श्रावण ३२ गते, २०७६

पुर्वमा विप्लव नेकपाको स्थिति र आगामी कार्यभार बारे यस्तो भन्छन्- नेता पुष्प न्यौपाने

पटक हेरिएको

दलाल पुजीवादी संसदीय ब्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नरहेको निष्कर्ष सहित एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने हाम्रो सपना नेपालीहरुको मात्र नभएर विश्व भरका श्रमजीवी जनताको भावना र उदेश्य सँग सम्बन्धित छ। संसदीय ब्यवस्था दलालहरुको पन्जामा परेको र यसबाट जनताको पक्षमा नभएर केही मुठ्ठी भरका मान्छेहरुको हित र उदेश्यमा केन्द्रित छ भन्ने कुरा नेपाली जनताका माझमा सिद्ध भइ सकेको र छर्लङ्ग छ।

केही बर्ष पहिले हाम्रो पार्टी पुनर्गठन गर्दा यहि कुरा भन्यौ र एकीकृत जनक्रान्ती मार्फत नेपालमा क्रान्ति सम्पन्न गर्ने उदेश्य सहित अघि बढ्ने प्रण गर्यौ। विशुद्ध क्रान्तिको पक्षमा खट्ने कार्यकर्ता र नेताले भरिपुर्ण हाम्रो पार्टीमा एकाध खराब नियतका साथ प्रवेश गरेको यथार्थ आजका मितिसम्म नियालेर हेर्दा अनुभव हुन्छ भने अधिकांश नेता कार्यकर्ता नितान्त ब्यक्तिगत जिवनभन्दा माथि उठेर जसरी पनि देशलाइ स्वतन्त्र र समृद्ध बनाउने हिम्मतका साथ अहोरात्र खटेको देख्दा नेपालमा चाडैं नयाँ दिनहरुको सुरुवात हुने कुरा अनुमान लगाउन गार्‍हो पर्दैन।

बुद्धिजीवी, पत्रकार,प्रोफेसर ,शिक्षक कर्मचारी, उद्योगी , ब्यवसायी, देशभक्त जनताहरुको सहयोग,आशा र भरोसाले पनि हामीले केही गरेर देखाउनु पर्ने अनि त्यो जिम्मा हाम्रो काधमा आएको अनुमान सहजै लगाउन सकिन्छ। विशेष गरेर क. बिप्लबको नेतृत्वमा पार्टी पुनर्गठन भए पश्चात् पुर्बमा देखिएका केही सकारात्मक र केही नकारात्मक पक्षहरु अनि आगामी कार्यभारलाइ निम्न ढंगले विश्लेषण गर्न सकिन्छ।


पुष्प न्यौपाने

पुर्बेली जनता र क्रान्ती प्रतिको मानसिकता

नेपालको पुर्बी भागमा बसोबास गर्ने अधिकांश जनताहरु शिक्षाबाट बन्चित नभएको अथवा भनौ शिक्षित रहेको पाइन्छ। त्यसैले अवसरको खोजी गर्नु सामान्यतया शिक्षित वर्गमा रहन्छ। राष्ट्रियता र देशको प्रश्न जब उठ्ने गर्छ तब पुर्बेलीहरुमा एक प्रकारको एकत्व भाव चरम रुपमा देखा पर्ने गरेको छ। दोस्रो देशसँग हुने असमान सन्धी सम्झौता, सिमा अतिक्रमण जस्ता बिसयवस्तुले छिटो भावनाहरु समेटिने पाइन्छ। नेपालमा भएका हरेक आन्दोलन र परिवर्तनहरुमा यस भुभागका जनताको अमूल्य योगदान रहेको छ।

विशेष गरेर कम्युनिस्ट आन्दोलनको इतिहासमा २०२८ सालको झापा बिद्रोह स्मरणीय रहेको छ। क्रान्ती र परिवर्तनको महसुस हुदा हुदै पनि पुर्वका नेतृत्वहरु अग्र भागमा रहेर क्रान्तिकारी विचार समेट्न तिर नलागेर धोकाधडी र आन्दोलनबाट भाग्ने मान्छेहरुकै पछि लागेको अनुभव गर्न सकिन्छ। यातायात र अन्य कुराको सुबिधाले पनि हुनुपर्छ हरेक आन्दोलन र परिवर्तनको खोजी चाडो खोज्ने र चाडै निराश हुने प्रवृत्ति प्राय : देखिन्छ।

त्यसैले पुर्बेली जनताको एउटा पुस्ता या भनौ पुरानो पुस्ता विद्रोहलाई गुजारेर आइ सकेको हुँदा हरेक बिद्रोह र संघर्षलाई नजिकबाट नियालि रहेको कुरालाई इङ्कार गर्न सकिँदैन। त्यसैले पुर्बेली माटो क्रान्तिको उर्बर भुमि हो भन्न सकिन्छ भने संघर्षको सुरुवाती चरण भन्दा उत्कर्षको चरणमा मात्र सहभागिता प्रायः पाइन्छ। यसैलाइ मध्यनजर गरेरै हुनुपर्छ कि हाम्रो पार्टी पुर्वमा केन्द्रित बनि रहेको छ। यस विषयमा नेतृत्व पङ्क्तिको बेलैमा ध्यान जानु सबै भन्दा चतुर्‍याइँ र भावी दिनको नजर अन्दाज हुनुपर्छ।

सकारात्मक पक्षहरु

पार्टी पुनर्गठन भए पश्चात् केही यस्ता विषयवस्तु सम्बन्धि मुद्दाहरुको उठान भयो कि ती बिषयवस्तुले सहजै अन्य पार्टीमा रहेका केहि राष्ट्रवादी र जनताको भावनामा छाप हाल्यो त्यसले पार्टीलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सफल भयो। विराटनगरमा रहेको भारतीय मिनि दूतावास जो नियम विपरीत भारतले एकलौटी ढंगले राखेको थियो। त्यस प्रती गरिएका हरेक आन्दोलन र संघर्ष मनन योग्य र उदाहरणीय बने।

त्यस्तै शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएको कोशी सम्झौता जुन राष्ट्रहित बिपरित थियो त्यस्को बिरोध र प्रदर्शन उदाहरणीय बन्न पुग्यो। त्यस्तै संखुवासभा जिल्लामा रहेको अरुण तोस्रो जलविद्युत परियोजना जो नेपाल र नेपाली जनताको हितमा भन्दा पनि भारतीय पक्षको फाइदाका निम्ति छ। त्यसको निरन्तर विरोध र त्यो परियोजना माथी भएका निरन्तरका संघर्षहरु सकारात्मक रहेका छ्न। जसलाई अझ निरन्तरता दिनु आवश्यक छ। देशै भरी सिमा अतिक्रमणका विरुद्ध गरिएका प्रदर्शन मध्ये पुर्बेली विद्यार्थीहरुले नेपाल भारत सिमानामा गएर गरिएको नाराबाजी र प्रदर्शन मनन योग्य रहेको छ भने करछली विरुद्ध गरिएको प्रदर्शनले नयाँ पुस्तामा राम्रै प्रभाव पर्न पुग्यो।

सुरुवाती चरणमा सिबिएस्सी बोर्ड अन्तर्गत अध्ययन अध्यापन गराइने दिल्ली पब्लिक नामक स्कुल माथी गरिएको सांकेतिक कार्बाही स्मरणीय रहेको छ भने यस्को निरन्तरता आवश्यक छ। त्यस्तै अखिल क्रान्तिकारी द्वारा सञ्चालन गरिएको ३ महिने कम्युनिस्ट विद्यार्थी अभियानले पार्टी र विद्यार्थी संगठन निर्माण र प्रचारप्रसारमा समेत सफलता मिलेको छ भने पुर्वका जिल्ला तहका नेताहरुलाइ समेत राम्रै प्रभाव र पाठ सिकाएको छ। त्यसलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता समेत ब्यक्त गरिन्छ। समग्रमा राष्ट्रघाती सन्धि सम्झौताका विरुद्ध गरिएका संघर्षहरु सकारात्मक रहेका छन्।

नकारात्मक पक्षहरु

पार्टी पुनर्गठन भए पश्चात् सुरुवातमा पार्टीको प्रचारप्रसार,अन्तरक्रिया, छलफल र प्रशिक्षणहरुले पार्टीलाई एउटा स्तर सम्म पुर्याएको कुरालाइ नकार्न सकिँदैन। तर केही समय पश्चात् बिस्तारै यस्ता अराजक प्रवृत्तिहरु देखिए कि ती नितान्त ब्यक्तिगत हिसाबले संगठनात्मक कामकार बाहीहरु अघि बढाउने नियतका साथ देखा पर्न थाले। जुन सम्भव थिएन र एउटा अन्तर संघर्षका रुपमा देखा पर्यो जो आज पनि यदाकदा लुकेर बसेको भान हुन्छ। प्रशिक्षण र भाषण दिने नेतृत्व तहबाट नै क्रान्तिप्रती जुन बिश्वासघात हुँदै बिचलन देखा पर्यो त्यसले सुरुमा ठूलो क्षति नदेखिए पनि कालान्तरमा कोशी पार्टीले नराम्रो संग क्षति ब्योहोर्नु पर्यो। जसले पुर्वको पार्टीलाइ नै असर पर्न गयो।

अर्को यस्तो एउटा प्रवृत्ति छ-जो कामका लागि काम गर्दिने अनि जसरी पनि टिकि रहने। यो प्रवृत्ति अवसरको खोजीमा बढी हुन्छ र जसरी पनि नेतृत्वतहमा गोलचक्कर लगाउने अनि मौकामा चौका छोप्ने हुन्छ। यस प्रवृत्तिको अन्त्य गर्न जरुरी छ। किन भने क्रान्तिमा सबै भन्दा घातक अवसरवाद हो चाहे त्यो भित्री अवसर होस् वा बाहिरी यसको अन्त्य गर्न जरुरी छ। अर्को एउटा यस्तो प्रवृत्ति छ जो प्रचारप्रसारमा आवश्यक भन्दा बढी केन्द्रित देखिन्छ। त्यो प्रवृत्ति जनतामा पुग्ने भन्दा पनि सक्दो प्रचार गर्ने अनि आफै भित्र रमाउनमा मस्त देखिन्छ।

हामीले प्रत्यक्ष अनुभव गरेका छौ कि पार्टीको महाधिवेशनताका पार्टी सदस्यता कस्ता कस्ता ब्यक्तिलाई दिइयो। सायद लाग्छ त्यसले पार्टीको योजनालाइ ठुलै नोक्सानी पुर्यायो किन भने नेताहरुको क्रान्ती प्रती जिम्मेवारी भन्दा पनि माथिल्लो तहको पदका निम्ति गरिएको ढोंग मात्र थियो। जुन आज आएर ब्यवहारत सिद्ध हुँदै जादैछ।

आगामी योजना

पुर्वका बुद्धिजीवी , पत्रकार, प्रोफेसर , कर्मचारी , शिक्षक,उद्योगी , ब्यवसायी लगायतका सर्कलसङ्ग मिहिन ढंगले छलफल गर्न जरुरी छ। हाम्रा आगामी कार्यक्रम र त्यो सर्कलबाट खेल्नु पर्ने भुमिका लगायतका विषयमा स्पष्ट गर्न जरुरी छ। पार्टी र जबस मोर्चाहरुले गति पैदा गर्न संयुुक्त प्रशिक्षणात्मक कार्यक्रमको योजना बनाउन आवस्यक छ र त्यो भुगोलका आधारमा तय गर्दा प्रभावकारी ठहर छ। नेता र कार्यकर्ता सहर केन्द्रित नभई गाउँका जनता सम्म पुग्नु आवस्यक देखिन्छ। युवा र विद्यार्थीले योजनाबद्ध ढंगले नयाँ पुस्तालाई संगठन र पार्टीमा भर्ती गर्ने कुरालाई मुख्य ध्यान दिनु जरुरी छ।

जातीय मोर्चाहरुले काम गर्न नसकि रहेको अवस्थामा यस मोर्चाको परिचालन सम्बन्धि विशेष योजना तर्जुमा गर्नु आवस्यक छ। मजदुरहरुका सवालमा कारखाना केन्द्रित कार्यक्रम निर्माण गर्नु पर्ने आवस्यक देखिन्छ। साहित्यिक क्षेत्रले खुल्ला मोर्चामा निकै ठुलो भुमिका निर्वाह गर्न सक्ने हुँदा यसलाई प्रभावकारी ढंगले अघि बढाउन जरुरी छ। खेलकुद क्षेत्रमा विशेष गरि युवा विद्यार्थी परिचालित हुन जरुरी छ।

सामुहिकतामा कामहरुलाइ अघि बढाउदा पार्टी भित्र देखिने अन्तर बिरोधहरु हल हुदै जाने स्थिती पैदा हुने हुँदा सामुहिकतामा कार्य सम्पन्न गर्ने कुरालाइ विशेष जोड दिनु आवस्यक देखिन्छ। तराईका मधेसी समुदायलाई समेट्न सक्ने गरि मधेस छिरौ अभियान सञ्चालन गर्नु उपयुक्त हुन्छ।

निष्कर्ष

हाम्रो पार्टीले दलाल भ्रष्टहरुको भन्डाफोर गर्दै जुन खालको कारबाहीहरु सञ्चालन गरि रहेको छ यसले जनतामा आशा पैदा गरेको छ। भ्रष्ट नेताहरुको एक पछि अर्को जुन कुकृत्य बाहिर सार्वजनिक भइ रहेको छ यसले जनतामा आक्रोश पैदा भएको छ भने जनताहरु बिद्रोहका लागि मानसिक र शारीरिक रुपमा तयार हुँदै गइ रहेको स्थिति छ। यसले के देखिन्छ भने हाम्रो क्रान्ति चाडै उचाईमा पुग्नेछ र हामी बैज्ञानिक समाजवादमा पुग्दै साम्यवादको हाम्रो अन्तिम बिन्दुमा पुग्ने छौ।

पुष्प न्यौपाने विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: