भाद्र ३१ गते, २०७६

शाही कांग्रेस र शाहि कम्युनिष्ट मुर्दावाद!

पटक हेरिएको

२०४६ को जनआन्दोलन बाट प्राप्त सीमीत प्रजातान्त्रीक ब्यवस्थालाई समेत अन्त्य गरेर निरंकुश राजतन्त्रको पुनस्र्थापना गर्ने योजनाबद्ध प्रयासको पछिल्लो कडीको रुपमा सामान्ती हत्यारा ज्ञानेन्द्र गिरोहले अन्तत सत्ताधारी कांग्रेस पार्टीलाई समेत फुटाई छाड्यो।

विगतमा थुप्रै आन्तरीक विवादको क्रममा समेत फुट बाट जोगिदै आएको कांग्रेसलाई अहिले शेरबहादुर देउवा नाउँको कठपुतलीलाई अघि सारेर सजिलै फुटाउन सफल हुनुले ज्ञानेन्द्र- पारस- प्रज्ज्वल मुण्डली देशमा संसदीय ब्यवस्था र पार्टीहरुलाई समेत समाप्त गरेर फासिष्ट सामन्ती निरंकुशवाद थोपर्न कती घनीभुत ढङ्गले लागि रहेको छ भन्ने प्रश्ट भएको छ।

खास गरी जेठ आठ गते मध्यरातमा षड्यन्त्रपुर्ण ढंगले संसद विगठन गरेर विल्कुल अवैधानीक प्रकारले संङ्कटकाल लम्वाउनु र त्यसको विरोध गरेवापत सत्ताधारी पार्टीलाई नै यसरी टुक्रायाउनुले यो दरवारीया हत्यारा गिरोहको अपाराधिक चरित्र हामीले अहिले सम्म अनुमान गरेको भन्दा कयौ गुना खतरनाक र भयानक छ भन्ने पुष्टी भएको छ। यस्तो खतरनाक प्रतीगामी षड्यन्त्रलाई नजर अन्दाज गर्दै कांग्रेस भन्दा पनि सबै हिसाबले तल ओर्लदै एमाले नामधारी अवसरवादी गुटको नेतृत्वमण्डलीले सामन्ती दरबारलाई चोख्खाउने र त्यसको आर्शिवाद थापेर सत्ताको कुर्सीमा बस्ने जुन घृणीत कसरत गरि रहेको छ त्यसको जती सुकै कडा शब्दमा भर्सना र निन्दा गरे पनि कम हुन्छ।

२०७ सालमा महेन्द्रको शैनिक ‘कु’ को मतियार बनेर कांग्रेसका तुलसी गिरी , विश्वबन्दु प्रवृति र कम्युनिष्टका केसरजंग रायमाझी प्रवृतिले जुन देश र जनता प्रती गद्दारी गरेका थिए तिनलाई समेत उछिन्ने अहिलेको कांग्रेसका शेरबहादुर देउवाहरु र एमालेका माधव वामदेवहरुलाई सबै देशभक्त र प्रजातन्त्रवादी शत्तीहरुले वेलैमा नांगेझार पार्नु र ज्ञानेन्द्र अपराधी गुटसँगै ईतिहासको चितामा सती पठाउनु अत्यन्त जरुरी भएको छ।

कतिपयले जानेर र कतीपयले नजानेर नै कांग्रेसको अहिलेको फुटलाई त्यस पार्टी भित्रको सत्तास्वार्थकोे लडाइको उपज मात्र भन्ने गरेका छन्। तर त्यसो भनेर त्यस भित्रको गम्भीर दरवारीया षड्यन्त्रको पक्षलाई नजर अन्दाज वा अवमुल्यन गर्नु सिधै ज्ञानेन्द्र अपराधी गिरोहको हस्तमा खेल्नु हो। किनकी कांग्रेस जस्तो एउटा सामन्ती -वुुर्जुवा पार्टीमा सत्ताका निम्ती लुँछाचुँडी गर्ने प्रवृती सधै रहिरहन्छ।

जुन हिजो पनि थियो र भोली पनि रहि रहनेछ। त्यतीकै कारणले मात्र कांग्रेस फुट्ने भए पहिले नै पचासौँ चोटी पुटी सक्ने थियो। तर अहिले पृष्ठ भुमिमा शाही सेनाको प्रत्यक्ष संलग्नतामा कांग्रेस फुटाइएको छ, त्योे घोर प्रतीगामी उद्देश्यले र देशमा सिमित प्रजातन्त्र समेत समाप्त गरेर निरङ्कुश राजतन्त्र पुरस्थापना गर्ने उदेद्दयले भएको छ भन्ने कुरा सामन्य लाटाले समेत सहजै बुझ्न सक्दछ।

अमेरिकी राजदूत जुलीया चाङ् लमी बनेर राणा परिवारमा विवाह गराईएको शेरबहादुर देउवा वास्तवमा सि.आइर्.ए र दरबारको डबल एजेण्ड रहेछ भन्ने कुरा अहिलेको घटनाक्रमले पुष्टी गरेको छ। यो स्थीतिमा कांग्रेसको गिरिजा कोईराला पक्षले बर्षौ देखि संबैधानिक राजतन्त्रको रड लगाउँदा लगाउँदै पनि अहिले दरबारले गरेको गम्भीर विश्वासघात पछि कस्तो ऐतिहासीक शिक्षा लिएर अगाडी बढ्ने हो सबैले उत्सुकतापूर्वक प्रतीक्षा गर्नु स्वभावीक भएको छ।

एक चाटी जनअदालतमा पेश गरेर टाउको नगीडी राजतन्त्र ईतीहासमा कही र कहिलै पनि संवैधानीक भएर बसेको छैन भन्ने पाठ २०७ साल २०१७ साल र २०५९ सालका गम्भीर दरबारीया विश्वासघात पछी पनि कांग्रेसले नबुझ्ने हो भने उ यसरी नै राजतन्त्रको लात खाई रहन योग्य मुर्खहरुको झुण्ड नै रहेछ भनेर ईतिहासले मुल्याङ्कन गर्नै पर्ने हुन्छ । सम्पुर्ण प्रजातन्त्रवादी नेपाली जनता र विश्व जनमत सँगसँगै हामी पनि आषा गर्दछौ।

ढिलै भए पनि केहि समय यता गिरिजा कोइराला र उनका अनुयायीहरुले सामान्ती दरबारीया तत्वहरुको विरुद्धमा लिदै आएको अडानमा अरु दृढ हुनेछन् र आफुलाई नेपालमा गणतन्त्र स्थापनाको माहान अभियानमा सामेल गर्ने हिम्मत गर्ने छन्। त्यसो गर्न सके मात्रै शेरबहादुरले नेतृत्व गरेको ‘शाहि कांग्रेस’ भन्दा गिरिजाले नेतृत्व गरेको कांग्रेस तात्विक रुपमा भिन्नता ठहरीने छ ,अन्यथा नेपाली ईतिहास र जनताले दुवैलाई ‘शाहि कांग्रेस’ कै कात्रो ओडाएर दाहासंस्कार गर्ने छन्।

हामी आशा गर्दछौ गणतन्त्र र बहुदलीय प्रणालीको न्युनतम साभा कार्यक्रमको आधारमा गैरवामपन्थी र वामपन्थी शक्तीहरु बिच संयुक्त मोर्चा कायम गरेर नेपालमा २०४६ सालको आन्दोलनको दोस्रो संस्करणको पहल गर्न गिरिजा कोईराला पक्षधर कांग्रेसले आवश्यक जिम्मेवारी बहन गर्ने छ।

यसै सन्र्दभमा हिजोसम्म सापेक्ष रुपले उदार देखिएको शेरबहादुर गुटको शाही कांग्रेसको रुपमा किन र कसरी पतन भयो भन्ने बारे संप्क्षीप्त चर्चा गर्न उपयुक्त हुनेछ। वास्तवमा ईतिहासमा ‘उदार’ र ‘व्यवहारवादी’ देखिने कुनै पनी राजनैतिक ब्यक्ती र शक्तीको आफ्नो कुनै छुट्टै र आफ्नो स्पस्ट विचार र राजनीति हुँदैन। परिस्थीति वा तत्कालीन आफ्नो स्वार्थ अनुसार अरुको पछि लाग्न सक्ने भएकाले नै उनीहरु सतहमा ब्यवहारीक र उदार देखिन्छन्।

त्यस हिसाबले तीव्र रुपले धुव्रकृत हुदै गएको नेपाली राजनीतिको एउटा चरणमा वामपन्थी जनवादी शक्तीहरुप्रती ‘उदार’ देखीएको शेरबहादुर गुट अहिले आन्दोलनको चर्को चरणमा सामन्ती निरङ्कुशतावादी शक्तीहरुको शिखण्डी बनेर क्रान्तिकारीहरुको विरुद्ध उभिनु र ‘शाहि कांग्रेस’ मा पतन हुनु कुनै आनौठो कुरा होईन।

त्यसको विपरीत अप्रीय भए पनि आफ्नो छुट्टै राजनीति बोक्ने गिरिजा कोईराला पक्ष अहिले राजनैतिक शक्ती समीकरणमा हेरफेर सँगै सामन्ती निरङ्कुशताबादको विरुद्धमा उभिनु र प्रकान्तरले प्रगतीशील शक्तीहरुको सहयात्री बन्न पुग्नु विलकुलै स्वभावीक हो।

अब अलीकती नयाँ ‘शाही कम्युनिष्ट’ बारे चर्चा गारौ। ‘भाग खानेलाई भन्दा पुरो खानेलाई हत्पत्’ भनेझै सामन्ती हत्यारो ज्ञानेन्द्र गिरोहले संसदीय ब्यवस्थाको वस्तुत : हत्या गरी सके पछि पनि उसले शाही सैनिक ब्यारेकमा गराउने कथित चुनावमा बहुमत ल्याएर सरकार बनाउँछु भन्ने दिवास्वप्नामा बगेर एमाले नेतृत्व गुट अहिले नेपालमा हँदै नभएको र हुनै नसक्ने चुनावी माहौँल बनाउन र शामन्ती दरबारको चाकडी बनाउन ज्यू ज्यान छोडेर लागेको छ।

सोम शर्माको बाबुका सातुको दि जस्तो एमाले नेतृत्व गुटको त्यो चुनावी दिवा सपना पुरा हुने कुनै सम्भावना छैन र त्यो चुनावी दिन भन्दा पहिला नै सातुको घैटो फुटेर माधव – बामदेबहरुको जिउ सेताम्मे हुने निश्चीत छ। निरङ्कुश राजतन्त्रवादीहरुको त्यती भयानक षड्यन्त्रको पर्दाफास गरेर अब गणतन्त्र स्थापनाको आन्दोलनमा आफुलाई सरीक गराउनुको सट्टा कांग्रेसको गिरिजा प्रक्षको जती पनि प्रजातान्त्रीक दृश्टीकोण र जुझारु शाहस देखाउन नसकेर उल्टै हत्त र पत्त हत्यारा ज्ञानेन्द्र गुटको प्रमुक स्वस्तीको रुपमा उभिने एमाले नेतृत्व गुटले आफुलाई २०१७ सालका केशरजंग रायामाझी भन्दा पनी निकिस्ट र गद्दार ‘शाहि कम्युनिष्ट’मा पतन गराएको छ।

कम्युनिष्ट विचार र आर्शिवाद धेरै पहिले च्युत भए पनि सामान्य बुर्जुवा आदर्श र नैतिकता समेत ग्रहण गर्न नसकेको र आफ्नो छुट्टै विचार राजनीतिक नभएको चरमसत्ता पिपासु, स्वार्थी, लोभी पापीको झुण्ड एमाले नेतृत्व गुट अहिले यसरी नाङ्गो बनेर देश र जनताको विरुद्ध उभिनु कुनै अनौठो कुरा होईन। संसोधनवाद भनेकने कुएको फर्सी हो। र एउटा निश्चीत चरण सम्म बाहिर हेर्दा सध्य जस्तो देखिए पनि भित्र भित्रै षडेर एक दिन यसरी नै छताछुल्ल हुन अनिवार्य हुन्छ। त्यस हिसाबले अहिले कुएको फर्सी फुटेर उसको भित्रि असली चरित्र उदंगीएकोमा हामीले आश्चर्य मान्नु पर्ने कुरै छैन।

खाली के मात्र भने अब हामी क्रान्तिकारीहरुले हिजो सम्म तै पनि एमाले सच्चीएर जनवादी आन्दोलनमा अलीकती मात्र भने पनि सकारात्मक योग्दान गर्छ कि भनेर जुन एकता- संर्घष- रुपान्तरणको विधि अपनाउँदै आएका थियौ। अब त्यसलाई गुणात्मक ढङ्गले बदलेर कुहेको फर्सीलाई टुकुचामा सेलाउने नीति अनुसरण गर्नु पर्छ। मरी सकेको बन्दुलाई माया गर्ने भनेको उसको उचीत दाह संस्कार गर्ने हो। लासलाई बलेनीमा सडाएर राख्ने होईन त्यसैले अब सबैले एकसोरले भनौ शाही काग्रेस र शाहि कम्युनिष्ट मुर्दावाद।

डा. बाबुराम भट्टराइद्धावारा ‘शाही कांग्रेस र शाही कम्युनिष्ट’हरुबारे लेखेको लेख

Loading...

प्रतिकृया लेख्नुहोस्: