री भए पछि उनले चिन्न छाडेको उनको गुनासो छ। ‘कैयौ चोटी मेरो कमाण्डर महेन्द्रबहादुर शाही अगाडी पछाडी पुलिसका गाडी लिएर जानु हुन्छ आउनु हुन्छ,’ अगाडीको सडक देखाउदै कमलले भने तर आदेश पालना गर्ने सदस्यलाई चिन्नु हुन्न्।’ उनले आशावादी हुदै भने ‘मलाई अरु केहि पनि आसा थिएन तर मेरो सिप र क्षमता अनुसारको काम दिएको भए म खुसी हुने थिए।’

Loading...

प्रतिकृया लेख्नुहोस्: