मंसिर २ गते, २०७६

सेना सिध्याउने दुस्साहस

पटक हेरिएको

-बसन्त खड्का

काठमाडौं। नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापाले पदभार सम्हाले पछि आन्तरिक सुधारका केही काम गरे। जसमध्ये एउटा थियो-कूटनीतिक मर्यादा कायम राख्ने। सेनापति थापाले विदेशी राजदूत र सैनिक सहचारीलाई सिधै प्रधानसेनापतिलाई भेट्ने चलन रोके।

विगतमा कर्नेल तहका विदेशी सैनिक सहचारीले सोझै प्रधानसेनापतिलाई भेट्ने गरेका थिए। तर हाल सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुखसँग सैनिक सहचारीले कुरा राख्ने र आवश्यक परे मात्रै प्रधानसेनापतिलाई भेट्ने व्यवस्था मिलाउने गरिएको छ।

आफू मात्रै होइन, सेनापति थापाले मातहतका सैनिक अधिकृतहरूलाई समेत जथाभावी भेटघाट गर्न रोक लगाउँदै कडा अनुशासन कायम गरेका छन्। सेनापतिको कदमले विदेशीहरू जथाभावी सैनिक मुख्यालयमा छिर्ने प्रवृत्ति रोकिएको छ। नेपाल र सेनाका लागि अनुशासन राम्रो भएपनि चलखेल र घुसपैठ गर्न चाहने तत्व थापाको कदमबाट बिच्किएका छन्। जसको नतिजा स्वरुप पछिल्ला केही महिनादेखि नेपाली सेना माथि विभिन्न निकाय र क्षेत्रबाट शृंखलावद्ध प्रहार भइ रहेको छ।

सैनिक संवेदनशीलता

नेपाली सेना राष्ट्रिय अस्तित्वसँग जोडिएको संस्था हो। आन्तरिक सुरक्षा बन्दोबस्तको काम नेपाल प्रहरीले हेर्ने भए पनि बाह्य आक्रमण, चलखेल र घुसपैठप्रति सेना हरपल सचेत रहनुपर्छ। सेनाले गरेका काम दृश्यमा देखिँदैनन् तर अदृश्य काम गरिरहेको सेनाकै कारण देशको अस्तित्व रक्षामा सहयोग पुगेको छ।

विदेशी डलर र एजेण्डा हाबी हुँदै राज्यका विभिन्न निकायमा प्रहार भइ रहेका बेला सेनाले सांगठनिक अनुशासन र गोपनीयतालाई कायम राख्न सफल भएको छ। सैनिक संवेदनशीलताका कारण नै नेपाली सेना भित्र कठोर अनुशासन समेत हुने गर्छ। सेनाको सांगठनिक संरचना, अनुशासन र गोपनीयताका कारण घुसपैठ र चलखेल गर्न नपाइए पछि सेना माथि प्रहार गर्ने अनेक कोसिस भइ रहेका देखिन्छन्।

सेनाको लोकतान्त्रिकीकरण देखि आर्थिक पारदर्शिता लगायतलाई कारण देखाउँदै सैनिक संवेदनशीलता माथि प्रहार गर्ने प्रयास भइ रहेको छ। सैनिक अनुशासन र गोपनीयतालाई भंग गर्न देश भित्रकै केही स्वार्थी समुह लागेर सेनालाई विवादमा ल्याउन खोजिएको छ। जुन सैनिक संवेदनशीलताको विपरीत छ। सैनिक संवेदनशीलताविरुद्ध प्रकट भइरहेको बाह्य स्वार्थलाई समयमै चिन्न नसकिए सेना समेत घुसपैठको शिकार हुने देखिँदै।

सूचनाको स्वार्थ

विदेशी स्वार्थ अनुसार योजना बनाउन र प्रभाव जमाउन सूचनाहरू चुहिएर विदेशसम्म पुग्ने गरेका समाचार पटक-पटक सार्वजनिक हुन्छन्। नेपाली जनताले सूचना नपाउँदै मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि नै धेरै सूचना विदेशीले पाइसक्ने गरेका चर्चा वर्षौ देखि चल्दै आएका छन्। ती सूचनाकै आधारमा विदेशीले दबाब दिएर निर्णय रोक्नेदेखि निर्णय फेर्ने सम्मका काम हुँदै आएका तथ्य इतिहासका पाना देख्न पाइन्छ।

नेपाली सेनाको गोपनीयताले सूचना चुहिने समस्या देखिएको छैन। जसले गर्दा सैनिक संगठन मजबुत र सुरक्षित समेत छ। सेनाको शक्ति सञ्चय, हातहतियार बन्दोबस्ती, तालिम कौशल, सांगठनिक एकता र असन्तुष्टिको बिन्दू लगायत विषयमा हरेक विदेशीले जान्न खोज्छन्। अर्को देशको सेना भित्रका सूचना चोरेर शक्तिको आकलन गर्ने र त्यसै अनुसार योजना बनाउने विदेशी स्वार्थ रहन्छ।

नेपाली सेना भित्रको सूचना थाहा पाउने कोसिस गरि रहेका विदेशीको स्वार्थलाई सेनापति थापाको नीतिले झड्का लागेको छ। विदेशी र अनावश्यक व्यक्तिलाई जथाभावी भेटघाट गर्न नदिने सेनापतिको नीतिले सांगठनिक अनुशासन र गोपनीयतालाई कायम राखेको छ। सूचना चोर्ने र बेच्ने धन्दामा रहेका कतिपय व्यक्तिहरूलाई सैनिक अनुशासन पचेको छैन र सैनिक संगठनलाई विवादमा ल्याउने कोसिस भइ रहेको छ। जननिर्वाचित सरकारले दिएको म्याण्डेटलाई अक्षरस पालना गरि रहेको सेनामाथी किन यति धेरै आक्रमण भइरहेको छ यो सवै सचेत नेपालीले जान्नैपर्ने भएको छ।

विवादका अनेक प्रयास

राज्यका महत्त्वपूर्ण अंगहरूमध्ये चलखेल र घुसपैठ गर्ने स्वार्थ समूहबाट मुक्त रहेको सैनिक संगठन एक हो। नेपाल राष्ट्रमाथि भइ रहेका विभिन्न अदृश्य षड्यन्त्रबाट सेना टाढा रहेको छ। विभिन्न संवैधानिक निकायलाई विवादमा ल्याउने र संस्थागत आस्था कमजोर बनाउने रणनीति अनुरुप सेनालाई समेत विवादमा ल्याउन खोजिँदै छ। जवकी सेनाले संविधानले दिएको अधिकारअनुसार नै काम गरिरहेको छ।

सरकारले जिम्मेवारी दिएका विभिन्न विकास आयोजना, सैनिक बन्दोबस्तीका सामान खरिद, हातहतियार र विभिन्न स्रोतसाधन खरिदमा सेनालाई विवादित बनाउने खेलहरू भइ रहेका छन्। सेनालाई विवादित बनाउँदै एकातिर सूचना चुहाउने र अर्को तिर सेनाको आस्था र विश्वास खस्काउने कोसिस भइ रहेको देखिन्छ। सरकारले दिएका जिम्मेवारीलाई इमान्दारी पूर्वक निर्वाह गर्ने क्रममा सेनालाई विवादमा ल्याउन खोजिनु कीमार्थ जायज हुँदैन।

सेनामा अख्तियार घुसाउने देखि संसदीय समितिले छानबिन गर्ने लगायतका नयाँ-नयाँ बहस सिर्जना गरेर सेना भित्र घुस्ने बाटाहरूको खोजी भइ रहेको । सेनालाई सिध्याउने दुस्साहस गर्दै सञ्चारमाध्यम देखि राज्यकै विभिन्न निकायमा रहेका व्यक्तिलाई प्रयोग गरेर सेना भित्र घुस्न खोजिएको देखिन्छ। यसमा समयमै सचेत भईएन भने सेनाको अवस्था पनि राज्यका अन्य संयन्त्रजस्तै पंगु नहोला भन्न सकिन्न। त्यसैले सेनामाथी भइरहेको आक्रमणलाई गम्भिरतपूर्वक लिएर समयमै सचेत बनौ।

Loading...

प्रतिकृया लेख्नुहोस्: