आषाढ़ १ गते, २०७६

संस्मरण : रहम दिल

पटक हेरिएको

“नमस्कार हाकिमसाब् !” अरु भन्दा बेग्लै नरम स्वरले मेरो ध्यान खिच्यो। ढोकामा एकजना तन्नेरी मन्द मुस्कुराहटमा थिए। मैले टाउको हल्लाएँ। मेरो संकेत बुझेर उनी भित्र पसे र कोठा छेउको सोफामा टुसुक्क बसे।

म यो जिल्लाका लेखापाल साथीहरु करिब करिब सबैलाई चिन्छु। उनी तिनीहरुमध्येका लेखापाल होइनन् भनी निश्चित हुन्छु। पेन्सनको काम लिएर पनि थुप्रै सेवाग्राहीहरु आउँछन् यहाँ। प्राय उमेर ढल्केकाहरु। यिनको उमेर पेन्सन पकाउने गरी खुम्चिएको देखिँदैन। त्यसो त अठाह्र वर्ष भित्रै रिटायर भएका प्रहरी र आर्मीहरु तन्नेरी नै हुन्छन्। उनको पहिरन र हेयर कटिङ स्टायलले त्यो चरित्र पनि देखिँदैन। उनको उमेर हेर्दा अनुहार बिर्सिएका पुराना साथीभाइ मध्ये कोही होलान् भन्ने पनि ठान्दिनँ।

म धेरै सेवाग्राहीहरुबाट घेरिएको छु र उनीहरुको कुरा सुन्दै र काम निष्पादन गरि रहँदा घरि घरि उनीसँग आँखा जुध्न पुग्छन्। उनी अलिकति शर्माए जस्तो भावमा धैर्य साथ बसि रहेका छन्। अरु सेवाग्राहीहरुलाई त यसरी बस्ने धैर्यता नै कहाँ हुन्छ र। भित्र पस्ने बित्तिकै, “सर, मेरो अरु भन्दा विशेष काम छ, हतार छ, अगाडि मेरै गरि दिनु पर्यो” भन्दै पेलपाल पार्न थालि हाल्छन्।

निचोड निकाल्छुः यिनी सेवाग्राही होइनन्। सेवाग्राहीलाई त खालि रहेका सोफा वा कुर्सीमा बस्ने पनि धैर्यता नहुँदा मेरो कुर्सीलाई घेरेर उभिइ रहेका छन्, छट्पटाइ रहेका छन्, एक मिनेटमै काम सकिँदा त्यही एक मिनेट पनि उनीहरुलाई लामो लाग्छ। उनी भन्दा पछि पनि सेवाग्राहीहरु आउँदै जाँदै गरि रहेका छन्, फल स्वरुप उनको पालो मिचिन थालि सकेको छ। उनको पालो मिच्नमा म पनि सहयोगी भएको छु। तै पनि उनी कुनै गुनासो विना चुपचाप बसेकै छन्।

म धमाधम काम निप्ट्याइ रहँदा हाकिमी गर्वले फुलेको छु। हाकिमी पाराको अभिमानले चुलिएको छु। मेरो आँखा पुनः ती व्यक्तिसँग जुध्न पुग्छन् उनी उसरी नै शर्माउँ छन्। म हाकिमी पारा देखाइ हाल्छुः “काम केही थियो कि ?” मेरो भनाइको अर्थ थियोः ‘काम छैन भने सुटुक्क कोठाबाट निस्कि हाल्नुस्।’

जुम्लाहात जोड्दै अझै नम्रता पूर्वक आफ्नो नाम बताउँ छन्। त्यो नामसँग म पूर्व परिचित नै थिएँ। तर पनि अनुहारसँग परिचित हुन केही अलमलमा परेँ। उनले जब आफ्नो पेशा पनि बताए, म माथि बिजुली जस्तै झड्का लाग्यो, यसरी कि नामरुपको धनात्मक चार्ज छँदै थियो, त्यसमा पदरुपको ऋणात्मक तार जोडिन पुग्यो। त्यो झड्काले मेरो हाकिमी अभिमान एकाएक सेलाउन पुग्यो। उनको अहिलेसम्मको धैर्यताको नमूनाले मलाई चिस्याउन थाल्यो। बाँकी सेवाग्राहीलाई एक छिन बाहिरै रोक्न लगाएँ र ‘हाकिम’को कुर्सीबाट ओर्लिएर अर्को कुर्सी तान्दै उनका कुरा सुन्न थालेँ।

हो, अहिले पुनः त्यही नामले मात्र दोस्रो झड्कामा परेको छु। मेरो एउटा लेखको प्रतिक्रियाको पुछारमा यिनको नाम पनि समाविष्ट छ। त्यो झड्काले मेरा नजर चुस्न थालेको छ। मेरो दिमाग सोस्न थालेको छ। तर प्राणपखेरु उडाउने गरी भने होइन। म पूर्वानुमान निकाल्छुः “यिनले मेरो विरोधमा प्रतिक्रिया दिन सक्दैनन् ।”

तर त्यो लेखमा दोस्रो परिचयको प्रतिक्रिया प्राप्त छैन। अलिकति मन खिन्न जस्तो हुन्छ। अलिकति मन ढुक्क जस्तो पनि हुन्छ। म अनुहार सम्झन्छु। म पूर्वाग्रही अनुमान निकाल्छुः उनले पनि मेरो विरोधमा प्रतिक्रिया दिन सक्दैनन्। उपलब्ध प्रतिक्रिया पढ्न म उत्सुक हुन्छु। जब पढ्न थाल्छु, अकस्मात् मेरो आँखामा धुलो पस्छ। आँखा बिझाउन थाल्छ। म अक्षरहरु राम्रोसँग ठम्याउन सक्दिनँ। ल्यापटप एका तिर मिल्काएर हातले आँखा मिन्न थाल्छु।

आँखामा पसेको धुलोको नालीबेली खोज्न थाल्छु। धुलो बाहिरबाट साना ठूला छिद्र खोज्दै भित्र तिर खनिइ रहेको छ। म आफ्नो कोठाबाट उठेर झ्यालसम्म पुग्छु। बाहिर पट्टि चैते हुरीले वितण्डा मच्चाइ रहेको छ। बहुलाहा जस्तै परपरसम्मको बोक्न सकिने जति फोहोर विना प्रयोजन मेरो कोठा बाहिर पट्टि ल्याएर थुपार्दै र खेलाउँदै गरि रहेको छ। छारोधुइरो बेसरी बुङ्बुङ्ति उडाइ रहेको छ । त्यतिले नपुगेर रुखका सुकेका र नरम हाँगाहरु भाँचकुच पारि रहेको छ।

मैले आश्रय लिइ रहेको घर एउटा अग्लो पर्खालले घेरिएको छ। त्यो पर्खाल भित्रपट्टि केही अग्ला अग्ला रुखहरु ठडिएका छन्। आँगन भरि ती रुखका सुकेका पातहरु खसेर पहिले देखि नै खातिएका छन्। सुक्न थालेका र केही कमजोर पातहरु हुरीले नै लुछलाछ पारेर खसालि रहेको छ। बाहिरबाट ल्याएर जम्मा गरेको फोहोर सहितका पतिङ्गर खेलाइ रहेको छ हुरीले, यताबाट उता, उताबाट यता। ती पतिङ्गरहरुलाई बोकेर भाग्न खोज्छ हुरी, तर नजिकैको अग्लो पर्खालले मनाही गरि रहेको छ। पूर्व हानिन्छ, पूर्वको पर्खालले छेक्छ। पश्चिम हानिन्छ, पश्चिमकै पर्खालले छेक्छ। मैले एउटै पर्खाललाई दुई भागमा विभक्त भएको कल्पना गर्दैछु।

त्यो पर्खाल घरको रखबारी गर्न बिर्सेर यति खेर हुरीकै चर्तिकला हेर्नमा रमाइ रहेको छ। बौलाहा हुरी घरि पूर्व तिरको आँगनलाई नाङ्गो बनाइ रहेछ घरि पश्चिम तिरको आँगनलाई। पुनः त्यो आफैले तुल्याएको नाङ्गोपनलाई छोपछाप पार्नको लागि उद्यत छ भैरहवाको चैते हुरी। हो, भैरहवाको। पराकाष्ठाको पर्याय ठान्छु म भैरहवालाई। यहाँ कहिले उत्पात गर्मी हुन्छ। कहिले शितलहरले सही नसक्नु कठ्याङ्ग्र्याउँछ। कहिले प्राणघातक हुरी र लु चल्छ, कहिले हावा नै नचलेर उकुस मुकुस तुल्याउँछ। कहिले घनघोर वर्षाले पुरै बस्ती डुबाउँछ, कहिले खडेरी परेर टक्साउँछ यहाँका बस्तीहरुलाई। तर सबै ठाउँहरु भैरहवा जस्ता छैनन्।

म जीवनसँग तुलना गर्छु भैरहवालाई। जीवन सबैको एकनाश छैन। कसैको जीवन नदी जस्तै शान्तसँग सुलुलुलु बगेर महासागरमा बिलिन हुन्छ। कसैको जीवन खहरे जस्तै गडगडाउँदै उर्लिएर नदीसम्म समेत नपुगी बीचमै सुकी सक्छ। कसैको जीवन हुरीजस्तै बेगवान हुँदै देश देशावर थर्काइ हिँड्छ। कसैको जीवन सुस्त हावा जस्तै चाल मारेर एकै ठाउँमा चलिरहन्छ। कसैको जीवन कालो बादलजस्तै मडारिइ रहन्छ। कसैको जीवन वर्षादजस्तै वर्षि रहन्छ। कसैको जीवन तातिइ रहन्छ।कसैको जिवन कठ्याङ्ग्रिइ रहन्छ। कसैको जीवनमा सबथोक आइपर्छ। एउटै मान्छेले समयान्तरमा भोगेका जीवनका अवधिहरु पनि एकनाश हुँदैनन्।

जीवनको कुनै अवधिमा हुरी, बतास, असिना, खडेरी सबै आइ पर्छ। कुनै अवधिमा मन्द शितल हावा मात्र चलि रहन्छ। जीवनमा पनि थरिथरि मौसम देखा पर्दछ। मौसम अनुसार ६ वटै ऋतुको प्रभाव पर्छ जीवनमा। घाम लाग्छ, पानी पर्छ, न्यानो हुन्छ, शितलहर चल्छ, फेरि न्यानो हुन्छ, हुरी चल्छ, थामिन्छ। लु पनि चल्छ र केही समयमा थामिन्छ पनि। कसैको जीवन अवधिमा उग्र ऋतुहरु मात्र घुमि रहन्छन्। कसैको जीवनमा सुस्त ऋतुहरु स्थिर भैरहन्छन्। कसैको जीवनमा उग्र र सुस्त दुवै ऋतुहरु चलिरहन्छन् पालैपालो।

भर्खरै पसेको कसिङ्गरले गर्दा मेरो आँखा बिझाउन छोडेको छैन। मसँग मात्र के दुश्मनी छ ? यो चैते हुरीको किन हालि दिन्छ, खोजीखोजी मेरै आँखामा कसिङ्गर ? म झ्यालहरु थुन्न खोज्छु, हुरी कापकापबाट पसेर मलाई हैरान पारि रहन्छ। म बाहिर निस्केर हुरीलाई चेतावनी दिन खोज्छु, ऊ भने मेरो जीउमा बाँकी रहेका लुगाहरु उडाएर अझै नङ्ग्याउन खोज्छ। आँखा-मुखमा अरु धुलो ल्याएर कोच्न खोज्छ। मेरा पाइलाहरु धर्मराउन खोज्छ, मलाई लडाउन खोज्छ यो हुरी। मलाई हायलकायल पार्न खोज्छ।

जीवनका हुरीका रुपहरु पनि एकनाश छैनन्। कहिले लोभका हुरी, कहिले अहंकारका हुरी, कहिले पीडाका हुरी, कहिले दुःखका हुरी। जब हुरीको प्रवेश हुन्छ, स्थिर हुन धौधौ पर्छ मनलाई। सुकेको पतिङ्गर जस्तै न हो मन। ऊ पनि त्यही हुरीको बेगमा बतासिन खोज्छ। धैर्यताका पर्खालहरुलाई हम्मेहम्मे पर्छ मन जोगाउन।

म आँखा चिमचिम पार्दै ल्यापटप खोलेर पुन : सामाजिक सञ्जाल भित्र छिर्छु। त्यहाँ पनि उस्तै ऋतु प्रभाव छ। कोही हुरी चलाइरहेका छन्, कोही लु चलाइ रहेका छन्। कोही शितलहर चलाइ रहेका छन्, कोही असिना बर्साइ रहेका छन्। कोही झ्याल थुनेर यी सबै दुष्प्रभावहरु आफ्नो बचावट गरि रहेका छन्, कोही बाहिर तिरको असामान्य मौसममा हेलिएर तमाशा देखाइ रहेका छन्। म पनि यो हुरीबाट अछुतो छैन। हो, यतिखेर मेरो छाति भित्र असन्तोषको हुरी बेगिइ रहेको छ। यो असन्तोषले परपरसम्मका थुप्रै फोहोरहरु बटुलेर ल्याइ पुर्याएको छ।

मेरा धैर्यताका रुखका हाँगाहरु लुछि रहेको छ। पात चुँडाइ रहेको छ। घरि मेरो मनलाई नाङ्गो बनाइ रहेको छ घरि नाङ्गोपन छोपेको नाटक गरि रहेको छ। उसले मेरो मनलाई खेलाउनु खेलाइ रहेको छ, उडाउनु उडाइ रहेको छ। धुलो र फोहोरको सम्मिश्रणले काला काला बादलका धब्बाहरु छाति भरि मडारिन थाल्छन्। अरुका धारणाका धनात्मक र ऋणात्मक चार्जले हृदय भरि बिजुली चम्कि रहेको छ। चर्को गड्याङगुडुङ सहित चट्याङ परि रहेको छ। अब भावना पग्लिएर शब्दका ठूलाठूला असिनाहरु बर्सिन खोज्छन्।

पर्खालहरु यो असामान्य विपरीत परिस्थितिसँग कुनै साइनो छैन झैँ स्थिर ठडिइ रहेका छन्। रमिता हेर्न मात्र तल्लिन छन्। मलाई झोँक चल्छ यी हातगोडा विहिन गतिहिन अभिशप्त पर्खालहरुको तमाशा देखेर। आठ दिशामा टुक्राउन मिल्ने पर्खाललाई यतिखेर मैले दुई दिशा तिर मात्र देखि रहेको छु। एउटा पर्खालको भरमा अर्को अडिएको जस्तो लाग्छ मलाई। एउटाले अर्कोलाई थामेको जस्तै। पूर्वी पर्खाल र पश्चिमी पर्खाल।

पूर्व र पश्चिम तिर मात्र। म जहाँनेर उभिएको छु त्यहाँ देखिको मेरो निजी दृष्टि मात्र हो यो। किनभने मेरो पूर्वी पर्खाललाई मेरो घर पूर्वपट्टिको छिमेकीले पश्चिम पट्टि देख्छन्। मेरो पश्चिमी पर्खाललाई मेरो घर भन्दा पश्चिमपट्टिको छिमेकीले पूर्वपट्टि देख्छ। अरुहरुले अरु दिशा तिर पनि देख्न सक्छन्। यी पर्खालप्रतिको अरु छिमेकीहरुको दृष्टिकोण अझै फरक-फरक छ। सबैको दृष्टिकोण उस्तै हुँदै हुँदैन मौसम जस्तै। अर्थात् जीवन जस्तै। मैले मेरै सजिलोको लागि ती पर्खालहरुको नाम माओवादी पर्खाल र काँग्रेस पर्खाल राखेको छु। ती पर्खालका संरचनामा अरु थुप्रै अवयव पनि मिसिएको देखेको छु। तर अहिलेको प्रसङ्गको लागि ती गौण छन्।

हो माओवादी पर्खाल मेरो कोठाको पूर्वतिर छ र त्यसमा ‘जनार्दन’ रङ पोतिएको छ। पश्चिम तिर काँग्रेस पर्खाल खडा छ जसमा ‘गोपाल’ रङ पोतिएको छ। कसिङ्गरले आँखा बिझाइ रहेको हुँदा अरु रङहरु म ठम्याउन सकिरहेको छैन यति खेर। उसो त अरु रङले मलाई उति चिन्दैनन् पनि।
एउटा सेतो रङ। अर्को रातो रङ।

मन उद्देलित भैरहेको छ। यी दुवै रङप्रति भने मेरो तिव्र वितृष्णा बढि रहेको छ यति खेर। सेतो रङले मेरो दिशा छेकेको ठानेको छु। रातो रङले पनि मेरो दिशा अलमल्याएको निश्कर्ष निकालेको छु। यही सेतो र रातोको मिश्रित भद्दा कालो रङले समग्र प्रशासन पोतिएको छ। खासमा त्यही मिश्रित रङको धुलो नै छाति भित्र मडारिइ रहेको कालो बादलको अंश हो। त्यसले हृदयमा झुल्किन खोज्ने घाम छेकि रहेको छ।

अँध्यारो अँध्यारो बनाइ रहेको छ म भित्र। मलाई दिशाहिन तुल्याउन जोडबल गरि रहेको छ । त्यो रङले मेरा पाइतालाहरु बारम्बार चिप्ल्याउने खोजि रहन्छ। त्यसैले काला बादलहरु मडारिनमा सहायक भैदिन्छु म। चट्याङको रुपमा बज्रिन चाहन्छु। असिनाको रुपमा बर्सिन चाहन्छु। तुफानको रुपमा बेगिन चाहन्छु।

मैले आफ्नो उद्वेग प्रकट गर्न पात्रको खोजीमा लाग्छु। कथा वस्तुको खोजीमा भौँतारिन्छु। खोजीको क्रममा तीनचार वर्ष अघिको कथावस्तु फेला पार्छु, त्यही कथा वस्तुसँग सम्बन्धित वास्तविक पात्रहरु छान्छुः खम्बु र हिरालाल। त्यस पछि उनीहरुको मुखबाट आफ्ना भावनाहरु ओकल्न खोज्छु। दिनरात नभनी, भोकप्यास नभनी, कर्तव्य नभनी नाताकुटुम्ब नभनी म खनिइरहन्छु आफ्नै धरातल वरपर।

असिनाका शब्दहरुले ढाकि सकेको छ यो धरातलको सतह। चट्याङरुपि शब्दहरुले चिराचिरा पारेको छु कमजोर धरातल। तुफानरुपी शब्दहरुले लुछलाछ पारि सकेको छु सिर्जनाहरुलाई। अझै काला बादलको करामत सकिएको छैन म भित्र। म शब्दहरुमा आगो सल्काउन खोज्छु। उध्याई उध्याई तरवारको धार तुल्याउँछु। केही शब्दहरुलाई सक्दो तीतो बनाउँछु। केही शब्दहरुलाई चर्का र अमिला तुल्याउँछु। यी दुई विपरीत रङहरुलाई रङहिन तुल्याउन। दुईवटाले दुईवटालाई।
सिर्फ दुईवटा।

मेरो हातमा दायाँ र बायाँ दुई हातको मात्र विकल्प छ। तेस्रो हात मसँग छैन। हेर्नको लागि दुई आँखा मात्र विकल्प छन् मसँग। सुन्नको लागि दुई कान मात्र विकल्प छन् र हिड्नको लागि दुई खुट्टा मात्र विकल्प छन्। एउटा सरल रेखामा दुई सीमा मात्र हुन्छन्। सबै भौतिक वस्तुहरु सरल रेखासँग सादृश्य छन्। म देब्रे हातले बिहान दिशा धुन्छु र दाहिने हातले ईश्वरको पूजा गर्छु। दिशा धुँदा दाइने हात पनि सँगै हुन्छ र पूजा गर्दा पनि देब्रे हात सँगै बस्दछ। अलग अस्तित्व सम्भव छैन मेरा हातहरुको। मसँग सँगै जन्मिए यी हातहरु र मर्दा पनि सँगै जानेछन्।

एउटा सीमा पछि छाति भित्र मडारिइ रहेका कालाकाला धब्बाहरु सकिँदै छन्। नसकिएका बादलहरु सेता र सुनौलो रङमा बदलिइ रहेका छन्। म भित्र असन्तोषको हुरीको बेग ओरालो लाग्छ। चट्याङ र असिनाको बल शून्य भैसकेको छ। पीडाको आबेग शान्त हुन लाग्छ। मत्थर हुँदै गएको चित्तले म दोर्हाउछु आफैले थुपारेका गाली गलौजका शब्दहरु। अस्वाभाविक लाग्छन्। किनकि विपरीत मौसमले आफ्नै छाति चर्किएको छ। आफ्नै दिल धर्किएको छ।

जसलाई प्रहार गर्नु पर्ने हो उसैलाई प्रहार नगरी आफैलाई पोल्ने लाग्छन् आफैलाई बिझ्न थाल्छन् यी शब्दहरु। म अब ओर्लिँदो असन्तोषसँगै शब्दहरुलाई पनि झार उखेले जस्तै उखेल्दै फ्याँक्दै गर्न थाल्छु। दालमा मिसिएका ढुङ्गा टिप्न थाल्छु। लुछिएका अवयवहरुलाई मुसार्न थाल्छु। बिलाइ सकेको छ असिनाको थुप्रो पनि। उज्यालो भित्र भित्र पस्न थाल्छ।

जब रात पर्दै जान्छ बाहिर हुरी चल्न थाल्छ। कसिँगर मेरो आँखामा हालि दिन्छ पुन : म फेरि फालिएका शब्दहरुलाई केरकार पारेर लेख भित्र हुल्न खोज्छु। जब हुलि सक्छु बल्ल सन्तोष मान्छ मनले। आँखामा परेको कसिँगर आँखाकै आँशुले बगाइ दिन्छ। म आनन्दसँग सुत्छु। कसरी गाली गर्न सक्छु म रातो रङलाई ? जो WBC को रुपमा नशानशामा बगि रहेको छ। कसरी गाली गर्न सक्छु सेतो रङलाई ? जो RBC को रुपमा जो बाहिरी रोगसँग लडि रहेर मलाई प्रतिरोधात्मक क्षमता उपलब्ध गराइ रहेको छ। म समग्रमा यही रातो र सेतोको मिश्रण त हुँ। मेरो जीवन यही रातो र सेतोको मिश्रण त हो।

मसँग अब गोडमेल गरि सकेका निम्छरा शब्दका ढिक्काहरु मात्र बाँकी छन्। बिलाइ सकेका शब्दका शेषहरु छन्। ऋणात्मक वा धनात्मक चार्ज गुमाइ सकेका बिचारहरु बाँकी छन्। पुनः सामाजिक सञ्जालमा प्रवेश गर्छु। आवेगका हुरीहरुले मलाई हल्लाइ दिन्छन्। वितृष्णाको वर्षाले मेरा शब्दहरुलाई भिजाइ दिन्छन्।

मैले पनि ढिला गर्न हुँदैन। हत्तपत्त अधमरो पारिएको विरुप लेख नेपाल टकमा पठाइ दिन्छु। नेपाल टकले सितिमिति छाप्दैन । जब हुरी मत्थर हुन्छ नछापि दिए पनि हुन्थ्यो जस्तो लाग्छ। जब हुरी बेगबान हुन थाल्छ, मैले फोन गरेरै सोध्छु किन छापिएन त्यो लेख ? आखिरमा छापियो नै। प्रतिक्रिया रसाउन थाल्यो नेपाल टकको फेसबुक भित्तोमा। मैले पनि शेयर गरि दिएँ आफ्नै लेख र प्रतिक्रियाको पर्खाइमा कुरेर बसेँ। उता अनलाइन पत्रिकामा सत्रहजार भ्यूज नाघिरहेको थियो। हजार शेयरतर्फ उक्लि रहेको थियो।

मेरो फेसबुक भित्तोमा कुनै प्रतिक्रिया रसाउने छाँट देखिएन। ठानेँ यो लेखले कसैको नजर तानेन वा कसैलाई छुन सकेन। मेरा नजरहरु बाहिर पट्टिका पर्खालमा गएर ठोक्किए। किन गुनासो गरेन मलाई पूर्वी पर्खालले ? किन हप्काएन मलाई पश्चिमी पर्खालले ? ती पर्खालहरु उपर पोतिएको रङकै विरोधमा व्यक्त गरिएको भाव त बाँकी नै थियो। पर्खाल पर्खाल नै हुन्। नजर त के बन्जर बज्रिए पनि निष्प्रभावी बनि दिन्छन्।

पर्खालमा पोतिएको रङमा मुछिन्छन् मेरा नजर। रङमा के छ र। हुरीले पनि बिगारि दिन सक्छ। घामले उडाइ दिन सक्छ। झरीले बगाइ दिन सक्छ। मैले धेरै पटक गाली गरेको छु रातो रङलाई। कहिले ब्लडप्रेसर बढाइदियो भन्दै, कहिले ब्लडप्रेसर घटाइ दियो भन्दै। रगत मुटुलाई केन्द्र बिन्दु बनाएर शरीर भरि चलि रहेको छ। मैले महत्त्व नै बुझेको छैन सेतो रङको, जसले पलपलमा मेरो प्राणको रक्षा गर्न भूमिका निभाइ रहेको छ। पर्खालमा पोतिएका रातो र सेतो रङ दुवै मेरो आवेगप्रति निष्प्रभावी छन् यति खेर। अतः मेरा नजरहरु चाहेर पनि अलग हुन सकिरहेका छैनन् पर्खालमा पोतिएका रङहरुबाट। प्रतिक्रियाहरु त बग्रेल्ति थिए नि ! किन नहुनु ?

नेपालटकको फेसबुक अकाउन्ट खोलेर हेरेँ। गाली गर्ने र ताली बजाउनेहरुको बाक्लो उपस्थिति थियो त्यहाँ। उनीहरुले मजासँग गाली गरे मेरो भावनालाई। उनीहरुको नजरमा कस्तो देखियो होला मेरो भावनाको रङ ? रातो ? वा सेतो ? वा कालो ? तर ती गाली गर्नेहरु पर्खाल बाहिरका पात्रहरु थिए। पर्खाल बाहिर त के छ के छैन म किन ध्यान दिऊँ। न मैले नै पर्खाल बाहिरको वातावरणलाई चिन्छु न त उसले नै मलाई चिन्छ। अति नै भयो भने पनि मेरो घर नजिकै ठडिएका यी दुई पर्खालहरु सुरक्षा दिन पर्याप्त छन् मलाई।

तर एउटा कुरा किन बुझ्दैन मान्छे। गोपालजी माओवादीमा प्रवेश गरेमा कतिको जहाज डुब्छ ? जनार्दन काँग्रेसमा प्रवेश गरे कतिको जहाज डुब्छ ? संसार उल्टिन्छ ? पश्चिमबाट घाम उदाउँछ ? संसार उल्टियो वा पश्चिमबाट घाम उदाए पनि के हुन्छ ? ध्वस्त हुन्छ यो श्रृष्टि ? दुवैले मझधारको मार्ग समातेमा नै दीगो शान्ति हुने होइन र ? दुवै एक अर्काको भावनामा छिर्न सके उनीहरुप्रति आशातित भावनाहरु अझ सुन्दर हुने होइनन् र ?

संयुक्त राष्ट्र संघले विकासका विभिन्न मोडेलको परीक्षण गरि सके पश्चात् सस्टेनेबल डेभलपमेन्ट मोडेल परीक्षण गर्दैछ। यसको सफलता वा असफलता पछि पनुः अर्को मोडेल सिफारिश गर्ला। ऊ अब फेरि मिलेनियम डेभलपमेन्ट गोल तिर कदापि फर्किँदैन। समस्या र समाधानलाई अलग अलग चिरा पारेर होइन जोडेर हेर्नुपर्छ भन्ने नै सबै मोडेलको निश्कर्ष हुनुपर्छ। एसेम्बल्ड प्रविधिले रोबोट जन्माइ रहेको छ।

सूचना प्रविधिले संसारलाई नै हत्केलामा खुम्च्याइ दिएको छ। जेनेटिक इन्जिनियरिङको युगको उत्कर्ष चलि रहेछ। कुनै दुई वा दुई भन्दा बढी जीवको उत्तम जिनहरु लिएर तेस्रो अझ सक्षम जीवनको उत्पत्ति गर्न सकिन्छ। जिनहरुबाट रोग प्रतिरोधी अर्थात दीर्घजीवी अर्को जीव सिर्जना गर्न सकिन्छ। कहाँ बाँकी छ र हजारौँ हजार बिचार फलाउन सकिने बाँझो जमिन मान्छेहरुको खोपडीमा अब ?

भावना त्यो भन्दा धेरै माथिको कुरा हो। भावनालाई न वर्गीकृत गर्न सकिन्छ, न त सीमान्तकृत गर्न। राम, कृष्ण, पैगम्बर, क्राइस्ट, बुद्ध जसले पनि मानव कल्याणको लागि संघर्ष गरेकोले महामानव बनेका हुन्, ईश्वर कहलिएका हुन्। उनीहरुको देनमा सारभूत अन्तर छैन। अन्तर छ त केवल ग्रहण गर्नेहरुको दृष्टिकोणमा मात्र।

अब मेरो आँखाको कसिङ्गर आँशुले बगाइ सकेको छ। छ्याङ्ग फाटि सकेको छ मेरो नजर भित्रको आकाश। बादलका एउटा रेसा पनि बाँकी छैन त्यहाँ। न धुलोमैलो छ, न आँशु नै। जताततै नीलोको मात्र साम्राज्य छ। म मेरो लेखउपर प्रतिक्रिया दिने मान्छेको नाम अब प्रष्ट हुँदै गएको देख्छुः

खडक डाँगी।

नेबिसंघ, केन्द्रीय उपाध्यक्ष।

म हाकिमको भूमिका निमाइ रहेको बखत यही नाम उच्चारण गरेर परिचित गराएका थिए उनले आफूलाई। हो यही पेशा बताएका थिए उनले, एकदमै अनुशासित र नम्र भाषामा। उनको प्रस्तुतिले मेरो शिर श्रद्धाले झुकेको थियो। म नतमस्तक भएको थिएँ, उनको मानवोचित नम्र व्यवहारमा। मैले त्यसबेला यस्तो दिल भएका मान्छेलाई के उपमा दिन सकिन्छ भनी उपयुक्त शब्दको खोजीमा भौँतारिएको थिएँ त्यति खेर।

मैले उनले मेरो लेखमा दिएको प्रतिक्रिया उत्सुकता पूर्वक पढ्न थालेँ। मलाई कुनै धुकचुक थिएन उनको प्रतिक्रिया पढ्न। उनको भावनाको भौतिक नेतृत्व जसलाई मैले तथानाम गाली गरेको छु। तिक्ष्ण आलोचना र व्यङ्ग्य पस्केको छु। त्यसको प्रतिक्रिया स्वरुप एक शब्द पनि बोल्न चाहेको भेट्टाइनँ।

बरु मेरो पात्रलाई सभ्य भाषामा गाली गरि दिए। मेरो पात्रलाई गाली गर्नु भनेको घुमाउरो भाषामा मलाई नै गाली गर्नु हो। म बुझ्न सक्छु त्यति सम्म त। उनको प्रतिक्रिया मनन गर्दै गएँ। उनले चाकडीका रुपहरु फेरिइ रहेको कुरा झिके। चाकडीका श्रोत फेरिइरहेको कुरा झिके। चाकडीका साधनहरु फेरिएको कुरा झिके। कुरा झिक्दा झिक्दै टुङ्ग्याइ दिए आफ्नो प्रतिक्रियाः समयले दोषीहरुलाई सजाय दिनेछ भन्ने कामना गर्दै।

असम्भव कुराहरु सम्भव भैदिन्छन् समयको चापसँगै। सामना गर्दा गर्दै कहिले स्विकार गर्नु पर्ने दिन पनि आउँछन्। समग्र मानव कल्याणको निम्ति असम्भव जस्तो लाग्ने अपरिहार्य कुरा स्विकार गर्ने दिन आउनु पनि पर्छ।

समयका सुक्ष्मकणहरु हावासँगै उडि रहन्छन्। पानीसँग बगि रहन्छन्। कहिल्यै झरेर फर्कँदैनन् तिनीहरु। रुप, श्रोत र साधनहरु समयले फेरि रहन्छ। समयको हावाले चेतनाको परिभाषा पनि फेरि रहन्छ। जीवन सबैको एकनाश हुँदैन। जीवनका अवधिहरु पनि एकनाश रहँदैनन्।
तसर्थ मनमा हुरी चलि रहेको बखत आलोचना गर्न पुगिन्छ। हुरी थामिएको बखत प्रशंशा गर्न पनि सकिन्छ। प्रशंशालाई चाकडीको पर्खाल भित्र कैद गर्दा र आलोचनालाई विरोधीको रुपमा मात्र परिभाषित गर्दा पनि त युक्तिसँगत नहोला नि ? होइन र ?

खडकजी, मैले तपाईँलाई त्यो शिष्ट प्रतिक्रियाको बदला के उपहार दिऊँ ? पख्नुस् है त, सम्झनाको कुटिरो खोतलखातल पारी हेर्छु। मलाई दिइएका उपहारहरु अधिकाँश बासी भैसकेका रहेछन्। त्यहाँ एउटा उपहार भने अद्यापि ताजा नै रहेछ। मेरो भैरहवा बसाईबाट विदाइ हुँदै गर्दा ॐ शान्ति पथिकहरुबाट प्रदत्त उपहार। रहमदिल।

समय तथा चेतनाको चापले पनि नबदलिने उपहार। कहिल्यै फेरिँदैन यसको रुप। जुन मैले तपाईँलाई पनि उपहार टक्राउन चाहेँ। त्यसको रङ रातो, सेतो वा निलो भन्दा विल्कुल फरक छ। अर्थात् रङबिहिन। तपाईँले स्विकार्नु भयो भने जीवनयात्राका मोडहरुमा काम आउन सक्छ। यो उपयोग गरेर कहिले पनि सकिँदैन। यसमा कुनै पनि धर्म, वर्ण तथा वर्गको निजी स्वामित्व रहँदैन। रहमदिल सायद हिन्दी शब्द हुनुपर्छ। तर यी अक्षरहरु हिन्दी मात्र होइनन्। भाव पनि हिन्दी हुन सक्दैन। अक्षर र भावना पराइ कहिले पनि हुँदैनन्। अक्षर र भावनाको कुनै स्थायी रङ पनि हुँदैन।

लेखक : पूर्ण ओली हुन् ।

प्रतिकृया लेख्नुहोस्: