मंसिर २० गते, २०७६

गणतन्त्रका नायक हुन् प्रचण्ड

पटक हेरिएको

काठमाडौ । अहिले हामी नेपाली जुन राज्य व्यवस्थामा छौ,त्यो हो गणतन्त्र! हामिले पहिले भोगेको राज्य व्यवस्था भनेको संवैधानिक राजतन्त्र।जहाँ कुनै एउटा शाह वंशिय राजा रहने र भगवानको रुपमा मान्ने हाम्रो चलन थियो। राजा भनेका देउता हुन्,राजाको कुरा काट्नु हुन्न।राजाका नकारात्मक विषयलाई समेत विरोध नगरी जय जयकार मात्र गर्नु पर्दछ भन्ने थियो।

राजा नहुने हो भने नेपाल देश रहदैन भन्ने मानसिकता आम सर्वसाधारण नागरिक देखी राजनिति गर्ने राजनैतिककर्मी सम्म यही भ्रम थियो। यहि भ्रमको गुम्राहामा बसेर नेपाल र नेपालीलाई चुस्न माहिर हरुकै राज चल्थ्यो र चलाईन्थ्यो। राज्यका सम्पुर्ण शक्ति राजामा निहित रहन्थ्यो। राजाले चाहेमा,सनक चढेमा अप्रत्यासित घटनाहरु समेत व्यहोर्न वाध्य पारिन्थ्यो। यहि व्यवस्था,अर्थात कुनै एउटा परिवारको जेठो सन्तानले सदैव राज्य चलाउने र ऊ राजा बनिरहने परम्परा तोड्नको निमित्त उत्पत्ति भएको शब्द हो गणतन्त्र!

अहिलेको पुस्ताले गणतन्त्र भन्ने शब्द सायदै सुनेको थिएन, त्यो बेलामा सुन्यो कि जब नेपाल कम्युनिष्ट पार्टि माओवादीले जनयुद्धको घोषणा गर्दै गाउँगाउँ जागरण पैदा गरायो। अवश्य पनि त्यस भन्दा अगाडी गणतन्त्र भन्ने शब्द सुनेको कमै सङ्ख्यामा थिए। तत्कालिन माओवादीले राजतन्त्रको अन्त्यष्टी, संविधानसभा निर्वाचन मार्फत संविधान निर्माण,जनताद्वारा निर्वाचित राष्ट‌ प्रमुख,गणतन्त्रको माग गर्दै युद्ध घोषणा गरेको थियो। हो हामी सबैलाई थाहा छ,नेपालमा संवैधानिक राजतन्त्रको अन्त्यष्टि र गणतन्त्र स्थापनाको माग गर्ने पार्टि भनेको माओवादी नै हो।

जब गणतन्त्र र समसामयिक जनजिविकाको सवाल उठान सहित अगाडी वढ्दै गर्दा त्यो शक्तिलाई हरेक क्रियाकलापमा बन्देज लगाईयो। एकातर्फ माओवादीले राता रात सङ्गठन विस्तार, जनजागरण, प्रचारप्रसार गर्दै थियो भने अर्को तर्फ तत्कालिन संसदिय व्यवस्थाका राजनैतिक दलको सरकारले माओवादीलाई खोजी खोजी पक्राउ,धरपकड र हत्यासम्म केन्द्रित थियो।

तत्कालिन कङ्ग्रेश,एमाले लगाएतका राजनैतिक दलहरु संवैधानिक राजतन्त्र जोगाउने पक्षमा माओवादीप्रति आक्रामक देखिन्थे र त्यही अनुरुप सरकारी गतिविधि अगाडी बढाउँथे। यति सम्म गरे कि जसले माओवादीको टाउको काटेर झोलामा ल्याउछ,उक्त झोला भरी पैसो लान पाउछ भन्दै प्रत्येक माओवादीको टाउकाको मुल्य तोक्ने तिनै राजतन्त्रका पक्षधर राजनैतिक दलनै थिए।राजाको विश्वास पात्र हुदै प्रधानमन्त्री र मन्त्री बन्ने अनि माओवादी माथि आक्रमण गराउने तत्कालिन राजनैतिक दलको दिनचर्या नै थियो।

माओवादिले गणतन्त्र प्राप्तिको निमित्त आफ्नो महान अभियान जारी नै राखिरहयो।हो त्यो महान अभियान अगाडी वढाउँदै गर्दा हजारौले राष्टको निमित्त वलिदानी दिनु पर्यो,कयौको काख रित्तिए त कयौ टुहुरा बने,तर गणतन्त्र प्राप्त गरेका छौ। यो गणतन्त्र प्राप्त गर्नको निमित्त मुख्यतया दश वर्षे जनयुद्ध,२०६२/६३ को जनआन्दोलनको जगमा भएका विभिन्न सम्झौता र समझदारी मुख्य पाटा हुन्।

यि त भए सामान्य मोटामोटी विषयवस्तु अब यो गणतन्त्र स्थापना गर्नुमा सबभन्दा वढि सक्रिय,चतुर र योगदान गर्ने व्यक्ति प्रचण्डको केही व्याख्या गरौँ। त्यो महान जनयुद्ध,जहाँ सामन्ति राजतन्त्रको समुल नष्ट र गणतन्त्रको स्थापनाको सपना बाडिएको थियो।

जुन समयमा राजाको विरुद्ध बोल्दा समेत राज्य विप्लवको मुद्दा खेप्नु पर्दथ्यो। त्यो बेलामा सामन्ति राजतन्त्रको विरुद्ध हतियार उठाउने पार्टी माओवादीका अध्यक्ष थिए प्रचण्ड यानि कि प्रमुख नेतृत्व। त्यो बेलामा नेपालका क्रियाशिल कुनै पनि राजनैतिक दलले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको विषयमा सोचेका समेत थिएनन्।

तर तिनै प्रचण्ड हतियार सहित गणतन्त्र ल्याउनको निमित्त जनयुद्धमा होमिए।व्यक्तिगत धनसम्पत्ति, आराम,विलासिता यी सम्पुर्ण चिज त्याग्दै समग्र नेपाल र नेपालीको भविष्य उज्वल पार्ने महान अभियानमा केन्द्रित हुन पुगे। गणतन्त्र स्थापनाको निमित्त अगाडी बढ्दै गर्दा तत्कालिन राज्यपक्षले माओवादी र त्यसको नेतृत्वलाई निस्तेज पार्न सम्पुर्ण हत्कन्डा जारी नै राखिरहयो।

तर प्रचण्ड कत्ति पनि विचलित र तोडमोड नभई आम जनतालाई सुसुचित,सङ्गठित र चेतनशिल बनाउदै निरन्तर आफ्नो यात्रामा केन्द्रित रहे। राज्य पक्षले ठुलै रुपले दमनको निति अख्तियार गरे पछाडी प्रचण्ड नेतृत्वको माओवादीले समेत गाउँ-गाउँ,वस्ति वस्तिबाट राज्यपक्षको प्रतिकारमा उत्रियो।

कयौँ घमासान आम्मेसाम्मे भिडन्तहरु भए,धेरैले ज्यान गुमाउनु पर्यो, सिउदो पुछिए,काख रित्तिए,घरवार विहिन हुन पुगे। दिन दुगुणा,रात चौगुणा जसरी माओवादीप्रती जनसमर्थन बढि नै रहेको थियो। यसै क्रममा तत्कानिल राज्य पक्षको उपस्थिति खुम्चिदै गाउबाट सदरमुकाम,सदरमुकामबाट शहरमा मात्र भएको थियो। यो परिस्थिति सृजना गरि सके पछाडी अताल्लिएको तत्कालिन सरकार र क्रियाशिल राजनैतिक दल अब माओवादीसँग सकिदैन भन्ने अन्तिम निष्कर्षमा पुगे।

फलस्वरुप तत्कालिन कङ्ग्रेस,एमाले लगाएतका राजनैतिक दललाई समेत जवरजस्त गणतन्त्र,संविधानसभा निर्वाचन,धर्म निरपेक्षता लगायतका मागमा सहमतिमा प्रचण्डले ल्याउन सफल भए।यि सारा विषयमा शाही सरकार भन्दा बाहिर रहेका राजनैतिक शक्तिलाई एकठाउमा उभ्याई गणतन्त्र लगायतका विषयमा आन्तरिक समझदारी बनाई शहर केन्द्रित शान्तिपुर्ण आन्दोलन गर्ने र राज्यलाई थप दबाब सृजना गरि गणतन्त्रमा केन्द्रित बनाउन प्रचण्ड सफल भए।जनयुद्धको रापताप र जगमा जनआन्दोल हुन पुग्यो। गाँउगाँउबाट जनतालाई आन्दोलनमा सहभागी गराउन प्रचण्डले उर्दी नै जारी गरे। राजाले आफ्नो शासन छोड्छु भन्दै शाहि शासनको अन्त्य हुन पुग्यो।

फल स्वरुप संविधानसभाको निर्वाचन,गणतन्त्रको घोषणा,संघीयता,समावेशी,समानुपातिक,धर्म निरपेक्षता आदी इत्यादी उपलब्धि सहित हामी यहा आइ पुगेका छौ। हामिले एउटा विषय कहिल्यै पनि भुल्न हुन्न र भुल्दै पनि त्यो हो गणतन्त्र ल्याइदिने,गणतन्त्रका नायक भनेका प्रचण्ड हुन्।अहिले भइ रहेका राजनैतिक दल र तिनका शिर्ष नेतृत्वलाई एकचोटी सरसर्ती अध्ययन गर्ने हो भने प्रचण्डको जति योगदान कुनै पनि नेताको छैन।

प्रचण्ड गणतन्त्र भनेर गाउ गाउमा रहदा अधिकांस ठुला नेता भनौदाहरु नारायणहिटिमा राजाका पाउ पर्दै प्रधानमन्त्री,मन्त्रीको निमित्त विन्तिपत्र चढाउदै थिए।गणतन्त्र आउनु भनेको ठेलागाढा चढेर अमेरिका जानु हो भन्दै खिसिटिउरि पनि उत्तिकै गर्दै थिए।

प्रचण्ड गाउमा जनताका घर दैलोमा पुगी जे पाक्छ त्यही खादै गणतन्त्र स्थापनाको निमित्त नयाँ नयाँ योजना बदाउदै गर्दा तिनै ठुला भनौदा नेताहरु ठुला ठुला होटल र महलमा वसी महङ्गा रक्सिको तालमा गणतन्त्रका सुत्रपात प्रचण्डको टाउकाको मुल्य तोक्दै थियो र भन्दथ्यो झोलामा टाउको ल्याउनु,झोलाभरी पैसा लानु।

दश वर्षे जनयुद्ध,त्यसको जगमा सञ्चालित जनआन्दोल,शान्ति सम्झौता,संविधानसभा निर्वाचन,राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा, संविधान निर्माण,संघियता,धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायत यावत सम्पुर्ण विषयमा प्रचण्डकै अग्रसरता र पहलकदमी प्रष्ट देखिन्छ। तसर्थ गणतन्त्रका पिता प्रचण्ड हुन्, गणतन्त्रका नायक प्रचण्ड हुन्।

राष्ट्रिय तथा अन्तराष्टिय शक्ति केन्द्रले गणतन्त्रको माग छाड्नको निमित्त गरिएका हरेक प्रपञ्च र दमनको समेत सामना गर्दै प्रचण्ड निरन्तर गणतन्त्रकै दिशामा केन्द्रित रहिनै रहे। तसर्थ अहिलेका समकालिन नेता र नेतृत्वलाई हेर्दा खेरी प्रचण्ड यदी नभएका थिए भने नेपालमा गणतन्त्र आउदैन थियो होला।
Globlekhabar बाट साभार गरिएको

Loading...

प्रतिकृया लेख्नुहोस्: